सुरक्षाकर्मी र कर्मचारीकै मिलेमतोमा तस्करी

हिमालय टाइम्स
Read Time = 7 mins

सिरहा । सिरहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्य पूरा गर्न असमर्थ रहेको छ । कार्यालयले लक्ष्यको १८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको मिलेमतोमा तस्करले ल्याएको सामानमध्ये केही सामानको मात्र राजस्व तिर्ने र बाँकीको राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशतमात्र राजस्व उठेको हो ।

जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वालगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरीतस्करी बढेपछि भन्सार कार्यालय माडरको राजस्व असुलीको अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएको छ । सिरहा भन्सार कार्यालय माडर खैरटोका, सिरहाले चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजस्व रकम असुली गरेको देखिन्छ ।

त्यस्तै, भदौ महिनामा एक करोड ६६ लाख पाँच हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख शून्य हजार, असोज महिनामा एक करोड ६७ लाख आठ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख आठ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड दुई लाख ११ हजार मात्र राजस्व असुली भएको र माघ महिनामा एक करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकममात्र असुली गरेका छन् ।

भन्सार कार्यालय माडर खैरटोकाले सात महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात् तीन करोड पाँच लाख ८८ हजार रुपैयाँ राजस्वमात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको सात महिनाको तथ्यांकले नै सिरहामा तस्करी भइरहेको पुष्टि गर्छ । तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुखलगायतका कर्मचारीहरूलाई एकमुष्टरूपमा मोटो रकम तिरेर नाकाहरूको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक्करूपमा प्रहरी प्रशासनकै आँखाअगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन् ।

सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसँग नजराना लिई तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने शर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिकरूपमा आफूहरूले लाखौं रुपैयाँ बुझाएर मात्र मालसामान ओसारपसार गर्ने गरेको बताएका छन् । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखाअगाडिबाटै तस्करले भन्सार राजस्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरू बताउँछन् ।

जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वालगायतका नाका तथा चोरबाटोहरू प्रयोग गरी तस्करहरूले रातीको समयमा चिनी, कपडा, मोटरपार्ट्स, किरानाको सामान, ग्याँस चुल्हो, पान मसला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुट्खा) भन्सार राजस्व छली गरी वारि (नेपाल) भिर्‍याउने र वारि (नेपाल)बाट व्यापकरूपमा मदिरा, चाइनिज स्याउ, सुपारीलगायतका सामग्रीहरू पारि (भारतीय बजार) पुर्‍याउने गरेको नाम नखोल्ने शर्तमा एकजना स्थानीयले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत् सिरहा सदरमुकामलगायतका बजारहरू मिर्चैया, गोलबजार, लहानलगायतको बजारसम्म ल्याइन्छ ।’ सुरक्षाकर्मीले नै तस्करहरूलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरूले अन्धाधुन्ध सामान ढुवानी गर्न सुरु गर्छन्,’ उहाँले भन्नुभयो ।

जिल्लामा चोरीतस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले आफू आएलगतै सम्पूर्ण सीमानाकामा कडाइका साथ खटिन र तस्करी नियन्त्रण गर्न निर्देशन गरिसकेको दाबी गर्नुभयो । ‘म आएको पनि २० दिनमात्र भएको छ, आएलगतै चोरीतस्करी नियन्त्रणमा खटिरहेका छौँ,’ उहाँले थप्नुभयो, ‘चोरीतस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए कडा कारबाही गर्छाैँ ।’ चोरी निकासी र राजस्व छलीका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकुनन्द लिम्बूसँग सम्पर्क गर्दा उहाँले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन । यता, भारतीय बजारबाट भन्सार छली गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयवासी जानकार रहे पनि प्रहरी बेखवबझँै बसेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?