उपनिर्वाचनमा उपेन्द्र यादवलाई रोक्न जनमतले सार्‍याे ‘नयाँ अस्त्र’

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन मार्फत संसद छिर्ने तयारी गरिरहेका बेला तराई केन्द्रित अर्को दल जनमत पार्टीले भने नयाँ अस्त्र प्रयोग गर्ने भएको छ ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपा अध्यक्ष यादव लड्ने चर्चा चलिरहेको बेला जनमत पार्टीले भने माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउँदै चुनाव लडाउने भएको छ । जसपाले आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई गठबन्धनबाट समर्थन हुनुपर्ने बताउँदै आएको थियाे । तर,  जनमतको यो कदमले जसपालाई ठेस लाग्ने मात्र होइन १० दलिय सत्ता गठबन्धनमा समेत आँच आउनसक्ने छ ।

गत निर्वाचनमा एमालेसँगको सहकार्यमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएको उक्त निर्वाचन क्षेत्रमा तत्कालिन सत्ता गठबन्धनका तर्फबाट चुनावमा जम्मा तीन सय मतको हाराहारीमा पराजित हुनुभएका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्राएर जनमतले उपेन्द्रलाई रोक्ने अस्त्र तयार पारेको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने समेत बताउनु भएको छ । बुधबार माओवादी केन्द्रका नेता  कुशवाहलाई पार्टीमा प्रवेश गराउनका लागि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उहाँको जित हुने प्रवल सम्भावना रहेको पनि बताउनु भयो । उहाँले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमती सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गर्नु भयो ।

अध्यक्ष राउतले बैकल्पिक नयाँ राजनीतिक दलहरुलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गर्नु भयो । ठूला पार्टीहरु पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरुले पनि मिलेर सो चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष राउतले भन्नु भयो, ‘वैकल्पिक सबै राजनीतिक पार्टीहरुले के बुझ्नु पर्छ भने सत्यको पक्षमा उभिने हो । यदि हामीहरु यसरी नै विभाजित भईरहने हो भने माथिका ठूलो दलहरुले के गरिरहेका छन । तपाईहरुले बुझनै भएकै छ । उनीहरुको सिद्धान्त नमिले पनि पदकै लागि उहाँहरु जहिले पनि मिल्नु हुन्छ । तर बैकल्पिक राजनीतिक शक्तिहरुले चाँही किन सकिरहेका छैनन ? त्यो सोच्नु पर्छ । हामी जति पनि बैकल्पिक नयाँ राजनीतिक शक्तिहरु छौं । तिनीहरु मिलेर अव शिवचन्द्र कुशवाहजीलाई पछिल्लो निर्वाचनमा पनि उहाँले साँढे ३ सय झिनो मतले पराजित हुनु भएको थियो । उहाँले जित्ने प्रवल सम्भावना भएकाले त्यसमा अन्यथा भोट काटने काम नगरौं । यसरी हामी आफैं लडदै गयौ भने त ती पुराना शक्तिहरुले नै जित्छन । अत्याचार गरिराख्छन । त्यही भएर मेरो अनुरोध छ–बैकल्पिक शक्तिहरु, नँया शक्तिहरु जति पनि छन । उहाँहरुले जनमत पार्टीका साझा उम्मेदवारलाई नै समर्थन गर्नुहोस् । सत्यलाई विजयी गराउन लाग्नुहोस भनेर अनरोध पनि गर्न चाहन्छु । त्यहाँ यात जनमत पार्टी वा जनता समाववादी पार्टीको चर्चा छ । त्यहाँ जसपाले षडयन्त्र रचेको हो । जनमत त्यो षडयन्त्र तोडनका लागि हो । त्यहाँ सत्य र असत्यको दुईटा पक्ष मात्रै छ । अहिले पनि भएको सम्झौता अनुसार जनमत पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनु भनेको हो । त्यसलाई हामी बारा २ सँग जोडन पनि चाहन्नौं ।’

अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको जिकीर समेत गर्नु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?