राजनीति सेवा भए पारिश्रमिक किन ? जागिरे भए योग्यता खोइ ?

Read Time = 19 mins

✍️ देवीभक्त ढकाल

यदि राजनीति समाज सेवा हो भने जनप्रतिनिधिहरूलाई उच्च पारिश्रमिक किन ? यदि पारिश्रमिक लिने हो भने न्यूनतम शैक्षिक योग्यता खोइ ? विना शैक्षिक योग्यता पारिश्रमिक के आधारमा दिने ? कुन नैतिकताले लिने ? विना शैक्षिक योग्यता राजनीतिमा पारिश्रमिक दिँदा आमनागरिकमा पढ्ने लगानी र दुःख किन गर्ने भन्ने सोचका कारण शिक्षाप्रति नै नकारात्मक धारणा बन्यो ।

त्यसैले हुनसक्छ अहिले सबै क्षेत्रका असफलहरूको आकर्षणको क्षेत्र राजनीति बन्यो । अध्ययन साथै अन्य क्षेत्रमा असफलहरू जम्मा गर्न समानुपातिक व्यवस्था मुख्य जिम्मेवार देखियो । यिनै असफलबाट विकास र परिवर्तन हुन्छ भन्ने विश्वास नै हाम्रो भुल हो । जनप्रतिनिधि छान्दा सबै क्षेत्रका असफल, बेरोजगार र छलछाम गर्नेलाई मतदान गरेपछि तिनीहरूबाट छलछाम र अनियमितबाहेक के हुन्छ ? त्यसैले अहिले राजनीति छलछाम भ्रष्टाचार र लुटको केन्द्र बन्यो । राजनीति सेवा हो कि जागिर भन्ने विषयमा बहस, छलफल, विश्लेषण, समीक्षाको आवश्यकता सामान्य नागरिकको मस्तिष्कमा उब्जेको छ । तसर्थ यसलाई सार्वजनिक बहसको विषय किन नबनाउने ?

अब राजनीतिलाई समाज सेवाभित्र राख्ने कि नराख्ने भन्ने विषयमा बहस, छलफलबाटै निक्र्यौलमा पुग्नुपर्छ । राजनीति समाजसेवा हो कि होइन भन्ने दुविधाबाट समाज मुक्त हुनै पर्छ । समाजसेवा निःशुल्क गरिन्छ । जागिरमा पारिश्रमिक आउँछ । राजनीति गर्नेहरूले जागिरे कर्मचारीसरह वा त्यसभन्दा पनि उच्च पारिश्रमिक र अन्य सुविधा राज्यबाट असुल्छन् भने तिनीहरू कसरी समाजसेवी भए ? त्यसैले अहिले जनप्रतिनिधिहरू समाजसेवी होइनन् जागिरे हुन्भन्दा के अत्युक्ति हुन्छ ? जागिरे भन्न शैक्षिक योग्यता निर्धारण नगरिकन के आधारमा पारिश्रमिक दिने ? त्यसबारे स्पष्ट धारणा खोज्ने हक प्रत्येक नागरिकको छ । त्यही नागरिक हकको सुरक्षाका लागि बहसले प्राथमिकता पाउनुपर्छ ।

बेतनभोगी जनप्रतिनिधिहरूमा सेवाभाव पूर्णतः लोप हुन्छ । राजनीतिमा जब सेवाभाव लोप हुन्छ त्यहाँ भ्रष्टाचार, आर्थिक अनुशासनहीनता स्वतः जन्मन्छन् । त्यसैले वर्तमान संविधान लागू भएपछि देशमा भ्रष्टाचार चुलिएको छ । भ्रष्टाचारको जिम्मा वर्तमान संविधानका निर्माताले लिनुपर्ने कि नपर्ने ?

