कथित नागरिक आन्दोलन : अलोकतान्त्रिक ऐँठन

Read Time = 17 mins

✍️ जगदीश भट्टराई

प्रधानमन्त्री प्रचण्डलाई पाँच हजार नेपालीको हत्याराका रूपमा न्यायपालिकाको कठघरामा उभ्याउँने अभिप्रायका साथ सुरु भएका गतिविधि राष्ट्रपतिको निर्वाचन बिथोल्ने प्रयास थालेको आभास भएको छ । दुर्गा प्रसाईंका नामबाट गरिएका हरेक शहर केन्द्रित विरोधका कार्यक्रमले वित्तीय विचलन ल्याउने प्रायः निश्चित जस्तै देखिन्छ । नागरिक आवाजको प्रतिनिधित्व गर्ने नाउँमा बैंकले ठग्यो भन्ने आहाल र विहालका बीच बैंक तथा वित्तीय संस्थामाथि नकारात्मक प्रभाव पारेर मुलुकको आर्थिक पाटोलाई अनर्थको झन्झट्युक्त समस्या निम्त्याइउन थालिएको छ ।

राजा आए, देशका सबै प्रजा सुखी हुन्छन् भनेर अदृश्य स्वार्थपूर्तिका पहाडहरू खडा गर्ने प्रयास हुनु आफैंमा लोकतन्त्रमाथिको एकपछि अर्का प्रहार थालिएका संकेतहरू हुन् । यसले अनिष्ठबाहेक अरू कुनै उपलब्धि प्राप्त गर्न सक्दैन । निर्विकल्प लोकतन्त्रका पक्षमा उभिएका नेपाली सोझासाझा जनताका आवाजहरू बोल्ने नाउँमा केही निश्चित व्यक्तिहरू अहिले मुलुकका लागि ऐँठन बनेर अगाडि आउने प्रयासमा तल्लिन देखिन्छन् । उनीहरू प्रयोग भए कि स्वफुर्त रूपमा अगाडि आएका हुन् भन्ने विषय गहन छ ।

सत्तामोह र गैरराजनीतिक चरित्रका कारण सिर्जित खलपात्रहरूले अदृश्य रूपमा दुर्गा प्रसाईं र कतिपय उनको अभियानमा संलग्न नेताहरूलाई प्रयोग गरिरहेका छन् । अहिले उनीहरू नेताको आडमा यहाँका राजनेताहरूलाई खलपात्रको पगरी गुताइदिने लाइनबाट अगाडि बढेको स्पष्ट भान हुन्छ । गत दुई सातादेखि विभिन्न खालका राजनीतिक तिकडमयुक्त खेल मञ्चन भएको देख्दा मै हुँ भन्ने दलहरूको नेतृत्व र उनका दिनचर्याहरू खलपात्रका रूपमा चिनाउने दुश्प्रयासले निर्विकल्प लोकतन्त्रका कलिला मुनाहरूमा प्रहार गर्न खोजेको बुझिन्छ ।

आफूलाई लोकतन्त्रको मसिहा मान्ने एमाले, लोकतन्त्र फालेर राजतन्त्र ल्याउँछु भन्दै हिँड्ने प्रसाईंलाई सम्हाल्न सकिरहेको देखिँदैन । अर्कोतर्फ प्रसाईंका हरेक गतिविधि नजिकबाट नियालिरहेको एमाले पनि आफ्ना केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई मौन समर्थनबाहेक केही गर्न सकिरहेको छैन ।

यसरी सिर्जित समस्याको समयमै समाधान खोज्नुको साटो प्रायः ठूला दलका नेताहरू अहिले राजनीतिका शिखण्डीकै भाँती दिग्भ्रमित भइरहे भने देशमा छिट्टै अराजनीतिक समस्या सिर्जना हुने खतरा बढ्दै गएको छ । जो आन्दोलनमा होमिएका छन्, नागरिकका नाममा आन्दोलनको मोर्चामा छन्, उनीहरू नैतिकता र राजनीतिक चरित्रलाई अन्योलको कर्मकाण्डले पखाल्ने विगतका इतिहासलाई पुनरावृत्ति गर्ने नौला शैलीहरू खोजिरहेका छन् । त्यस कारण पनि मानव अधिकारका घटनालाई अगाडि बढाएर मुलुकको न्यायका पालकहरूलाई फिरंगी जस्तै बनाउने प्रयास भइरहेको आभास हुन्छ ।

