नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनु भएको छ ।
शुक्रबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा उहाँ ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

उहाँले संघीय संसदका १८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५३६ र प्रदेशसभाका ३२९ जना सदस्यले दिएको मतको १५ हजार ७९२ मतभार पाउनु भयो ।

बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका यादव जसपाका संसदीय दलका नेता हुनु हो ।

यादवका प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसदका १०४ र प्रदेशसभाका १६९ जना सदस्यले मत दिएका थिए । यसैगरी, जसपाकै प्रमिलाकुमारी यादवलाई संघीय संसदका एक जनाले मत दिँदा प्रदेशसभाबाट शून्य मत परेको थियो । साथै जनमत पार्टीकी ममता झाले संघीय संसदका २३ जना सदस्य र प्रदेशसभाका १५ जना सदस्यबाट मत पाउनु भयो ।

शाक्य र झाको एकल उम्मेदवारी थियो भने निर्वाचित यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।
नेपालको पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित हुनु भएको थियो ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।

पूर्वमन्त्रीसमेत रहनुभएका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?