राष्ट्रपति विजयी हुनेमा पौडेल ढुक्क, ‘मत ट्रान्सफर’को आशामा एमाले

Read Time = 5 mins

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेका तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसद मतदाताका रूपमा रहन्छन् । प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका एक सांसद बराबर ७९ मत कायम गरिएको छ भने प्रदेशसभा सांसदको मत भार ४८ रहेको छ ।

एमाले नेतृत्वको गठबन्धन टुटेर अहिले कांग्रेससहितको नयाँ समूह निर्माण भएको छ । माओवादी सहितका आठ दलको समर्थन कांग्रेसका उम्मेदवारलाई भएकाले निर्वाचित हुन पौडेलको पक्षमा गणित अनुकूल छ । अहिलेको परिस्थिति कायमै रहेको खण्डमा पौडेलले ६१ प्रतिशतभन्दा बढी मतका साथ राष्ट्रपतिमा बाजी मार्नुहुनेछ ।

आठ दलीय गठबन्धनसँग कांग्रेस १६ हजार १४२, माओवादी केन्द्र सात हजार ७२८, एकीकृत समाजवादी दुई हजार ७०१, जसपा दुई हजार २४१, जनमत एक हजार २४२, लोसपा ९७१,उन्मुक्ति ८९२ र जनमोर्चा २०६ मत छ । त्यस्तै एमालेको पक्षमा राप्रपा, रास्वपाको सबै मत जोड्दा १९ हजार ३४२ मत हुन्छ । कुल मतदाता ५२ हजार ६२८ रहेका छन् ।

जसमध्ये बहुमतका लागि २६ हजार ३१५ मत आवश्यक हुन्छ । आठ दलीय गठबन्धनको कुल मत जोड्दा कांग्रेसको पक्षमा सुविधाजनक बहुमत अर्थात् ३१ हजार ७४२ मतभार हुन आउँछ ।

अर्कोतिर अल्पमतमा पर्दापर्दै पनि राष्ट्रपतिको पदका लागि एमालेले पनि आफ्नो उम्मेदवार उठाउनुका पछाडि रणनीतिक उद्देश्य निहित देखिन्छ । एमालले स्वच्छ र शालीन नेताको छवि बनाउनुभएका नेम्बाङलाई उम्मेदवार बनाएर सर्वसम्मत राष्ट्रपति हुनबाट रोकेको हो । अंकगणितको प्रतिकूलताका बाबजुत एमाले नेताहरूले आफूहरूको उम्मेदवारी औपचारिकताका लागि नभई जिताउनकै लागि भएको दाबी गरिरहेका छन् । उनीहरूका अनुसार १० पुसको समझदारीबाट माओवादी पछि हट्न मिल्दैन, २५ गतेसम्म अहिलेको परिस्थितिमा बदलाव आउन पनि सक्छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई मत दिने बताउनुहुन्छ । १० पुसमा सरकार निर्माण गर्दा एमालेसँग भएको सहमतिअनुसार राष्ट्रपतिमा नेम्वाङलाई मत दिने उहाँको भनाइ छ ।

उहाँले माओवादीका लागि वामपन्थी एक हुने अवसर भएकाले राष्ट्रपतिमा सहयोग गर्ने आशा व्यक्त गर्नुभयो । नेता भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ठूलो अवसर गुमाएको उहाँको टिप्पणी छ ।

राष्ट्रपतिको निर्वाचनमा गोप्य मतदान हुने भएकाले अहिलेको आठदलीय गठबन्धनबाट समेत नेम्वाङलाई ‘मत ट्रान्सफर” हुने अपेक्षा पनि एमालेले गरेको छ । तर, त्यसरी जित्नको लागि गठबन्धनबाट सानोतिनो मत होइन ठूलै हिस्सा ‘ट्रान्सफर” हुनुपर्छ, जुन निकै कठिन देखिन्छ ।

राष्ट्रपति निर्वाचित हुनका लागि कम्तीमा २६ हजार ३१५ मतभार कटाउनुपर्छ ।  एमालेको १५ हजार ३१२ मतभार छ । राप्रपाको दुई हजार ४५० र रास्वपाको एक हजार ५०१ मतभार छ । दुवै दलले सघाए पनि एमालेका लागि सात हजार ५२ मतभार कम हुन्छ । यसबाहेक नेमकिपा, हाम्रो नेपाली पार्टी समाजवादी पार्टी र नेपाल संघीय समाजवादी र केही स्वतन्त्र सांसदको मत एक हजार १६३ छ । यदि त्यो मत पनि एमालेको पक्षमा गयो भने एमालेलाई पाँच हजार ८१० मत अरू जुटाउनुपर्ने हुन्छ । एमालेसँग नजिक रहेका ठानिएका राप्रपा र रास्वपाले राष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई सघाउने भन्ने विषयमा मुख खोलेका छैनन् । रास्वपा र राप्रपाको सहयोग नपाएको खण्डमा नेम्वाङलाई जितका लागि ११ हजार तीन मतभार पुग्दैन

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?