ग्लोबल मनि विक २०२३ सुरु

Read Time = 4 mins

काठमाडौं । प्लान योर मनि, प्लान्ट योर फ्युचर भन्ने नाराका साथ सोमबारदेखि ‘ग्लोबल मनि विक-२०२३’ सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापीरूपमा मनाइने ग्लोबल मनि विकको यो ११औँ संस्करण हो । अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा आयोजित कार्यक्रम उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानी विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।’ युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनि विकको अभियान महत्वपूर्ण अवसर रहेको उहाँको भनाइ थियो ।

बैंकिङ, पुँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले सिकेका ज्ञान÷सीप समाज र परिवारमा समेत प्रवाह गर्न गभर्नर अधिकारीले विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीको उपस्थिति थियो । गभर्नर कार्यालयका कामु कार्यकारी निर्देशक किरण पण्डितले ग्लोबल मनि विकको सान्दर्भिकता र औचित्यबारे प्रकाश पार्नुभएको थियो भने दोस्रो सत्रमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सहकारी विभागतर्फबाट वित्तीय चेतना प्रवद्र्धन समेटिएका चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

चैत १२ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुने राष्ट्र गभर्नरको कार्यालयले जनाएको छ । ‘ग्लोबल मनि विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यसाथ विश्वव्यापीरूपमा थालिएको अभियान हो । सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका एक सय ७० भन्दा बढी मुलुकमा अभियान सञ्चालन हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?