थ्री नेसन्स कपको तयारी पूरा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै चैत ८ गतेदेखि १७ सम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
थ्री नसेन्स कपमा नेपाल, भुटान र लाओसले प्रतिष्पर्धा गर्दैछन् । दुबै पाहुना टोलीहरू भुटान र लाओस नेपाल आइसकेका छन् । तीन राष्ट्रहरूले दशरथ रंगशालामा सिंगल राउण्ड रोविनको आधारमा खेल्ने एन्फा प्रवक्ता गणेश शाहले जानकारी दिनुभयो ।

राउण्ड रोबिनपछि शीर्ष दुई देशबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ पाँच सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिसकेको छ । खेलका टिकटहरू खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरूबाट पनि किन्न सकिने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई पाँच हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ती हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पाँच सय अमेरिकी डलर गरी कुल नौ हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । उक्त पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख, ६८ हजार ४८० रुपैयाँ रहेको एन्फाले जनाएको छ । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस तथा त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने खेल तालिका रहेको छ । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हुनेछ । उहाँले आफ्नो उत्कृष्ट दिँदै नतिजा आफ्नो पक्षमा पर्ने बताउनुभएको छ । प्रतियोगिताको मार्केटिङ र ब्रोडकाष्टिङ अधिकार एमडीएसी स्पोट्र्स प्रालिलाई दिईएको जनाएको छ । एमडीएसीले २० लाख २० हजारमा मार्केटिङ र ब्रोडकाष्टिङ अधिकार पाएको एन्फाले जनाएको छ ।

नेपालको हार
बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल सोमबार भारतसँग ४-१ गोल अन्तरल पराजित भएको छ ।

खेलको दशौँ मिनेटमा शिल्जी शाजीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाउनुभएको थियो । ४० औं मिनेटमा उहाँले दोस्रो गोल गर्नुभयो भने त्यसको दुई मिनेटमा नै पुजाले भारतका लागि तेस्रो गोल गर्नुभएको थियो ।

खेलको ५४ औं मिनेटमा वर्षा ओलीले नेपालबाट एक गोल फर्काउनुभएको थियो । खेलको ८० औं मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४-१ को जित दिलाउनुभयो ।

जितसँगै भारतले पहिलो खेलमा तीन अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?