कमजोर सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा बढ्दो आकर्षण

Read Time = 7 mins

दाङ । दाङको बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकामा रहेका ८२ वटा सामुदायिक विद्यालयमध्ये ३७ वटा विद्यालयमा एक सय विद्यार्थी पनि नभएको पाइएको छ । तीन स्थानीय तहका सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी भर्ना भएको पाइएको हो ।

एक सयभन्दा कम विद्यार्थी हुने विद्यालय अधिकांश आधारभूत तहका छन् । सबैभन्दा धेरै बबईमा २० वटा विद्यालयमा एक सयभन्दा कम विद्यार्थी छन् । त्यसपछि शान्तिनगरमा १५ वटा विद्यालय र दंगीशरणमा पाँचवटा विद्यालयमा एक सयभन्दा कम विद्यार्थीले अध्ययन गरिरहेको पाइएको छ । सामुदायिक विद्यालयहरूले शैक्षिक सत्रको सुरुमा हुने विद्यार्थी भर्ना अभियानका क्रममा अभिभावकको ध्यान तान्न नसक्नु, संस्थागत विद्यालयमा आकर्षण बढ्नु र भौगोलिक कारणले ती विद्यालयमा विद्यार्थी भर्ना कम भएको हो । सरकारले शिक्षाका लागि वार्षिकरूपमा करोडौं रुपैयाँ खर्च गरे पनि विद्यार्थी र अभिभावकको आकर्षण बढेको छैन ।

दंगीशरण-७ का स्थानीय भुपबहादुर खड्काले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले क्षमता प्रदर्शन नगर्दा विद्यार्थी र अभिभावकको रोजाइ सामुदायिक विद्यालय हुन नसकेको बताउनुभयो । बबईमा रहेका ३४ सामुदायिक विद्यालयमध्ये २० वटा, शान्तिनगरमा रहेका ३३ विद्यालयमध्ये १५ र दंगीशरणमा रहेका १५ मध्ये पाँचवटा विद्यालयमा एक सय पनि विद्यार्थी छैनन् । शान्तिनगरमा शहीद वसन्त लांघाली प्राथमिक विद्यालय, मदरसा जयलुम अमुवा, शिव प्राथमिक विद्यालय सिमराती पोखरी, सरस्वती आधारभूत विद्यालय, प्राथमिक विद्यालय चापीकोट, रात्रि प्राथमिक विद्यालय रगैजा, राधाकृष्ण प्राथमिक विद्यालय खैरेनी, आधारभूत विद्यालय सुन्डवरी, जनशक्ति विद्यालय हात्तीखाल, प्राथमिक विद्यालय बाघखोर, प्राथमिक विद्यालय केराघारी, जनता प्राथमिक विद्यालय भलानेटी, सरस्वती आधारभूत विद्यालय जुम्लेकुला र आधारभूत विद्यालय बस्तीखोलामा सय विद्यार्थी पनि छैनन् ।

बबईका सरस्वती प्राथमिक विद्यालय जलजला, जनकल्याण प्राथमिक विद्यालय राताचौर, जनज्योति प्राथमिक विद्यालय ओदाले, शिवशक्ति प्राथमिक विद्यालय कालीतरा, सूर्यज्योति प्राथमिक विद्यालय बुटकेवा, जनविकास प्राथमिक विद्यालय घट्टेखोला, लक्ष्मी प्राथमिक विद्यालय कप्ताने, सिद्धिगणेश प्राथमिक विद्यालय सुन्दरखाल, जनशक्ति प्राथमिक विद्यालय विजयनेटा, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सीतापुर, जनज्योति प्राथमिक विद्यालय खयरभट्टी, सिर्जनशील प्राथमिक विद्यालय क्युरेनी, सूर्य बालकल्याण प्राथमिक विद्यालय पातीहाल्ना, लोककल्याणकारी प्राथमिक विद्यालय अम्रैखुटी, प्रगतिशील प्राथमिक विद्यालय पूर्वहापुरे, बबई प्राथमिक विद्यालय धोबाघाट, लोकतान्त्रिक प्राथमिक विद्यालय कञ्चनपुर, देउराली प्राथमिक विद्यालय बञ्चरे र लक्ष्मीजन प्राथमिक विद्यालय सुपारेमा पनि एक सय विद्यार्थी पुगेका छैनन् । यसैगरी दंगीशरणमा एक सय विद्यार्थी नहुने विद्यालयमा प्राथमिक विद्यालय मलई, सरस्वती प्राथमिक विद्यालय मिरौली, रात्रि प्राथमिक विद्यालय बैबाङ, ज्ञानज्योति प्राथमिक विद्यालय खलुवाचिस र रात्रि प्राथमिक विद्यालय सिम्ठाना हुन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन तथा अभिभावकलाई आकर्षण गर्न वार्षिकरूपमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । हरेक वर्ष विद्यार्थी बढ्नुको सट्टा घट्दो अवस्थामा पुगेका छन् । ती कार्यक्रमले अभिभावकलाई आकर्षण गर्न नसकेको देखिएको छ । आधारभूत तहमा पढाइ सुधार गर्न र विद्यार्थीलाई आकर्षण गर्नका लागि खाजा कार्यक्रम तथा छात्रवृत्तिका कार्यक्रमले समेत आकर्षण गर्न सकेका छैनन् । जसले गर्दा अभिभावकले आफैं शुल्क तिरेर संस्थागत विद्यालयमा आफ्ना सन्तानलाई पढ्न पठाउँछन् । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले विद्यार्थी अनुपातमा शिक्षकको सरुवा गर्ने र शैक्षिक सुधारका लागि प्रयास गरिरहेको बताउनुभयो । कतै धेरै शिक्षक हुने तर विद्यार्थी नहुने, कतै विद्यार्थी धेरै हुने शिक्षक थोरै हुने समस्या समाधान गरेर विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी मिलान गरिरहेको अध्यक्ष गिरीले बताउनुभयो ।

शिक्षकको सरुवा गर्नका लागि विद्यालय व्यवस्थापन समितिको सहमति तथा शिक्षकको समेत मञ्जुरी हुनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले स्वीकार गर्नुभयो । यस्ता कानुनी जटिलतालाई समाधान गरेर जसरी भए पनि स्थानीय सरकारले शैक्षिक सुधार गर्न सक्नुपर्ने बताउनुभयो । यसका लागि शिक्षा युवा तथा खेलकुद शाखामार्फत् योजना निर्माण गरेर समस्या समाधान गरी गुणस्तरीय शिक्षाका लागि प्रयास जारी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?