पारसको टोली फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्स टोली लेजेण्ड्स क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मास्टर्स एलिमिनेटर खेलमा इण्डिया महाराजसमाथि ८५ रनको जित हात पार्दै एसिया लाइन्स फाइनलमा प्रवेश गरेको हो ।

अब एसियाले उपाधिका लागि सोमबार वल्ड जायन्ट्ससँग खेल्नेछ । जितका लागि १९२ रनको विशाल लक्ष्य पछ्याएको भारत १६.४ ओभरमा १०६ रनमा अलआउट भयो । भारतका कप्तान गौतम गम्भीरले १७ बलमा सात चौकासहित ३२ तथा रोविन उथपाले १५, मोहम्मद कैफले १४, सुरेश रैनाले १८, युसुफ पठानले नौ र इफरान पठानले तीन रन बनाउनुभएको थियो ।

एसियाका सोहेल तनविर, अब्दुर रजाक र मोहम्मद हफिजले दुई-दुई विकेट लिनुभयो । इसुरु उडाना, शाहिद अफ्रिदी र तिलकरत्ने दिलशानले एक-एक विकेट लिनुभयो ।

त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९१ रन बनाएको थियो । एसियाको जितमा ओपनर उपुल थरंगाले ३१ बलमा सात चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय पारी खेल्नुभयो । अर्का ओपनर तिलकरत्ने दिलशान २६ बलमा दुई चौकासहित २७ रनमा आउट हुनुभयो ।

मोहम्मद हफिज २४ बलमा दुई चौका र तीन छक्कासहित ३८, थिसेरा परेरा १२ बलमा तीन छक्कासहित २४ र अस्गर अफगान २४ बलमा एक चौका र दुई छक्कासहित ३४ रनमा अविजित रहनुभयो ।

नेपालका पूर्वकप्तान पारस खड्काले भने ब्याटिङ र बलिङ दुवैको अवसर पाउनुभएन । भारतका स्टुअर्ट बिन्नीले तीन ओभरमा ३८ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै, प्रज्ञान ओझाले दुई ओभरमा २६ रन खर्चेर दुई तथा प्रवीन ताम्बेले एक विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?