न्याय सम्पादनको परीक्षा लिएजस्तै गरेर एकपछि अर्को मन्त्री र प्रधानमन्त्री स्वयंमाथि प्रहार गर्ने मैदानका रूपमा न्यायपालिकालाई प्रयोग गर्ने कोसिस किमार्थ लोकपक्षीय हुँदैन । संघ र प्रदेशको निर्वाचन परिणामपछि पुस १० गते लागेको पूर्णविरामलाई ओलीको क्षद्मतापूर्ण प्रदर्शनको मञ्चनबाट फागुनको दोस्रो सातासम्म आइपुग्दा नेपाली राजनीतिका कतिपय खलपात्रहरू गैरराजनीतिक महानाट्यशालाको मञ्चनका महत्वपूर्ण पात्रका रूपमा चिनिँदै गएका छन् । देखाउने र चपाउने थरी-थरीका दाँतको राम्रोसँग परीक्षण गर्ने नाउँमा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंजस्ता व्यवसायीलाई केशरजंग शैलीबाट फ्रन्टलाइनमा आउने वातावरणको विकास लोकतन्त्र मास्ने माध्यम बनाउन खोजिएको हो ।

यस दिवा सपनालाई चरितार्थ गर्ने प्रयास कुनै हालतमा पनि सफल हुन सक्दैनन् । अहिलेको चतुर राजनीतिक खेलाडी एमालेभित्र अहिले आएर तिमी रोएजस्तो गर म भुलाए जस्तो गर्छु भन्ने उखानलाई प्रसाईंका चरित्रले स्पष्ट पार्ने प्रयास गरेको आभास हुन्छ । किनकि, आपूmलाई लोकतन्त्रको मसिहा मान्ने एमाले, लोकतन्त्र फालेर राजतन्त्र ल्याउँछु भन्दै हिँड्ने प्रसाईंलाई सम्हाल्न सकिरहेको देखिँदैन ।

अर्कोतर्फ प्रसाईंका हरेक गतिविधि नजिकबाट नियालिरहेको एमाले पनि आफ्ना केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई मौन समर्थनबाहेक केही गर्न सकिरहेको छैन । केपी ओलीको आत्मघाती चालको महाजालमा नयाँ गठबन्धन फेरि पनि स्खलन हुने हो कि भन्ने चिन्ता र चासो सर्वत्र गाईगुई अवस्थाबाट अगाडि बढेको छ । यस्तै खालका अनेकौं राजनीतिक चरित्र र पात्रहरूको गाईगुईका कारण पनि पछिल्लो समय राजनीतिक संकट फैलिने त्रास बढेको आभास हुन्छ ।

नेपाली राजनीतिका चतुर खेलाडी ओलीले आफ्नो चलाखीको फाइदा लिन नपाउँदै अर्का मौन खेलाडी शेरबहादुर देउवाले नराम्रोसँग बदला लिएको रागले ओली आफैं षड्यन्त्रको पिंजडाबाट उन्मुक्तिका लागि छट्पटाइरहेका छन् । राजनीतिक खेलभित्रको चक्रव्यूहमा ओली अभिमन्युसरह आफैं फसेका कारण बाहिर निस्कने पीडाबोध गरिरहनुलाई अन्यथा मान्नै पर्दैन । पुस १० गते दुई बजे दिउँसो एमाले अध्यक्ष केपी ओलीले फोन वार्ता गर्दै ‘देउवा जी, पाँच बजे, म तपार्इं प्रधानमन्त्री हुने गरी एमाले सांसदहरूको हस्ताक्षर लिएर आइपुग्छु, भन्ने झुटो आश्वासनको पदलाभमा देउवाले मौन समर्थन गरेरै भए पनि चोरिएका प्रचण्डलाई आफूप्रति आकर्षित गर्ने कार्यमा दत्तचित्त भएर लागिरहे यसको बदलाको दोस्रो अध्यायका लागि ओली अहोरात्र खटिरहेका छन् ।

