१४ दुर्घटनामा ६ को मृत्यु, १३ गम्भीर घाइते

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्यांकअनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाइ गनुका साथै सचेतनामूलक कार्यक्रमलाई जोड दिई राखे पनि दुर्घटना रोकिएको छैन ।

जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार विस्तार भइरहेका ठाउँहरूमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मीनबहादुर खड्काले बताउनुभयो । उहाँले ग्रामीण सडकहरू साँघुरो, धेरै कच्ची रहेको र त्यस्ता सडकमा तीव्र गतिमा यातायातका साधनहरू चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।

जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन् । ती सडकहरूमा चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘साउनयताको दुर्घटना हेर्दा धेरै नै हो, दुर्घटना न्यूनीकरणका लागि गाउँ–गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनुपर्ने देखिन्छ, त्यो हामीहरूले गरी पनि राखेका छौँ ।’
जिल्लामा गाडीहरूले क्षमताभन्दा बढी बोक्ने हुँदा दुर्घटनाको जोखिम बढी रहेको उहाँले बताउनुभयो । उहाँले आठ महिनाको अवधिमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधनलाई कारबाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजस्वसमेत संकलन गरेको बताउनुहुन्छ । कारबाही गरे मात्रै दुर्घटना नरोकिने खड्काको भनाइ छ ।

साउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन् । यस अवधिमा दुई हजार ९४९ मोटरसाइकल र ८०२ वटा ट्रिपर कारबाहीमा परेका छन् । ट्राफिक बागलुङको तथ्यांक हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँच लाख ४६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्यांक हेर्दा ८७० बस, दुई हजार तीन जिप, एक हजार १४३ ट्याक्टर र ३३ वटा अन्य सवारी साधानहरू कारबाहीमा परेका छन् । हालसम्म ट्राफिक नियमको उल्लंघन गर्ने ट्याक्टरबाट सात लाख ८५ हजार, जिपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँच लाख ८४ हजार ५०० रुपैयाँ र अन्य सवारी साधनबाट २० हजार रुपैयाँ संकलन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?