एउटा कर्मचारी आर्थिक लगानी र मिहिनेतबाट शैक्षिक योग्यता प्राप्त गर्छ । जागिरका लागि फेरि लोकसेवा आयोगको बिरलै व्यक्तिहरूले खोल्नसक्ने फलामको ढोका बौद्धिक श्रमले खोल्छ । त्यस अतिरिक्त सेवा प्रवेशपूर्व र सेवाअवधिमा समेत विभिन्न प्रकारका तालिम र सिकाइमा निपूर्ण हुनै पर्छ । तबमात्र ऊ जागिरका लागि योग्य हुन्छ । अनिमात्र उसले आफूले उत्तीर्ण गरेको पदमा काम गर्न सक्षम भएबापत निर्धारित पारिश्रमिक पाउँछ । अहिले वर्तमान संविधानले जनप्रतिनिधि सबैलाई पारिश्रमिकको व्यवस्था गरेको हुनाले सबैले विना शैक्षिक योग्यता कर्मचारीले भन्दा उच्च पारिश्रमिक बुझ्छन् ।

जनप्रतिनिधिलाई वितरित पारिश्रमिकको व्यवस्थाले समाजसेवाको मर्म र धर्मलाई प्रहार गरेको छ । जनप्रतिनिधिलाई निर्धारण गरिएको पारिश्रमिकप्रति सर्वसाधारण र कर्मचारीसमेत असन्तुष्ट छन् । जनताबाट संकलित राज्यकोषलाई खर्च गर्ने शीर्षकहरूमा जनताको सहमति हुनुपर्ने कि नपर्ने ? नपढेका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्दैमा पारिश्रमिक पाउने शैक्षिक योग्यता हुने बेरोजगार हुनुपर्ने ? यो सामाजिक न्यायका दृष्टिकोणले अनुचित छ । अहिले नपढेका तलबी जनप्रतिनिधिहरू र पढेका कर्मचारीबीच एकप्रकारको भित्रभित्रै डाह र अन्तरद्वन्द्वमात्रै होइन शीतयुद्ध छ ।

बेतनभोगी जनप्रतिनिधिहरूमा सेवाभाव पूर्णतः लोप हुन्छ । राजनीतिमा जब सेवाभाव लोप हुन्छ त्यहाँ भ्रष्टाचार, आर्थिक अनुशासनहीन स्वतः जन्मन्छन् । वर्तमान संविधान लागू भएपछि देशमा भ्रष्टाचार चुलिएको छ । भ्रष्टाचारको जिम्मा वर्तमान संविधानका निर्माताहरूले लिनुपर्ने कि नपर्ने ? जनप्रतिनिधिलाई बेतनभोगी बनाउँदा अर्को निर्वाचन जित्न नसके यो पारिश्रमिक आउँदैन भन्ने चिन्ताका कारण काममा ध्यान हुँदैन । त्यतिमात्र होइन भोलिका दिनमा आय नहुँदा हुने अपठ्यारोलाई बुझेर अहिले पदमा हुँदा सकेसम्म भ्रष्टाचार गरेर धन जम्मा गर्छन् ताकि भोलि पदविहीन हुँदा खर्चको व्यवस्था हुन सकोस् ।

पारिश्रमिकको व्यवस्थाले जनप्रतिनिधिलाई भ्रष्ट बनाएको छ एकातिर भने अर्कोतिर कर्मचारीमा नपढेका जनप्रतिनिधिले प्राप्त गर्ने उच्च पारिश्रमिकले उनीहरूमा काम गर्ने उत्साह र जाँगर घटाएको छ । साथै कर्मचारीले जनप्रतिनिधि भ्रष्टाचारमा चुर्लुंम डुबेको प्रत्यक्ष देख्ने हँुदा जनप्रतिनिधिले गरेको भ्रष्टाचारको देखासिकी प्रभावले कर्मचारीमा समेत भ्रष्टाचार किन नगर्ने भन्ने मनोवृत्ति विकासित भएको छ । त्यसैले सरकार जहाँ जोडिएको छ त्यहाँ यत्रतत्र सर्वत्र भ्रष्टाचारको साम्राज्य छ । जनप्रतिनिधिलाई बेतनभोगी बनाउने हाम्रो वर्तमान संवैधानिक व्यवस्था जिम्मेवार छ । प्रतिष्ठा र पैसा एकैचोटि मिल्दैन ।

