मध्य फागुन बित्यो : फुल्यो गुराँस, भएन हिमपात

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीमा जंगलहरुमा माघ महिनादेखि फुल्न सुरु गरेर फागुनमा नै राताम्मे भएको छ ।

लालीगुराँस समय भन्दा अगाडि नै फुलेको भए पनि हिउँद घर्कीसक्दा समेत लेकाली क्षेत्रहरुमा मध्यफागुन वितिसक्दा पनि अझै हिमपात भएको छैन । गत आइतवार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी हिउँदे वर्षा समेत नहुँदा हिउँदे खाद्यान्नको उत्पादन घट्ने भएकोले कृषिकहरु चिन्तित छन् । मौसममा आएको परिवर्तनको कारण लालीगुराँस दुई महिना अगाडि नै फुलेको स्थानीयले बताएका छन् ।

धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्यालले चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघमै कोपिला लागेर मध्यफागुनसम्म जंगलै राताम्ये हुनेगरी ढकमक्क फुलिसकेको बताउनुभयो । उहाँका अनुसार दुइ महिना ढिलोगरी फुल्नुपर्ने लालीगुराँस दुई महिना अगाडि नै फुलेको हो ।
चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित तुल्याएको छ ।

अघिल्ला वर्षहरूमा चैत–वैशाख महिनामा मात्र लालीगुराँस फुल्ने गर्दथ्यो । यसवर्ष हिउँदमा हिमपात नभएर वर्षा कम भए पनि लालीगुराँस भने राम्रोसँग फुलेको छ ।

पश्चिमी म्याग्दीको मालिका,मंगला,धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण,रघुगंगा गाउँपालिकाका विभिन्न जंगलहरुमा लालीगुराँस फुलेर राताम्यै भएको स्थानीयले बताएका छन् । लालीगुराँस फुलेसँगै जङ्गल रातै देखिन थालेपछि स्थानीय रमाउन थालेका छन् ।
कृषि प्राविधिक जगत वानियाँल्े मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएको कारण पनि लालीगुराँस चाँडो फुलेको हुनसक्ने बताउनुभयो ।

उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा चैत दोस्रोदेखि वैशाख महिनासम्म लालीगुराँस फुल्ने समय हो ।
यसको बारेमा थप अध्ययन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

लालीगुराँससँग रमाउन लेक उक्लिदै पर्यटक

सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन्।

यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरू भएको छ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् ।
जिल्लाका जङ्गलमा माघदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए। यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्ले बताएका छन् ।
लालीगुराँस फुलेपछि वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।

“लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका ८९ वर्षिय वेदप्रसाद उपाध्यायले बताउनुभयो ।

लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विकले बताउनुभयो । “अहिले बेमौसममा नै काफल, तिजुलगायत जङ्गली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ।”
वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो।

विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।
उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् ।

उच्च हिमाली बस्तीमा पनि लामखुट्टे

गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भागमा पनि देखिन थालेको छ ।
जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै, पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुने भइरहेको छ । यसैगरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गल नै सुक्ने अवस्था आइरहेको छ ।

जलवायु परिवर्तनकै कारण नयाँनयाँ रोग देखिएका छन् । यसले विश्वकै लागि एक प्रमुख चुनौतीको विषय बनाएको र असर बढ्दै जाँदा नेपालका हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको छ ।
वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वीको कुनै पनि भागको मौसममा हुने परिवर्तन नै जलवायु परिवर्तन हो ।

पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइडजस्ता ग्यास घटबढ भएमा जलवायु परिवर्तन हुने मौसमविज्ञ बताउँछन्।

हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन र मिथेनजस्ता ग्यासको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भएर र हरितगृहको ग्यास बढ्न पुग्दा पनि जलवायु परिवर्तन हुन्छ ।

जलवायुमा भएको परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत नराम्रो असर देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञले बताएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?