अरूले ओढाएको छाताले कहिलेसम्म ओतिने ?

Read Time = 16 mins

✍️ मणि शर्मा
कञ्चनपुरमा भारतीय प्रहरीबाट सीमा रक्षक नेपाली नागरिकको हत्या भएको समाचार बाहिर आएको थियो । नेपाली नागरिकले आफ्नै बलबुताले देशको सीमा रक्षा गर्दै आइरहेका छन् र यस क्रममा इण्डियन प्रहरीबाट मारिँदै आएको क्रम लामो छ । तर, सरकार सदैव मौन बसेर इण्डियालाई हाम्रो सीमा मिच्ने अधिकार दिएको छ । सेना र प्रहरी नामका मात्रै छन् । देशको सीमा रक्षामा उनीहरूको कुनै महत्वपूर्ण भूमिका छैन । उनीहरू केवल मुकदर्शक बनिदिन्छन् इण्डियन प्रहरीका अगाडि । कालापानी, लिपुलेक सीमा विवादको हल अहिलेसम्म सरकारले निकाल्न सकेको छैन, अर्को शब्दमा भन्नु पर्दा ऊ इण्डियासँग यस बारेमा गम्भीररूपमा कुरा गर्न डराउँछ ।

पहिला सुजाता कोइरालाले कालापानी इण्डियालाई दिएर बांगलादेशसम्म जाने बाटोको भूभाग सट्टापट्टा गरौं भनेकी थिइन्, अहिले त्यही कुरा दुर्गा प्रसाई दोहो¥याइरहेका छन् । जबकि सन् १९५० को सन्धिको धारा ८ ले नै सुगौली सन्धि पूर्वको हाम्रो भूभागमाथि हाम्रो अधिकार भएको स्वीकारिसकेकाले सतलजदेखि टिष्टासम्मको भूभाग कानुनीरूपमा हाम्रै भएको सिद्ध गर्छ । आफ्नै भूभागसँग आफ्नै भूभाग कसरी साट्न मिल्छ ? राष्ट्रवादी शासनतन्त्र तथा शासक आए एकदिन हामीले हाम्रो त्यो भूभाग फिर्ता लिन सक्नेछौँ । शासकवर्ग नै भ्रष्ट तथा देशद्रोही भएपछि हाम्रो भएको सीमा कसरी सुरक्षित हुन्छ ?

कुनै बेला रूसको स्वर्ग भनिने अलास्का अहिले अमेरिकाको एउटा भूभाग भएको छ । ३० मार्च १९६७ मा अमेरिकाले रुसबाट अलास्का किनेको थियो । उसले केवल बहत्तर लाख डलरमा रूसबाट अलास्का किनेको थियो । अलास्कामा भएको तेलको भण्डारबाट अमेरिकाको कूल तेलको बीस प्रतिशत पेट्रोलियम पदार्थ प्राप्त हुन्छ । सुन र हीराको खानी भएको अलास्का अमेरिकाका लागि स्वर्ग भएको छ । करिब १७ लाख १७ हजार ८५६ किलोमिटर भूभाग भएको अलास्का अमेरिकाको लागि ठूलो खजाना भएको छ ।

हामी नेपाली सुगौली सन्धिबाट गुमेको हाम्रो भूभाग फिर्ता लिनुपर्छ भन्ने शब्द मुखरित गर्न कञ्जुस्याइँ गर्छौं र भएको भूभागमाथि इण्डियाले कब्जा गरिराख्दा चुप लागेर बस्छौँ । रूसी जनतालाई शासकको गल्तीले गुमेको भूभाग अलास्का एकदिन पुटिनले फिर्ता ल्याउनेछन् भन्ने विश्वास छ ।