जनप्रतिनिधिले आफूलाई प्रतिष्ठित बनाउने हो भने पारिश्रमिक लिनु हुँदैन । भत्ता पनि नेपालीको प्रतिव्यक्ति आय जति छ त्यतिमात्रै लिनुपर्छ । प्रतिव्यक्ति आय वृद्धिसँगै उनीहरूको भत्ता बढाउने व्यवस्था हुँदा जनप्रतिनिधिले कसरी प्रतिव्यक्ति आय बढाउने भन्ने चिन्तन गर्दछन् । त्यसैले जनप्रतिनिधिलाई दिइँदै आएको पारिश्रमिकको विषयमा अब पुनर्विचार भएन भने देशमा नयाँ दुर्घटना निम्तिन्छ । तसर्थ यसलाई समयमै सुधार गरौं । सुधारका लागि नेतृत्वले इमानदारीका साथ आँट गर्नुपर्छ । दश पास नगरेका तर आफूलाई त्रिकालदर्शी ठान्ने प्रधानमन्त्री, मन्त्रीहरूले विषयगत उच्च ज्ञान र अनुभवी साथै विद्यावारिधि गर्ने विशिष्ट कर्मचारीलाई होच्याएर व्यवहार गर्दा कर्मचारीको कार्यतत्परता, कार्य दक्षतामा प्रतिकूल प्रभाव कति परेको होला ? त्यसको अध्ययन र अनुसन्धानबाट हाम्रा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धको वास्तविकता उदांगिन्छ । विषयवस्तुको ज्ञान शून्य र अनुभवहीनहरूको निर्देशन र मूल्यांकनका कारण कर्मचारी कति पीडित होलान् ? के यो कोणबाट कर्मचारीको पीडाको मूल्यांकन र विश्लेषण हामीले गरेका छौ ?

विकास र समृद्धिका गुठी हाक्ने जनप्रतिनिधिको अयोग्यता र अपरिपक्वको सिकार कर्मचारीका साथै देश, नेपाली जनता कसरी भएका छन् भन्ने विषयमा अब अध्ययन, अनुसन्धान, अन्तक्र्रियाको सुरुवात किन नगर्ने ? आफूलाई सिंहावलोकन र समीक्षा गर्ने योग्यता जनप्रतिनिधि राख्दैनन् भने कर्मचारी यस्ता विषयमा छलफल, अन्तक्र्रिया व्याख्या, विश्लेषण गर्ने आँट गर्दैनन् । त्यसैले यो विषय यदि छलफलमा ल्याउने हो भने यसबारे बहस प्रारम्भ गर्ने प्रारम्भिक जिम्मेवारी नागरिक समाज र अनुसन्धाताको हो । यस्ता महत्पूर्ण विषयमा छलफल, अन्तक्र्रिया र विचारविमर्श प्रारम्भ नगरिकन हाम्रो अवस्थामा समयोचित सुधार र परिवर्तन सम्भव छैन ।

परिवर्तन खाली भाषणबाट र निर्णयबाट आउँदैन । परिवर्तन कामबाट ल्याउनुपर्छ । राजनीति र विकासका सन्दर्भमा पारिश्रमिकको विषय शीत युद्धका रूपमा रहेकाले राजनीति सेवाको विषय हो कि यसमा कार्यरत बेतनधारी बन्न सक्छन् ? समाजमा भित्रभित्रै उठेका जनताका प्रश्नहरूको छिनोफानो गर्न छलफल, बहस, अन्तक्र्रिया नगरिकन समस्या सुल्झदैन । समस्या नसुल्झदासम्म समाज र राजनीति सँगसँगै अघि बढ्न सक्दैैन ।

