इंग्लिस क्लब आर्सनल युरोपा लिगबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ। बिहीबार रातिको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा ५-३ ले पराजित हुँदै आर्सनल राउण्ड अफ १६ बाट बाहिरिएको हो।

प्रि-क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको खेल १-१ गोलको बराबरी सकिएको थियो। आर्सनलले स्पोर्टिङ लिस्वनसँगको पहिलो लेग पनि २-२ गोलको बराबरी खेलेको थियो। समग्रमा ३-३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लिन्ड्रो ट्रासोर्डले गोल गरे। गाब्रियल मार्टिनेली गोल गर्न चुके। स्पोर्टिङका जेरीमिएह जस्टे, रिकार्डो एस्गियो, गोन्कालो इनासियो, आर्थर गोमेस र नुनो सान्तोसले गोल गरे।

टाइब्रेकरअघि खेलको १९औं मिनेटमा ग्रानिट जाकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । ६२औं मिनेटमा स्पोर्टिङका पेड्रो गोन्कालभेसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो। म्यानुएल युगार्टे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ११८औं मिनेटमा स्पोर्टिङ १० खेलाडीमा समेटिन पुगेको थियो।

आर्सनलले पहिलो लेगमा स्पोर्टिङसँग २-२ गोलको बराबरी खेलेको थियो । प्रतियोगिताको क्वार्टरफाइनल ड्र शुक्रबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?