सहकारी महासंघविरुद्धको रिले अनसन स्थगित

Read Time = 6 mins

काठमाडौं । सहकारी बचाऔँ राष्ट्रिय अभियानले राष्ट्रिय सहकारी महासंघविरुद्ध सुरु गरेको आन्दोलन स्थगित गरेको छ । तरलता अभावलगायतका समस्यालाई महासंघले सामूहिक समस्याका रूपमा स्वीकार नगरेको भन्दै अभियानले सोमबारदेखि रिले अनसन सुरु गरेको थियो । अभियानले फागुन २ गते महासंघमा बुझाएको १३ बुँदे ज्ञापनपत्रको माग सम्बोधन नभएको भन्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार रिले अनसन सुरु गरेकोमा महासंघको आग्रहमा स्थगित गरिएको अभियानका संयोजक विपिन शर्माले हिमालय टाइम्सलाई बताउनुभयो ।

यही चैत २३ देखि २४ गतेसम्म हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई मध्यनजर गर्दै अनसन स्थगित गरिएको उहाँको भनाइ छ । संयोजक शर्माले भन्नुभयो, ‘महासम्मेलनपछि सहकारी क्षेत्रका समग्र माग सामूहिकरूपमै अघि बढाउने महासंघले प्रतिबद्धता जनाएपछि अनसन कार्यक्रम स्थगित गरेका छौँ ।’ तथापि उहाँले महासम्मेलनको पूर्वसन्ध्यामा काठमाडांै र ललितपुरका सहकारीकर्मीले माग सम्बोधनका लागि दबाब दिन चैत २० गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।

यही चैत २३ देखि २४ गतेसम्म हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई मध्यनजर गर्दै राष्ट्रिय सहकारी महासंघको आग्रहमा अनसन स्थगित गरिएको अभियन्ता शर्माले बताउनुभएको छ ।

सन्दर्भ ब्याजदर खारेज गर्नुेपर्ने, तरलता संकट व्यवस्थापनका लागि राज्यकोषबाट सहयोग गर्नुपर्ने, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण स्थापना गर्नुपर्ने, ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चलअचल सम्पत्ति संस्थाको परिपत्रमार्फत् रोक्का गर्नुपर्ने अभियानको माग छ ।

त्यस्तै, सञ्चालक र कर्मचारीले त्रासमुक्त भएर संस्था सञ्चालन हुने वातावरण सिर्जना गर्नुपर्ने, सदस्यको बचत सुरक्षाको वातावरण बनाउन स्पष्टरूपमा सम्बोधन गर्नुपर्ने, ब्याजदर दाखिला गर्ने समय एक वर्ष थप गर्नुपर्ने, संस्था सञ्चालनका लागि आवश्यक वातावरण बनाउनुपर्ने, दुई वर्षको कुलिङ पिरियड घोषणा गर्नुपर्ने, सहकारीको नियमनका लागि सेकेण्ड टायर इन्स्टिच्युसन स्थापना गर्नुपर्ने माग रहेका छन् ।

यसैबीच राष्ट्रिय सहकारी महासंघको आइतबार सम्पन्न २०५औँ सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका वर्तमान समसामयिक विषयमा विभिन्न तीनबुँदे निर्णय गरेको छ ।

महासंघले ६६औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा वर्षभरिका लागि तय गरेको सहकारीको दिगोपनः स्वनियम र सुशासन भन्ने नारालाई सार्थक र सहकारीका समसामयिक मुद्दासमेत उजागर हुने गरी विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघ एवं सम्पूर्ण सहकारीलाई सप्ताहव्यापीरूपमा भव्यताका साथ दिवस मनाई सो जानकारी महासंघलाई दिन निर्देशन दिएको छ । साथै दिवसलाई समन्वयात्मकरूपमा मनाउन तीनवटै तहका सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

अर्थतन्त्र संकुचनसँगै सहकारी क्षेत्रमा देखिएको तरलता अभावका कारण सहकारी अभियानमाथि विश्वासको संकट सिर्जना हुँदै गएको सन्दर्भमा सहकारी बचाऔँ राष्ट्रिय अभियानतर्फबाट प्रस्तुत १३ बुँदे मागलाई आत्मसात गर्दै अभियानको साखसमेत जोगाउनुपर्ने सन्दर्भमा विषयगत संघ, सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघ तथा नियामक निकाय र सरोकारवाला सबैसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहलकदमी गर्न तीनसदस्यीय समाधान संयोजन समिति गठन गरेको छ । महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा गठित समितिका सदस्यमा महासंघका सञ्चालक शिव डाँगी र राजेन्द्र पौडेल रहनुभएको छ ।

साथै महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हालसम्म भएका सहकारी क्षेत्रका उपलब्धि र हाल देखा परेका समस्या र भावी कार्यक्रमसमेतलाई सम्बोधन गर्ने गरी यही चैत २३ देखि २४ गतेसम्म हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सफल पार्ने निर्णयसमेत गरेको महासंघका अध्यक्ष मीनराज कँडेलले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?