जनप्रतिनिधिलाई दिने पारिश्रमिकको आधार के ? जनप्रतिनिधि हुन शैक्षिक योग्यता निर्धारण नगरिकन कसरी, कुन आधारमा बेतन दिने ? एक निरक्षर सांसद र विद्यावारिधि गरेको सांसदलाई समान बेतन किन ? के निरक्षर, विद्यावारिधि गर्ने सांसदको कार्य तत्परता, कार्यक्षमता, कार्यदक्षता बराबर हुन्छ ? यदि हुँदैन भने समान पारिश्रमिक किन ? जति बेतन र सुविधा जनप्रतिनिधिले राज्यकोषबाट लिएका छन् त्यो अनुपातमा राज्यलाई उनीहरूले आफ्नो कामबाट त्यसलाई चुक्ता गरेका छन् कि छैनन् ? अब यसबारे पनि लेखाजोखा, अनुसन्धान, अध्ययन, मूल्यांकन हुन जरुरी छ । मानिस प्रलोभनमा फस्यो भने त्यसको सीमा हुँदैन । उनीहरू उच्च बेतन, विविध सुविधाबाट चित्त नबुझेर जनप्रतिनिधिले व्यापारी उद्योगपति, भूमाफिया, तस्करसँग दलाली गरेर भ्रष्टाचार गर्ने हुँदा अहिले जनप्रतिनिधिको प्रतिष्ठा स्खलित छ । वेतन निर्धारणमा प्रमुख अनियमितता के हो भने जनप्रतिनिधि आफैंले आफ्नो पारिश्रमिक, सेवा र विविध सुविधा आफैँ निर्धारण गर्छन् । आफैंले आफ्नो पारिश्रमिक, सेवासुविधा निर्धारण गर्दा स्वतः अनियमितता हुन्छ । आफैंले आफ्नो पारिश्रमिक, सेवासुविधा तोक्ने व्यवस्थाले देशको ढुकुटी लुटिएको अनुभव नेपाली जनताले गर्ने परिस्थिति राजनीतिक व्यवस्था र देशको दुर्भाग्य हो ।

राजनीति यस्तो सेवा हो जो शासन, प्रशासन एवं समाजका लागि अत्यावश्यक छ । तर, त्यसमा इमानदारी, पारदर्शी र जवाफदेही आवश्यक हुन्छ । तसर्थ जनप्रतिनिधिलाई बेतन होइन भत्ताको व्यवस्थालाई भने अन्यथा मान्नु हुँदैन । यस्तो भत्ता नेपालीहरूको जीवनस्तरको अनुपातमा दिनुपर्छ न कि विलासी जीवन व्यतीत गर्न । यस्तो भत्ताको सुविधा निर्धारण उनीहरू स्वयंबाट हुनुहुँदैन । आफ्नो सुविधा आफैं निर्धारण गर्दा मानिसभित्रको सुषुप्त स्वार्थ जाग्रत हुन्छ, त्यसले निसन्देह ढुकुटीको लुट र दुरुपयोग हुने प्रचुर सम्भावना हुन्छ । नेपालका सन्दर्भमा पनि सांसदहरू आफैंले आफ्नो सुविधा निर्धारण गर्दा शक्तिको दुरुपयोग भएको छ । कसैलाई सुविधा वा भत्ता तोक्दा सम्बन्धित विज्ञको स्वतन्त्र र निष्पक्ष आयोगमार्फत तोक्नुपर्छ ।

उच्च बेतन, भ्रष्टाचार, अनियमिता र दलाली जस्ता विषयले उनीहरू आलोचनाका पात्र बनेका कारण पारिश्रमिकको वर्तमान व्यवस्थालाई हटाउनुपर्छ । जनप्रतिनिधिहरूले आफ्नो पारिवारिक आर्थिक संकट टार्ने साधन व्यक्तिगत उद्योग, व्यापार हुनुपर्छ न कि राजनीति ?

राजनीति त्यसले गर्नुपर्छ जसले जनतालाई ईश्वर सम्झन्छ र जनताको सेवालाई धर्म सम्झन्छ तर यहाँ ईश्वर नमान्ने नास्तिक र धर्मविरोधी राजनीतिको नेतृत्वमा रहँदा राज्यको ढुकुटीमा स्वविवेक प्रयोग गर्ने चरित्र र हैसियत नै उनीहरूमा छैन । राजनीतिमा धर्म नमान्ने नास्तिक भ्रष्टाचार र अनियमितताका बिउ हुन् । राजनीति आदर्श र स्वैच्छिक विषय हो । आफ्नो र परिवारको भरणपोषणका लागि राजनीतिमा संलग्न हुन्छ भने त्यहाँ घोटाला, भ्रष्टाचार, अनियमितता जस्ता विषय स्वाभाविक हुन्छन् । नेपालमा प्रायःजसो सबै नेताहरूमा यस्तो विकृति क्रियाशील हुँदा जनप्रतिनिधि समाजमा आलोचितमात्रै होइन घृणाका पात्र बनेका छन् ।