पाँचदलीय गठबन्धनका एक प्रभावशाली नेतालाई चोरेर लगेका ओली अहिले त्यसो किन गरिएछ भनेर पश्चाताप गरिरहको देखी नसहनेहरूको राजनीतिक मायाजालको पासो यस पटक फेरि बलियो भयो भने आठ दलको तर्फबाट प्रस्तावित राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले चढ्न सुरु गरेको सिँढी कमजोर हुन सक्छ भन्ने कुरालाई आठदलका नेताहरूले समयमै मनन् गर्नुपर्ने बेला पनि यही हो । किनकि एमाले अर्को केशरजंगका रूपमा दुर्गा प्रसाईंलाई सिंगार्दै अगाडि बढेको छ । एमालेका लागि अहिले आफ्नो टाउँको फुटेपछि मितको टाउको बेलसरी भन्ने उखान चरितार्थ भएको छ ।

हिजोको ओली-प्रचण्ड संयोग, ६२ दिन नपुग्दै वियोगान्तमा परिणत हुनुको पीडाबोधलाई एक आपसमा प्रतिशोधका छुद्रतापूर्ण शैलीहरू सुरु भएका कारण केपी ओलीले अर्को बदलाको दाउपेच रच्न सक्ने प्रसस्त सम्भावना अद्यपि विद्यमान छन् । यस्ता विभिन्न खाले प्रवृत्तिका कारण मुलुकको राजनीतिक धरातल खलबल्याएको छ । राजनीतिक कार्यकौशलताको हिसाबले जस्तो जे भए तापनि नेपाली भूमिमा केही समयदेखि भइरहेको राजनीतिक मञ्चनले जनताको भलो हुने देखिँदैन । सरकार बन्नु अथवा मन्त्री फेरिनुभन्दा पनि सरकारले दिने डेलिभरी कस्तो हुन्छ ? भन्ने प्रश्नलाई मनमनमा गुम्स्याएर राखेका नेपाली जनताले राम्रा दिन आउँलान् भनेर आशा गर्नेबाहेक केही होलाजस्तो लाग्दैन ।

मन्त्री बनेसँगै दुनो सोझ्याउँला भन्नेमात्रै चरित्रको विकास भएका कारण सरकार र त्यसको नेतृत्व फेरिनुले खासै अर्थ राख्दैन । जनताले के पाए, अनि के पाउँछन् ? भन्ने प्रश्नको जवाफ आएको खण्डमा देशले लोकतन्त्र प्राप्त गरेको सार्थकता रहन्छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान आकर्षित हुनेबाहेक केही हुन सक्दैन । स्वतन्त्रका नाममा अलाप-विलापमा परेका रवि, अनि उनको अराजनीतिक अभिव्यक्तिका कारण लागेको घाउमा खाटा बस्न नपाउँदै घाउ बल्झिने खतराका कारण पनि मुलुकको राजनीतिक धरातलहरू खुकुला हुँदै गएका छन् ।

आम मतदाता र समग्र नेपाली नागरिकहरूको न्याय, सुरक्षा र राज्यसत्ता सबैबाट विश्वास गुम्ने खतरा दिनप्रति दिन बढिरहेको आभास हुन्छ । विक्रम सम्वत् २०४७ सालदेखि हालसम्म कामै भएन भन्नेभन्दा पनि जुन रूपमा हुनुपर्ने थियो त्यस रूपमा नभएको थयार्थता हो भन्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेनु भनेकै लोकतन्त्रप्रतिको वितृष्णा उत्पन्न गर्नेहरू मजबुत हँुदैजाने क्रम बढेको मान्न सकिन्छ । नेपालसँग जोडिएका दुई मुलुक हिन्दुस्तान र चाइनाका विभिन्न स्वार्थपूर्ण शैलीका कारण पनि हामी नेपालीहरू हाम्रो सुन्दर देश नेपाललाई खेल मैदान बनाउन बाध्य भयौं भन्ने कुराको स्वीकारोक्ति नहुँदासम्म नेपालमा राजनीतिक स्थिरता आउन सक्दैन ।

