नेपालको लगातार सानदार जित, कुवेत २४३ रनले पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको शतक मद्दतमा नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतलाई २४३ रनले पराजित गरेको छ । नेपालले दिएको ३४४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अल आउट भयो । कुवेतका ओपनर जुडे क्रिस्टोफर साल्दानाले सर्वाधिक २६ रन बनाएपनि अन्यको प्रदर्शन सम्झन लायक रहेन ।

नेपालका आकाश चन्दले ९.५ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिनुभयो । हेमन्त धामी र दीपेश कँडेलले समान दुई-दुई विकेट लिनुभयो ।
त्यसअघि मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३४३ रन बनाएको थियो । कप्तान देव खनालले ११७ बलमा नौ चौका र तीन छक्कासहित १२५ रनको इनिङ्स खेल्नुभयो । उहाँले करिअरको पहिलो शतक हिर्काउनुभएको हो ।

यस्तै, अर्जुन कुमाल ११२ बलमा १२ चौकासहित १०८ रन जोड्नुभयो । तेस्रो विकेटका लागि उहाँहरूबीच १७० रनको साझेदारी भएको थियो ।
नेपालले ओपनर दीपक बोहरालाई १३ रनमा गुमाएको थियो । त्यसपछि आकाश त्रिपाठी दुई रनमा रन आउट भएपछि नेपालको इनिङ देव र अर्जुनले सम्हाल्नुभएको थियो । विशालविक्रम केसी १४ बलमा चार चौकासहित २३, दीपक डुम्रे १६ बलमा एक चौकासहित २०, दीपेश कँडेल र सुवास भण्डारीले दुई-दुई रन बनाउनुभयो ।

कुवेतका हेनरी थोमसले १० ओभरमा ६६ रन खर्चेर दुई तथा अर्श साहिल काज्मीले नौ ओभरमा ४२ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै हैबेर अली र जय महेशकुमार मेहताले एक-एक विकेट लिनुभयो ।

लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले फागुन १६ (फेब्ब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (९मार्च २०) मा खेल्नेछ । यू-१९ को खेलहरू इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।

जारी प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?