यो खनिजको अलावा माछा मार्ने र पर्यटनबाट ठूलो आय हुने माध्यम बनेको छ । अलास्का बेच्ने विचार रुसका तत्कालीन विदेशमन्त्री अलेक्जेण्डर मिखाइललोविच गोर्काकोभको दिमागको उपज हो । भनिन्छ, यसका लागि अमेरिकाको तत्कालीन राष्ट्रपति एण्ड्यू जोनसनले अलक्जेन्डरलाई अलास्का बेच्न मनाएका थिए । यसमा कति चलखेल भयो त्यो गोप्य नै रहृयो । रुसी जनता यसको विरोधमा थिए तर जनता विरोधमा भएर के गर्ने, जब शासकले नै आफ्नो देशको एउटा मूल्यवान भूभाग बेच्न खोजे । जनता भन्ने प्राणी सरकारको देखाउने दाँत हुन् । देशलाई चबाउने भित्री दाँत त शासकवर्गको मुखभित्र लुकेको हुन्छ ।

विदेशमन्त्रीले जारका अगाडि यो प्रस्तावलाई राख्दै यो बेचेपछि रुसलाई हुने फाइदाहरूवापत विस्तृत विवरण दिए । जस्तै अलास्का धेरै टाढा भएकोले यसको सुरक्षा दिन नसकिने । युद्धबाट अमेरिकाले जितेर यसलाई आफ्नो अधीनमा लिन सक्ने, यो बेचे देशको आर्थिक संकट दूर हुन्छ आदि । जनताको तीव्र विरोधका बाबजुद जार अलेक्जेन्डरले विदेशमन्त्रीको कुरा पत्याएर अलास्का बेच्ने सम्झौतामा सन् १८६७ को ३० मार्चमा सहीछाप गरे । यसरी अलास्कालाई रुसका शासकले जनताको विरोधका बाबजुद बेचेका थिए ।

अलास्का त्यस बेलाका शासकले बेचेको पीडा अहिले पनि रुसी जनतामा छ । उनीहरू अहिले पनि पुटिनले अलास्कालाई फिर्ता ल्याउनेछन् भन्ने विश्वासमा छन् । जब २०१३ मा रुसले क्रिमियामाथि कब्जा गर्‍यो तब रुसका प्रसिद्ध गायक निकोलेए ब्याचेस्लाविचले एउटा गीत गाएका थिए, जसकोे बोल थियो, रसियन राष्ट्रपति पुटिनले एकदिन अमेरिकाबाट अलास्का खोसेर लिनेछन् । देशभक्तिको भावना अलास्का रुसले बेचेदेखि अहिलेसम्म रुसी नागरिकको मनबाट गएको छैन ।

तर, हामी नेपाली सुगौली सन्धिबाट अवैधानिक रूपमा गुमेको हाम्रो भूभाग फिर्ता लिनुपर्छ भन्ने शब्द मुखबाट मुखरित गर्न कञ्जुस्याइँ गर्छौं र भएको भूभागमाथि पनि इण्डियाले कब्जा गरिराख्दा चुप लागेर बस्छांँ । रुसी जनतालाई आफ्ना राष्ट्रपतिमाथि अटल विश्वास छ कि एकदिन शासकको गल्तीले गुमेको भूभाग पुटिनले फिर्ता ल्याउनेछन् । हामी हाम्रा शासक वर्गमाथि विश्वास कुनै कोणबाट गर्न सक्ने अवस्थामा छैनौं ।

