प्रिन्स र रशिलालाई उपाधि

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि जित्न सफल हुनुभएको छ । नेपाल ब्याडमिन्टन संघले वरीयताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेल्नुभएका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-९, २१-१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९-२१, २१-१५, २१-१८ ले पराजित गर्दै उपाधि जित्नुभएको हो ।

विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । उपविजयी महर्जन र राई प्रत्येकले नगद २० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । तेस्रो स्थानमा पुरुषतर्फ कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितिज खनाल तथा महिलातर्फ सेनाकी प्रार्थना देउवा र शोभा गौचन संयुक्त तेस्रो हुनुभयो । तेस्रोे भएबापत उहाँहरूले नगद १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष युगल उच्च २० बरीयताबाहेकको भिडन्तमा कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले ललितपुरका दिपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१-१२, २१-१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्नुभएको हो । तेस्रो स्थानमा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एशिया जवेगु र दिवस शंकरको जोडी रहनुभयो । पुरुष युगलतर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीहरूले क्रमशः प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्नुहुनेछ ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यू-१७ छात्र एकलतर्फ सेनाका कवीर केसी र छात्रातर्फ सेनाकै रिहाना शेरचनले उपाधि जित्नुभयो । कवीरले सेनाकै अनिल मल्ललाई २१-१०, २१-३ ले तथा रिहानाले कैलालीका रञ्जु रानालाई २१-८, २१-१७ ले पराजित गर्दै उपाधि जित्नुभएको हो । तेस्रो स्थानमा छात्रतर्फ कैलालीका रोशन साउद र शुभकामना युवा क्लबका सनौला रैनी तथा छात्रातर्फ सेनाकी समृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य संयुक्त तेस्रो हुनुभयो ।

शीर्ष तीन स्थानमा रहेका खेलाडीहरूले क्रमशः २० हजार, १० हजार र पाँच हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
भेट्रान्स ४५ वर्षमाथिको प्रतियोगितामा कास्कीका राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले बाजी मार्नुभयो । उक्त जोडीले कीर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१-११, २१-१६ ले पराजित गर्दै भेट्रान्सको उपाधि आफ्नो नाममा लेखाउनुभयो । तेस्रो स्थानमा कालिका ब्याडमिन्टन क्लबका राम केसी र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्ट्स हाउसका डेन लामा र राकेश थापाको जोडी रहृयो । शीर्ष तीन स्थानमा रहेका जोडीहरूले क्रमशः २० हजार, १० हजार र पाँच हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?