सकसमा तानसेनको चीर ठड्याउने संस्कृति, आठ वर्षपछि ठड्याइयो चीर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पाको तानसेनमा आठ वर्षपछि बल्ल चीर ठ्याइएको छ । फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन चीर ठड्याउने परम्परा रहे पनि तानसेनमा लामो समयपछि मात्र सोमबार चीर ठड्याइएको हो ।

आर्थिक अभाव र नयाँ पुुस्ताले संस्कृतिप्रति वेवास्ता गर्दा चीर ठड्याउने संस्कृति सकसमा परेको छ । यहाँका टक्सार टोलमा २०७१ सालमा अन्तिम पटक चीर गाडिएको थियो । त्यसयता आर्थिक अभाव र पुराना पुस्ताहरु अशसक्त हुँदै गएपछि युवाहरुले चासो नदिदा चीर गाड्न छोडिएको थियो । तानसेन भजन संरक्षण समिति र देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानको सक्रियतामा अहिले चीर ठड्याइएको हो । तानसेनमा नेवारहरुको बस्ति बसेदेखि नै होलीको अवसरमा चीर गाड्ने सांस्कृतिक परम्परा रही आएको हो ।

पहिले–पहिले तानसेनको शितलपाटी, भिमसेनटोल, बसन्तपुर, टक्सारटोल लगायतका स्थानहरुमा चीर ठड्याइने गरे पनि आर्थिक अभाव र पुराना पुस्ताहरुको मृत्युु पछि विस्तारै हराउँदै गएको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताउनुुभयो । उहाँका अनुसार चीर गाड्ने काम पहिला अन्य टोलहरुमा भएता पनि पछि यो केवल टक्सारटोलमा मात्र सिमित भएको हो । ‘अग्रज पुस्ता थाके नयाँ पुस्ताले जाँगर नचलाउँदा यो संस्कृति सकसमा प¥यो’ अध्यक्ष देउरालीले भन्नुुभयो । काठमाडौं उपत्यकापछि नेवारी संस्कृतिको धनी भनिएको तानसेन विस्तारै संस्कृतिमा गरिब हुँदै गएको प्रति उहाँले गुनासो गर्नुभयो । जनतन चीर गाडेर यस वर्षको होलीको सुुरुवात गरिएको देउरालीले बताउनुुभयो ।

टक्सारको गणेश मन्दिरको मूलद्धार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर गाडिएको छ । चीर गाड्नको लागि म्यालको रुखको हाँगा चाहिन्छ । सो म्यालको हाँगा काट्न जाँदा भजन मण्डली भजन गाउँदै जाने र आउँदा पनि भजन गाउँने प्रचलन रहेको देउरालीको भनाई छ । चीर ठड्याएपछि पाल्पा सहित देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइएसँगै चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु गरिएको थियो ।

चीर उठाउनका लागि तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्य, देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष मदन देउराली, नेपाली काँग्रेस तानसेन नगरका सभापति सुवर्णमुनी शाक्य, नेपाली काँग्रेस तानसेन ३ का वडा सभापति पुष्करराज रेग्मी, शैक्षिक तथा सामाजिक व्यक्तित्व मिनबहादुर केसी, साहित्यकार चित्रवलीराम सुवाल, तानसेन वाचनालयका संरक्षक प्रकाश गोंगल, स्थानीय सकुन्तला बज्राचार्य, सरोज प्रसाद श्रेष्ठ लगायत व्यक्तित्वहरु त्यहाँ पुग्नुुभएको थियो । उक्त लिंयो काट्नु भन्दा अगाडि नाइकेले रुखलाई पूजा गरी धूप बत्ति बालिसकेपछि मात्र काट्ने गरिन्छ । हाँगामा रंगी विरंगी कपडाका टुक्राहरु झुण्ड्याई भजन गाइन्छ । रुखमा रंगीचंगी कपडा झुन्डयाउनु भनेको कृष्णजीले गोपिनीहरुको वस्त्र रुखमा लुकाएको भन्ने प्रचलन रहेको जानकार चित्रवलीराम सुुवालले बताउनुुभयो । चीर ठड्याएसँगै होली पर्व सुरु भएको उहाँको भनाई छ । चीर गाडेपछि बसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखी पुर्णिमासम्म विभिन्न रंग र अविर एकआपसमा छ्याछ्याप गरेर होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुहरुका राजा बसन्त ऋतुको आगमन हुने विश्वास छ । चीर ठड्याएपछि होली पर्व सुरु भएको तानसेन भजन संरक्षण समितिका अध्यक्ष बज्राचार्यले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘हरेक वर्षको फागुन शुक्ल अष्टमीका दिन लिंगो ठड्याउने चलन छ ।’ असत्यमाथी सत्यको विजयको प्रतिकका रुपमा चीरलाई लिने गरिन्छ । उक्त चीरलाई आउने २३ फागुनमा फागु पुर्णिमाका दिन ढाली खोलामा लगेर दहन गरेपछि यो वर्षको होली सकिनेछ । चीर दहन भएपछि असत्यमाथी सत्यको जित भएको मानिन्छ ।

यो बर्ष पहाडी जिल्लामा २२ फागुनमा होली मनाए पनि तराईमा भने २३ फागुनमा होली मनाइँदैछ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भस्म गरी सत्यवादी भक्तप्रल्हादको उद्धारको कथा, भगवान कृष्ण र नग्न अवस्थामा गोपीनीहरुले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथा लगायतका प्रसंगहरु होलीसँग जोडीएको धार्मिक ग्रन्थमा उल्लेख छन् । होलीमा रंगहरु र अविर एक आपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ । चीर ठड्याउने संस्कृति संरक्षणका लागि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाले पाँच हजार आर्थिक सहयोग समेत गरेको छ । प्रतिष्ठानका अध्यक्ष मदन देउरालीले तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्यलाई सो रकम हस्तान्तरण समेत गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?