बंगुरको खोरबाट मुक्त भइन् पुष्पा, कक्षा १२ सम्म अध्ययनका लागि जुट्यो सहयोग

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । बंगुरको खोरमा बसेर,एक छाक मकै र एक छाक भोकै दिन विताउँदै गरेकी १५ वर्षिया बालिका हुन् पुष्पा राई ।

म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुरको खोरमा आमा राजकुमारी राईसँगै बसेर नजिकै रहेको सरस्वति आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्नुहुन्छ पुष्पा राई ।

अगाडी निरन्तररुपमा सुसाउदै वगिरहेको छ म्याग्दी नदी । पछाडी पट्टी मंगलाघाट–डम्मरा सडकमा गुडिरहने ट्याक्टर र साना सवारी साधनको चर्को हर्न र निरसिलो कोलाहल सुनिन्छ । म्याग्दी नदी र सडकको बिचमा टिनको छाप्रोमा छ बंगुरको खोर । त्यही खोरको एउटा कोठामा आफ्नो जिन्दगीको अत्यास लाग्दो समय कटाउँदै हुनुहुन्थ्यो ४५ वर्षिया राजकुमारी राई र उहाँकाी १५ वर्षिया छोरी पुष्पा ।

श्रीमान्ले दोस्रो विवाह गरेपछि घरबाट निकालिएकी राजकुमारी ६ वर्षअघि खोटाङ जिल्लाबाट जीवन जिउने मेलोको खोजि गर्दै म्याग्दीको सदरमुकाम बेनीमा आउनुभएको हो । म्याग्दी आएपछि दुई वर्ष गिट्टी कुट्ने,वालुवा चाल्ने काम गर्नुभयो । विगत ४ वर्षदेखि बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्मको छाप्रोमा उनी छोरी पुष्पा राईसँग बस्दै आउनुभएको थियो ।

गत फागुनमा राजकुमारी राई र छोरी पुष्पाको यो दुखपूर्ण समाचार विभिन्न संचारमाध्यमहरुमा प्रकाशन/प्रशारण भए पछि अहिले उहाँहरुलाई सहयोग जुटेको छ ।

उहाँहरुको दुखान्त कथा सार्वजनिक भएपछि सहयोगदाताले सहयोग गरेका छन् । आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर छोरी पुष्पाको शिक्षादीक्षाका लागि पसिना बगाएकी राजकुमारीले पनि बंगुरको खोरबाट मुक्ति पाउनुभएको छ । पुष्पाले पनि कक्षा १२ सम्म पढ्ने पर्याप्त सहयोग प्राप्त गर्नुभएको छ ।

बेनी नगरपालिका–६, छाप घर भई हाल यूकेमा रहेका किसान जिसीले पुष्पालाई कक्षा १२ सम्म लाग्ने आर्थिक र शैक्षिक सहयोग गर्नभएको छ ।
बेनी नगरपालिका–२,बगरफाँटस्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी पुष्पाको शिक्षादीक्षामा कुनै समस्या हुन नदिन अमेरिकामा रहेकी समाजसेवी शोभा पाण्डेको अगुवाईमा मनु शाह, शिला रेग्मीले २५ हजार र रिक म्याग्दी नामक गैरसरकारी संस्थाले पोशाक, स्टेशनरी र झोला सहयोग गदैं बार्षिक ५ हजार बराबरको स्टेशनरी सहयोग गरेको विद्यालयकी सहायक प्रअ घनदेवी घर्तीमगरले बताउनुभयो ।

“पुष्पा जेहन्दार, अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा हुन्,अब पढाईमा कुनै समस्या हुन्न” सप्रअ घर्तीमगरले भन्नुभयो । भविष्यमा डाक्टर बन्ने सपना बोकेकी पुष्पालाई बंगुरको खोरमा राखेर मजुदरी गर्ने बाध्य राजकुमारीको दैनिकी समेत समाचारपछि फेरिएको छ ।
बंगुरको खोरभित्र पढ्ने उचित वातावरण नभएपछि राजकुमारी अहिले कोठा भाडामा लिई बस्न थालेकी छन् । बंगुर फार्म कुरेर बसेकी राजकुमारीले अव मजदुरी गरेर खर्च चलाउने र दाताको सहयोग छोरीको शिक्षादीक्षामा खर्च गर्ने बताउनुभयो ।

आर्थिक सहयोगका लागि दाताले धेरै चासो देखाएपनि नेपाली नागरिकता र छोरीको जन्मदार्ता नहुदाँ समस्या भएको छ ।

यसैबीच राजकुमारी र छोरी पुष्पाका लागि पत्रकार हरिकृष्ण गौतमले संकलन गरेको रकम विद्यालयमा एक समारोहका बिच हस्तान्तरण गरिएको छ । विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरे र प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले परोपकारी पत्रकारितामार्फत विपन्न र बेसहारका लागि भइरहेको प्रयासले धेरैको जीवनमा परिवर्तन भएको बताउनुभयो । प्रअ गर्बुजाले विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै हुने गरेको परिवारमा सहयोगले पढाई खर्चका लागि सहज भएको जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा राजकुमारी राईले सहयोगलाई छोरीको शिक्षादिक्षामा खर्च गर्ने र आफुँले मजदुरी गरी घरखर्च चलाउने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?