कृषि व्यवसायमा सापकोटाको सफलता

हिमालय टाइम्स
Read Time = 5 mins

काभ्रे । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यता बोक्नुभएका उद्यमशील युवा महेश्वर सापकोटाले मण्डन देउपुर नगरपालिका, काभ्रेस्थित सापकोटा कृषि तथा पशुपक्षी फर्म खोलेर तरकारी खेती र पशुपालन गर्दै आइरहनुभएको छ । झण्डै एक दशकदेखि तरकारी खेती र पशुपालन गर्दै आइरहनुभएका सापकोटा आफ्नो पेशालाई फराकिलो बनाउँदै अहिले चालिस रोपनी जग्गामा विभिन्न थरीका तरकारीजन्य उत्पादन तथा बिक्रीवितरणबाट मनग्य आम्दानी लिन सफल हुनुुहुन्छ । उहाँले फर्ममा गाई पनि पाल्नुभएको छ ।

कृषि व्यवसाय प्रवद्र्धन र बजार व्यवस्थाअन्तर्गत कृषि व्यवसाय र कृषिमा आधारित उद्योगहरूको विकास, व्यवस्थित बजारको विकासबाट उपभोक्ताहरूमाझ कृषि उपजको पहुँच पुर्‍याउने, सहकारी र व्यक्तिगत क्षेत्रको माध्यमबाट कृषिको आन्तरिक र बाहृय (निर्यात) बजारको प्रवद्र्धन गर्ने जस्ता कार्यहरूमा बेलाबखत देखिने समस्यालाई राज्यले विशेष ध्यान दिएको खण्डमा हामी तरकारीजन्य कुरामा परनिर्भर बन्नुनपर्ने उहाँको धारणा छ । कृषि व्यवसाय प्रवद्र्धनका लागि आन्तरिक तथा बाहृय बजारका सहयोगी, उद्योग र वस्तु विकास, अर्गानिक प्रमाणीकरण, निर्यात प्रमाणीकरण जस्तातत्वहरूले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हाटबजार, संकलन केन्द्र, थोक बजार, सहकारी बजारको पनि व्यवस्था र विकास हुनुपर्नेमा कुरामा उहाँ जोड दिनुहुन्छ ।

नेपालमा निजी क्षेत्रले पनि कृषि क्षेत्रमा ठूलो रकम लगानी गरेर यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भए पनि समयमा उन्नत जातको बीउ र खेती लगाउने मौसममा पर्याप्तमात्रामा मलको व्यवस्था नहुँदा कृषकहरू मर्कामा पर्ने गरेको र बजार विकासका लागि नेपालको परिप्रेक्ष्यमा सौहाद्र्रपूर्ण लगानी र बजार नीतिको व्यवस्था, बजार सर्भे, राष्ट्रिय कृषि नीति, कृषि शिक्षाको विकास, व्यवस्थित र नियमित बजारको व्यवस्था, बजार सूचनाको प्रवाह, सुपरीवेक्षण र अनुगमनको उचित व्यवस्था हुन सके कृषकले थप अर्थ आर्जन गर्न सक्ने उहाँको तर्क छ ।

नेपालमा भएको कृषि उत्पादनलाई देशका विभिन्न क्षेत्रमा पु¥याउनका लागि बजारीकरण त्यति विस्तार भइसकेको छैन । जसले गर्दा वास्तविक कृषकहरूले आफ्नो मिहिनेत र पसिनाको उचित मूल्य प्राप्त गर्न सकेका छैनन् । देशका कुनाकाप्चासम्म यातायातको सुविधाको अभाव, भारतसँगको खुला सिमाना, समर्थन मूल्य घोषणा गर्ने प्रचलनको अन्त्य, औपचारिक तथा अनौपचारिकरूपमा भारतसँगको बढ्दो कृषि व्यापार जस्ता कारण कृषि बजारको विकासमा अवरोध सिर्जना भएकाले हाम्रो उत्पादनले सही मूल्य पाउन सकिरहेको छैन । त्यसैले कृषिकर्ममा सक्रिय आफूजस्ता कृषकहरू मर्कामा पर्ने गरेको उहाँको गुनासो छ ।

विभिन्न घरायसी समस्याले विदेशी भूमिमा पसिना बगाइरहेका युवा जमातलाई कृषि व्यवसायप्रति आकर्षित गराउन राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुहुने सापकोटाले कृषिकर्ममा दिएको योगदानको कदरस्वरूप मण्डन देउपुर नगरपालिकाले नमुना कृषकका रूपमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उहाँलाई ‘सम्मान पत्र’बाट सम्मानितसमेत गरेको छ भने जिल्ला कृषि अनुसन्धान कार्यालयबाट ‘सम्मान-पत्र’ र कृषि ज्ञान केन्द्र, काभ्रेले ‘सम्मान–पत्र’ प्रदान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?