उच्च बेतन, भ्रष्टाचार, अनियमिता र दलाली जस्ता विषयले उनीहरू आलोचनाका पात्र बनेका कारण पारिश्रमिकको वर्तमान व्यवस्थालाई हटाउनुपर्छ । जनप्रतिनिधिले आफ्नो पारिवारिक आर्थिक संकट टार्ने साधन व्यक्तिगत उद्योग, व्यापार हुनुपर्छ न कि राजनीति ? बेतनधारी बन्न न्यूनतम् योग्यता आवश्यक हुन्छ । नेपालमा शैक्षिक रूपमा सर्वाधिक योग्य जागिर, उद्योग तथा व्यापार व्यवसायमा लाग्छन् भने पढ्न कमजोर अनपढ अयोग्य र अक्षमहरूको डम्पिङसाइट राजनीति भएकाले राजनीतिले परिवर्तन र विकासको क्षेत्रमा सिन्को भाँच्न सकेन । तसर्थ अहिले व्याप्त भ्रष्टाचार, अनियमितता जस्ता तमाम विकृतिको कारण नै जनप्रतिनिधिको अयोग्यता र अक्षमताको प्रतिफल हो ।

सांसदले जनताको प्रतिनिधित्व गर्नुको अर्थ हो जनताको बेरोजगारी, बिमारी, भोकमरी, अभाव र गरिबीसमेतको प्रतिनिधित्व गर्नुपर्छ । राजनीति अहिले जस्तो समाजसेवाको नाममा राष्ट्रलाई लुट्ने लाइसेन्स बन्न र बनाउन किमार्थ हुँदैन । जनप्रतिनिधिको आलोचनाको विषय नै राज्यकोषको दुरुपयोग, अनियमितता, भ्रष्टाचार, कमिसन भएकाले यस्ता विकृतिलाई जनप्रतिनिधिले परित्याग नगरिकन उनीहरू समाजमा सम्मानित हुँदैनन् । देशको विकास, समृद्धि भ्रष्ट र नास्तिक जनप्रतिनिधिको नेतृत्वमा सम्भव छैन ।

Subscribe
Notify of
guest
5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-02-21 4:42 pm

धन्यवाद हिमालय टाइम्स परिवारलाई

गोविन्द विनोदी
गोविन्द विनोदी
2023-02-21 7:50 pm

सान्दर्भिक लेख । लेखको विषयवस्तु बारे अब व्यापक छलफल गर्नु जरुरी छ ।

Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-03-30 4:09 am

कर्मचारी वन्न चाहिने शैक्षिक योग्यता, योग्यता प्राप्तिमा लाग्ने आर्थिक लगानी, योग्यता प्राप्ति पछि पासगर्नु पर्ने सेवा आयोगका परीक्षा लगायत सीमित सीटमा गर्नु पर्ने प्रतिस्पर्धाले कर्मचारीको पद निर्धारण गर्दछ !! तर राजनीतिक पद प्राप्तिका निमित्त ती कुनै सर्त पालन गर्नु पर्दैन ! त्यसैले राजनीतिक सेवामा तलव वा पारिश्रमिक निर्धारण गर्न कदापि उपयुक्त हुदैन !!

Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-03-30 4:13 am

प्रा डा यादव शर्मा गौंडेलको धारणा

कर्मचारी वन्न चाहिने शैक्षिक योग्यता, योग्यता प्राप्तिमा लाग्ने आर्थिक लगानी, योग्यता प्राप्ति पछि पासगर्नु पर्ने सेवा आयोगका परीक्षा लगायत सीमित सीटमा गर्नु पर्ने प्रतिस्पर्धाले कर्मचारीको पद निर्धारण गर्दछ !! तर राजनीतिक पद प्राप्तिका निमित्त ती कुनै सर्त पालन गर्नु पर्दैन ! त्यसैले राजनीतिक सेवामा तलव वा पारिश्रमिक निर्धारण गर्न कदापि उपयुक्त हुदैन !!

Last edited 1 year ago by Devi Bhakta Dhakal

रिलेटेड न्युज

छुटाउनुभयो कि ?