रुसी जनता कतिसम्मको देशभक्त थिए कि उनीहरूले अलास्का बेचेको सालमा देशसँग जारले गद्दारी गरेको भनेर तीनपटक जारमाथि प्राणघातक आक्रमण गरेका थिए तर उनी बाँचे । तर, सन् १८८१ को मार्च १३ मा सेन्ट पिटर्सवर्गको विन्टर प्यालेसमा इभान एमेल्यानोभले बम फालेर देशसँग गद्दारी गर्ने जारको हत्या गरे तर रुसी साम्राज्यले कहिले पनि अलास्का बेचेकै कारण जारको हत्या भएको भनेर स्वीकार्न चाहेनन् । जबकि वास्तविकता यही हो तर हाम्रा रामचन्द्र पौडेलले राष्ट्रपतिमा जितेपछि इण्डियन कवि जगदम्बाप्रसाद मिश्र ‘हितैषी’ ले हिन्दुस्तान स्वतन्त्र गराउने कसम खाएको कविता पढेर कोप्रति बफादारी देखाएका हुन् ?
धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षित ।
तस्माद्धर्मो न हन्त्यव्यो मा नो धर्मो हतोकवधीत् ।
जसले धर्मको नाश गर्छ, उसको नाश धर्मले गर्छ, जसले धर्मको रक्षा गर्छ, उसलाई धर्मले रक्षा गर्छ । त्यसैले मारेको धर्मले कहिल्यै हामीलाई न मारोस्, यस भयले कहिल्यै धर्मको हनन गर्न हुँदैन । अहिले मुलुकका शासकवर्गले सनातन धर्मको हनन् गरिहेका छन् । एकातिर हाम्रा शासकहरू इसाई धर्मलाई बडावा दिइरहेका छन् भने अर्कोतिर नवनागरिक भएका मुसलमानहरू लभ जेहाद र आर्थिक प्रलोभनमा सनातन धर्मावलम्बीलाई मुसलमान बनाइरहेका छन् । राज्यको कानुनले धर्मान्तरणलाई छुट दिएको छ । देशको प्रधानमन्त्री र राष्ट्रपतिसमेत आन्तरिक रूपमा सनातन धर्मविरोधी छन् । बाहृयरूपमा मन्दिरहरूमा गए तापनि, पूजापाठको ढोङ गरे तापनि उनीहरू न सनातनी हुन र न त सनातन धर्मको रक्षक ।

२०३० सालको कुरा हो । काठमाडौंको वनकालीमा नेपाल तथा भारतका सन्त, महन्त तथा संस्कृतका विद्वानहरूको एघार दिनसम्म आध्यात्मिक सम्मेलन भएको थियो । यस बारेमा उक्त सम्मेलनमा भाग लिएका पण्डित जनार्दन आचार्यज्यूले मलाई जानकारी दिनुभएको थियो । उक्त सम्मेलनको उद्घाटन तथा समापन राजाले गर्ने कार्यक्रम थियो तर राजा त्यसबेला विदेश जानुपरेकाले उक्त कार्यक्रमको उद्घाटन तथा समापन एक सय पच्चीस वर्षीय अवधूत बालब्रहृमचारी गलेश्वर बाबा सन्त ईश्वरानन्दले राजाको इच्छाअनुसार गर्नुभएको थियो । योगी नरहरिनाथ, प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, राजेश्वर देवकोटा, राजाका प्रमुख सचिव, स्वयं जनार्दन आचार्य आदि हुनुहुन्थ्यो भने यो सम्मेलनको अध्यक्ष राजेश्वर देवकोटा र संरक्षक योगी नरहरिनाथ हुनुहुन्थ्यो । चौध सय विद्वानहरू सम्मिलित त्यो सभाले तीन लाख मनुस्मृति छपाएर घर घरमा पुराउने, प्रत्येक अञ्चलमा एक-एक वेद विद्याश्रम खोल्ने, प्रत्येक जिल्लामा संस्कृत पाठशाला सञ्चालन गर्ने र प्रत्येक गाउँहरूमा मासिक रूपमा धार्मिक तथा साहित्यिक गोष्ठीहरू गर्दैजाने निर्णय गरेर समिति गठन गरिएको थियो । बाबा ईश्वरानन्दले त्यही सम्मेलनबाट राजालाई भनेका थिए, राजाबाबुले धर्ममा मन दिनुपर्छ, त्यसो नगरे राज्यलाई धक्का दिने काम हुनेछ र राजसंस्थाको अनिष्ट हुनेछ । योगी नरहरिनाथले सोही कार्यक्रममा राजाले आफ्नो छाता आफैँ ओढ्न जान्नुपर्छ भनेका थिए ।

जसरी अवधूत बाबा बालब्रहृमचारी ईश्वारानन्दको भविष्यवाणी सफल भएको थियो त्यसरी नै वर्तमान नेताहरूमा पनि त्यो भविष्यवाणी लागू हुनेछ । राष्ट्रयोगी नरहरिनाथले भने झैँ हाम्रा शासक वर्गले ओढेको छाता विदेशीले ओढाइदिएका छन् । अरूले ओढाएको छाताले कहिलेसम्म ओतिने ?