राजनेताको अभावले गर्दा मुलुक झन् अप्ठ्यारो अवस्थामा पुग्ने प्रायः निश्चित जस्तै भएको वर्तमान अवस्थामा सरकार परिवर्तन गरेर या विश्वासको मत दिएर/लिएरभन्दा पनि जनताका न्यूनतम आवश्यकताको परिपूर्तिमा लाग्ने बेला आएको छ । कांग्रेस-माओवादी नेतृत्वको सरकारमा घुस्रिएरभन्दा पनि दह्रोसँग छाती खोलेर जनताका पक्षमा काम गर्छौं र सरकारले दिने डेलभिरिमा कुनै कमी आउन दिँदैनौं भन्ने खालको वातावरण सिर्जना हुने तौरतरिकाबाट सरकारमा जाँदा राम्रो होला । सरकारमा सत्ताको उपयोगभन्दा पनि कांग्रेस सत्तामा जाँदा जनताका न्यूनतम आवश्यकता परिपूर्ति गर्ने कर्मलाई प्राथमिकता दिन्छ भन्ने खालको वातावरण बन्नुको अर्को विकल्प छैन ।

राजनेताको अभावले गर्दा मुलुक झन् अप्ठ्यारो अवस्थामा पुग्ने प्रायः निश्चितजस्तै भएको वर्तमान अवस्थामा सरकार परिवर्तन गरेरभन्दा जनताका न्यूनतम आवश्यकताको परिपूर्तिमा लाग्ने बेला आएको छ । कांग्रेस-माओवादी नेतृत्वको सरकारमा घुस्रिएरभन्दा पनि जनताका पक्षमा काम गर्छौं भनेर सरकारमा जाँदा राम्रो होला ।

यदि त्यसो भएन भने फेरि पनि जनताले परिवर्तनको आभाष गर्ने छैनन् र कांग्रेसले संसदमा ठूलो दल भएको भन्ने कुरालाई दर्शाउन सक्ने छैन । हरेक कोणबाट कांग्रेस जतिबेला सरकारमा गयो त्यतिबेला उसले जनताका महत्वाकांक्षालाई आत्मसाथ गर्न सकेन भन्ने आरोपलाई यसपटक कर्म गरेर खण्डन गर्नुपर्ने हुन्छ । आखिर समयको रफ्तारलाई बुझेर, सरकारका मन्त्रीहरूलाई पनि बुझाउनुपर्ने हुन्छ । केही समयका लागि भए पनि कांग्रेसका महामन्त्री गगन थापा स्वास्थ्यमन्त्री हुँदा गरेका राम्रा कामको सदैव प्रशंसा भइरहँदा अबका निर्वाचनमा गगनले गरेका राम्रा कामको मात्रै माला जपेर पुग्दैन । त्यसका लागि कैयौं काम गर्नुपर्ने छ ।

यसर्थ कांग्रेसका लागि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने अवसर र चुनौतीमध्ये चुनौतीका पहाडहरू अग्ला–अग्ला भएका छन् भने अवसरको खण्ड समतलमै बसिरहेको भान हुन्छ । त्यस कारण पनि योजना, कार्यदिशा अनि लक्ष्य र प्रगतिका हरेक क्षणलाई उपलब्धिका रूपमा अँगालो मार्छौं भन्ने सोचका साथ अगाडि बढ्नु नै यस पटकको सार्थकता हुनेछ । सरकारमा गएका बेला कांग्रेसको संगठन कमजोर हुँदै गरेका इतिहासका अनुभवलाई मार्गदर्शनका रूपमा अँगाल्नु पनि कांग्रेसका लागि अर्को चुनौती हो ।

यी सबै कुरामा सबैको ध्यान जान सक्यो भनेमात्र देशले कांग्रेस ठूलो पार्टी भएको सार्थकता प्राप्त गर्छ । अन्यथा नेपाली राजनीतिमा देखिएको राजनेताहरू खलपात्र भएको दूर्दशा कायम रहिरहनेबाहेक केही हुन सक्दैन । नेपाली राजनीतिमा विभिन्न समय र कालखण्डमा अनेकौं खलपात्रहरूको चर्चा परिचर्चा चलेको इतिहासलाई कांग्रेसले यसपटक दोहोर्‍याउनु हुँदैन । एमाले सधैं कांग्रेसलाई कसरी सक्ने भन्ने खेलमा लागिरहेको कुरालाई अन्तरआत्मादेखि नै बुझेर समयसापेक्ष काम गर्नुको विकल्प छैन । (राजनीतिक विश्लेषक भट्टराई नेपाली कांग्रेस गुल्मीका युवा नेता हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?