हरायो ‘बिना सालैजोको ठाडी भाका’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । सोमबार दिउसो बाह्र बजे तिर मगर संघ बागलुङको भवनबाट एउटा ठूलो ¥याली निस्कियो । त्यो ¥याली थियो मगर एकता दिवस मनाउन सहभागीहरुको । ¥यालीमा नाच्ने, गाउने र बनाउनेको धेरै टोली थियो । त्यस मध्ये एउटा ठूलो समूहमा पृथक खालको गीत र नाच देखिन्थ्यो । त्यहाँ केही पुरुष मादल बजाउँदै गीत आउँदै थिए भने उनीहरुले गाएको गीतलाई महिलाहरुले पनि साथ दिँदै थिए । त्यहाँ गीत गाउने मुख्य व्यक्ती हुनुहुन्थ्यो, बागलुङ नगरपालिका–३ का ७३ वर्षीय टीका बहादुर रोका मगर ।

उहाँले गीतमा भन्दै हुनुहुन्थ्यो ...........

उहाँले टोपीरै मेरो, रुमालै मेरो धोइदिने कोही छैन ।
लाहुरै गएर मै मरि गए रोइदिने कोही छैन ।।

रोका मगरले गाएको गीतले मगर तथा गुरुङ समुदायको वास्तविकता बोलेको थियो । उहाँले गाउने हरेक गीतको टुक्कामा मगर संस्कृति र परम्परा झल्कि रहेको थियो । धन कमाउन विदेश जाने र विदेशमै ज्यान गुमाउनेहरुको पीडा गीतमा सुनिन्थ्यो । अहिले पनि बागलुङबाट मगर समुदायका सयौँ युवा विभिन्न देशको सेना प्रहरीमा भर्ती भइ रहेका छन् । स्वदेश छोडेर विदेश पुगेका युवाको दुःख, पीडा र सपनालाई कसैले पनि नसुनेको गीतका टुक्का टुक्कामा सुनिन्थे । गीतमा विदेशिएकाको कथा व्यथासँगै गाउँघर तथा साथीसंगीको सम्झना पनि सुनिन्थे ।

माथिमै प¥यो बागलुङको बजार, तल प-यो निरह ।
कि लाग्छ मलाई संगीसाथीको माया, कि चल्छ विरह ।।

रोका मगरको समूहले गाएको गीत ‘बिना सालैजोको ठाडी भाका’ हो । एक जनाले सुरु गर्ने र समुहका महिला पुरुषले भाका समातेर गाउने यो गीत पछिल्लो समय सुनिन छोडेका छन् । यो भाकासँगै यानीमाया, सुनिमाया, झ्याउरे लगायतका दर्जनौँ किसिमका गीतहरु पनि हराउँदै गएका छन् । गीतहरु हराउँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । सयौँ वर्ष पुरानो ‘बिना सालैजोको ठाडी भाका’ पछिल्लो एक दशक यता निकै कम भएको पाइन्छ ।

युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीतहरु हराउँदै गएको टीका बहादुर रोका मगर बताउनुहुन्छ । रोका मगरलाई अहिले पनि बुढापाकाले ‘बिना सालैजोको ठाडी भाका’ गाउनका लागि लगाउने गर्छन् । अरुलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उहाँलाई यो भाका गाउन लागएका हुन् ।

रोका मगर भन्नुहुन्छ– “यो भाका हाम्रा पाका पुर्खादेखि गाउँदै आइएको छ, धेरै वर्ष पुरानो यो गीत अरु समुदायका मान्छेले गाउन जान्दैनन्, यो गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको छ, यसको लय पनि अरुभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो, युवा पुस्ताले ¥याप÷झ्याप केके हो के गाउँ छन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पिर लाग्छ ।”

गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन मानिन्छ । मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम ‘बिना सालैजोको ठाडी भाका’ नै थियो । आधुनिक सञ्चार माध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यो गीत हराउन थालेको स्थानीय ६० वर्षीय तिल बहादुर दगामी मगरले बताउनुभयो ।

उहाँका अनुसार तरुनी तन्नेरी भेट हुँदा तथा नयाँ साथीभाईसँग भेट हुँदा यो गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गर्ने गर्दथे । अहिले फोनले गर्दा दिनदिनै कुरा हुने हुँदा गीतमा हालखबर सोध्न छोडिएको बताउनुहुन्छ । “ठाडी भाकामा तीन दिन तीन रात गाउने गीत हो, धेरैले यो गीत गाउन सक्दैनन्, स्वर लामो गरि तान्न सक्नु पर्छ, हाम्रो बैसमा तरुनी तन्नेरी भएर गाउँदा निकै रमाइलो हुन्थो तर अहिले यो गीत हराउँदै गयो” उहाँले भन्नुभयो ।

स्थानीय तनीकुमारी थापाले यो भाका लामो समयपछि मगर दिवसमा गुन्जाउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “झण्डै ४/५ वर्षपछि बिना सालैजोको ठाडी भाका सुने, पहिले–पहिले हामीहरु पनि गीत गाउँथ्यौँ, तर अहिले यो कतै पनि सुनिदैन, बारीमा कोदो गोड्दा, वनपाखा जाँदा र मेला महोत्सवमै गाइन्थो, अहिले त अरु गीत मात्रै गाउँछन् ।”

थापा मगरले पहिले–पहिले रोधी बस्दा ठाडी गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताउनुहुन्छ । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप तथा लोकगीतले ठाडी भाका हराउन थालेको उहाँको भनाइ छ । यो गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको उहाँ बताउनुहुन्छ ।

रोधी बस्ने चलन हराएपछि पुराना गीत संगीत हराउँदै गएको निसीखोलाका ७९ वर्षीय नरबहादुर पुन मगरले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “रोधी बस्दा पुराना गीतहरुको संरक्षण हुन्थ्यो, नयाँ र पुरान गीत गाएरै उज्यालो बनाउने चलन थियो, २० औँ वर्ष भइसक्यो रोधी बस्ने चलन हराएको, यो चलन हराएपछि पुराना गीत हराउँदै गए, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?