तर, राजाले त्यस्ता वृद्ध तथा सिद्ध सन्तले भनेका कुरामा ध्यान दिएनन् । यति ठूलो आध्यात्मिक सम्मेलन हुँदा त्यसमा सरिक नभई वा त्यसलाई महत्व नदिई विदेश गए । उक्त सम्मेलनले निर्णय गरेको तीन लाख घरमा मनुस्मृति बाँड्ने, अञ्चलमा वेद विद्याश्रम खोल्ने, जिल्लाहरूमा संस्कृत पाठशालाहरू खोल्ने, प्रत्येक गाउँमा मासिक रूपमा धार्मिक तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने कुराहरूलाई राजाले बेवास्ता गरे । आफ्नो धर्म संस्कृतिलाई महत्व नदिई राजपरिवारमा पश्चिमा संस्कृति भित्र्याए । मोहम्मद मोहसिन अध्यक्ष भएको पश्चिमा शैलीको अनुत्पादक नयाँ शिक्षा नीतिलाई देशैभरि लागू गरे । सय पूर्णांकको संस्कृत शिक्षालाई पचास पूर्णांकमा झारे ।

सन्त, महन्त र राष्ट्रयोगीको अर्ति नमान्नाले वीरेन्द्रको वंशको त्यो गति भयो र राजा ज्ञानेन्द्रको पालामा राजसंस्थाकै अन्त्य भयो । मन्दिर तथा तीर्थहरू धाउँदैमा राजा हिन्दू सम्राट हुनसक्दैनन् । सनातन धर्म सम्राट हुन वेद तथा मनुस्मृति अनुसारको आचरण भएन हाम्रा राजाहरूमा । राजा महेन्द्रको पालासम्म केही पालना गरिन्थ्यो । त्यसपछिका राजा र राजपरिवार पश्चिमा शैलीमा आफू पनि ढले र देशलाई पनि ढाले । परिणाम आज हामी सामु छर्लंग छ र त्यसको दुःखद् परिणाम नेपाली जनताले भोगिरहेका छन् ।

वर्तमान शासकवर्ग पूर्णरूपमा सनातन धर्मविरोधी छन् । सनातन धर्मप्रतिको नौटंकी यिनीहरूको चुनावी नौटंकी हो । धर्म निरपेक्षतावादी गणतन्त्रवादीहरू कदापि सनातन धर्मावलम्बी हुन सक्दैनन् र वर्षाको च्याउ झैँ उम्रेका, बाहिरबाट सञ्चालित कथित सनातन धर्म तथा राजसंस्था समर्थकको मकुण्डो भिरेका पनि सच्चा सनातनी हुन सक्दैनन् । यिनीहरू केवल आफ्नो दुनो सोझ्याउन देखापरेका हुन् । नक्कली देवदेवी र सन्तमहन्तका पछाडि लाग्ने नेपालीहरू कुनै पनि अवस्थामा सच्चा सनातनी हुन सक्दैनन् ।

यी सबैको अवस्था पनि एकदिन राजसंस्थाको सर्वनाश भएजस्तै भएर जानेछ । धर्मको रक्षा न गर्नेहरूलाई धर्मले पनि रक्षा गर्नेछैन । सनातन धर्मका विनासकहरू एक दिन स्वयं समाप्त भएर जानेछन् । जसरी अवधूत बाबा बालब्रहृमचारी ईश्वारानन्दको भविष्यवाणी सफल भएको थियो त्यसरी नै यिनीहरूमा पनि त्यो भविष्यवाणी लागू हुनेछ । किनकि, यो देवभूमि हो । राष्ट्रयोगी नरहरिनाथले भने झैँ हाम्रा शासक वर्गले ओढेको छाता विदेशीले ओढाइदिएका छन् । अरूले ओढाएको छाताले कहिलेसम्म ओतिने ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?