नेपाल आउने पर्यटकलाई गाइड अनिवार्य

Read Time = 3 mins

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी अप्रिलदेखि लागू हुने गरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआइटी)’ बन्द गरेको छ । नयाँ व्यवस्थासँगै नेपालमा विदेशी पर्यटकले अनिवार्यरूपमा ट्रेकिङ कम्पनीमार्फत् गाइड लिएरमात्र पदयात्रामा निस्कनुपर्नेछ । नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यस्तो निर्णय गरिएको पर्यटन बोर्डले जनाएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा गरिनेछ ।

बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुनेलगायतका समस्यापछि नयाँ व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

सो सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक ट्रेड युनियनका प्रतिनिधिबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै एफआइटी बन्द गर्ने निर्णय गरिएको बोर्डको भनाइ छ । नयाँ निर्णयसँगै नेपालमा ट्रेकिङ गाइडको रोजगारीसाथै आयसमेत बढ्ने अपेक्षा गरिएको छ । बोर्डको तथ्यांकअनुसार नेपालमा ट्रेकिङ गर्न आउने कुल पर्यटकमध्ये ३० प्रतिशत एफआइटीवाला रहेकोमा उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो ।

कोरोनाअघि वार्षिक ४६ हजार हाराहारी पर्यटक एफआइटीका रूपमा आउने गरेका थिए । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति एक हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबै पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्नेछ । सार्क मुलुुकका नागरिकको हकमा यसअघि दुई सय रुपैयाँ लाग्नेमा अब एक हजार रुपैयाँ लाग्नेछ । उक्त निर्णयको पर्यटक श्रमिकले स्वागत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?