करोडौँका खेलमैदान अलपत्र

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 7 mins

बैतडी । बैतडीका स्थानीय तहहरूमा करोडौँका खेलमैदानहरू अलपत्र परेका छन् । स्थानीय तह, प्रदेश तथा संघीय सरकारको लगानीमा निर्माण भइरहेका खेलमैदानहरू अलपत्र परेका हुन् । जिल्लाका कुनै पनि पालिकामा सुविधासम्पन्न खेलमैदान छैनन् । खेलमैदान निर्माणका लागि तीनै तहका सरकारबाट आर्थिक वर्ष २०७४/०७५ देखि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेको छ । समयमा खेलमैदान निर्माणको काम सम्पन्न नहुँदा जिल्लाको पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका केही खेलहरू सडक तथा चौरहरूमा खेलाएको छ ।

पालिकाको आफ्नै खेलमैदान नहुँदा छोटो तथा लामो दूरीका दौडहरू कच्ची सडकमा सञ्चालन गरेको पञ्चेश्वर गाउँपालिकाका खेल प्रशिक्षक हरि भण्डारीले जानकारी दिनुभयो । ‘निर्माणाधीन खेलमैदानमा सय मिटरको दौडसमेत गराउन सकिएन, छोटो तथा लामो दूरीका दौडहरू कच्ची सडकमै गरायौँ, अन्य एथलेटिक्सका खेलहरू मैदानमै खेलायौँ,’ खेल प्रशिक्षक भण्डारीले भन्नुभयो ।

पञ्चेश्वर गाउँपालिकामा मात्रै चारवटा खेलमैदान अलपत्र छन् । वडा नम्बर ३ मा एक, वडा नम्बर ४ मा दुई तथा ५ मा एक गरी चारवटा खेलमैदान पालिका र संघीय सरकारको करोडाँै रकम खर्च भए पनि निर्माण सम्पन्न भएका छैनन् । संघीय सरकारबाट प्राप्त बजेटमा वडा नम्बर ३ मा निर्माण भइरहेको खेलमैदानको काम ५० प्रतिशतमात्रै भएको छ । ‘संघीय सरकारबाट ८० लाख बजेट प्राप्त भएको थियो, ५० प्रतिशत काम भएको छ,’ वडाध्यक्ष मिनबहादुर चन्दले भन्नुभयो, ‘थप बजेट नआउँदा खेलमैदानको निर्माण सम्पन्न भएको छैन ।’

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरू कहीँ सडक कहीँ चौरमा

वडा नम्बर ४ को जवलपुर माविमा करिब सात लाख र कैलपाल मन्दिर नजिकै बन्न लागेको खेलमैदानमा पनि करिब १० लाख बढी बजेट विनियोजन गरी काम भएको भए पनि अधुरै रहेको वडाध्यक्ष जनकबहादुर चन्द बताउनुहुन्छ । पञ्चेश्वर-५ को धिर्मडा देउथला खेलमैदानमा १० लाख खर्च भइसकेको छ । आठ लाख बजेट यस वर्ष पनि विनियोजन गरेको छ । यसरी प्रत्येक खेलमैदान निर्माणका लागि बजेट विनियोजन हुने गरेको भए पनि समयमा सम्पन्न नहुँदा प्रतियोगिताहरू सञ्चालन गर्न समस्या हुने गरेको छ ।

दोगडाकेदार गाउँपालिकामा बन्न लागेका पाँचवटा खेलमैदानले पनि पूर्णता पाएका छैनन् । संघीय सरकार र गाउँपालिकाको बजेट गरी ५० लाख रुपैयाँ लगानी गरे पनि खेलमैदान तयार भएका छैनन् । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्माणाधीन चनैराज खेलमैदान सम्पन्न गरेको पालिकाले जनाएको छ । पछिल्ला आर्थिक वर्षमा खेलमैदानमा बजेट विनियोजन नगरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो । वडा नं. ७ मा दुई, वडा नं. ५, ६ र ८ मा एक-एक खेलमैदान गरी पाँचवटा खेलमैदान निर्माणाधीन अवस्थामा छन् ।

पुर्चाैडी नगरपालिकाले वडा नं. १ स्थित कमल विशाल पार्कमा निर्माणाधीन खेलमैदानमा २० लाखभन्दा बढी बजेट खर्च गरिसकेको छ । तर, काम सम्पन्न भएको छैन । नगरपालिकाले यस वर्ष थप दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै नगरप्रमुख दीपकबहादुर बमले अर्काे वर्ष स्तरीय खेलमैदान सम्पन्न भइसक्ने जानकारी दिनुभयो ।

मेलौली नगरपालिकाले नगरस्तरीय खेलमैदान निर्माणका लागि हालसम्म एक करोड आठ लाख रकम खर्च गरे पनि १० प्रतिशत काम सम्पन्न भएको छैन । जिल्लाको सुनर्या २ मा प्रदेश सरकारबाट प्राप्त बजेटबाट बन्न लागेका दुईवटा खेलमैदानहरू अलपत्र अवस्थामा छन् । सिगास गाउँपालिकामा पनि दुईवटा खेलमैदान अलपत्र परेका छन् । प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा बन्ने भनिएका दुईवटा खेलमैदान अलपत्र अवस्थामा छन् ।

बैतडीका कुनै पनि स्थानीय तहहरूमा स्तरीय खेलमैदान छैनन् । खेलमैदान अभावकै कारण मापदण्डअनुसार खेलकुदका प्रतियोगिताहरू सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद समितिको कार्यालय बैतडीका प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । स्थानीय तहहरूले खेलमैदान निर्माणको सुरुवात गरेको भए पनि लामो समयसम्म पूर्णता दिन नसकेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो । ‘स्थानीय तहलाई बेला-बेला आग्रह गर्दै आएका छौँ, खेलमैदानले अझै पूर्णता पाउन सकेको छैन,’ उहाँले भन्नुभयो ‘पूर्वाधारबिना खेलकुदको विकास सम्भव छैन ।’

जिल्ला खेलकुद समितिका अनुसार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाटन नगरपालिका ६ को कृष्ण माविको खैलमैदानमा हुनेछ । फागुन १२ गते शुक्रबारदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?