म्याग्दीको बाबियाचौरमा १ करोडको लागतमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रु १ करोडको लागतमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ को आइतवार उद्घाटन गरिएको छ ।

मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको रु १ करोड लागतमा बहुउदेश्यीय पार्क निर्माण गरिएको हो ।
आइतवार एक समारोहका बिच उक्त पार्कको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका , उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले उद्घाटन गर्नुभयो । आर्थिक वर्ष २०७५÷०७६ मा शुरु गरिएको पार्कको निर्माण कार्य सकिएपछि औपचारिक रुपमा खुला गरिएको हो ।
पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरुको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरुको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनु भयो ।

पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामाग्रीको संरक्षणका लागि संग्राहलय समेत स्थापना गरिएको छ ।

पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । त्यसैगरि थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु १ लाख र मंगला युवा क्लबले रु २ लाख आर्थिक सहयोग गर्नुभएको थियो ।

आइतवार पार्क उद्घाटनको अवसरमा जग्गादाता र सहयोगदातालाई सम्मान समेत गरिएको छ । बाजागाजा सहित बावियाचौर बजार परिक्रमा पश्चात पार्कमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसंगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मंगला युवा क्लबका पदाधिकारीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । आफु जन्मेर हुर्केको ठाउँमा दिर्घकालिन उपयोगका लागि जग्गाको आबश्यकता परेपछि समग्र मंगलाको समृद्धिमा सघाउने उदेश्यले आर्थिक रुपमा महंगो पर्ने जग्गालाई आफुहरुले निःशुल्क दान गरेको जग्गादाता इन्द्रबहादुर अधिकारीले बताउनु भयो ।

पार्क निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्राहलय भवन बनाउन १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि रु ७ लाख बजेट उपलब्ध गराएका थिए ।

पार्कको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्राहलय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाइएको छ । पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अधिकारीको सम्मानमा पार्क परिसरमा अधिकारीको अर्धकदको सालिक बनाइएको छ भने संग्रहालयको नाम ‘मंगला खड्ग नन्द संग्रहालय’ नामाकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

म्याग्दी नदी किनारमा निर्माण भएको पार्क स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी निर्माण गरिएको छ । पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ ।

पार्क सञ्चालनमा आएसंगै मंगलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रोका, चन्दादाता अधिकारी, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सिर्जना केसी, गाउँपालिकाका प्रवक्ता एकजित रोका, मंगला माविका प्रधानध्यापक गमबहादुर खत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?