स्ववियु निर्वाचनका तरंग

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 16 mins

स्ववियु निर्वाचन विद्यार्थीको नेतृत्व विकास गर्नका लागि हो । विद्यार्थी वर्गको बौद्धिक एवं शारीरिक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दै क्याम्पस तथा विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूका हकहितमा क्रियाशील रहनु विद्यार्थी युनियनहरूको कर्तव्य हो । विश्वविद्यालयहरूको प्राज्ञिक उन्नयनमा सहयोगी संस्थाका रूपमा आफूलाई स्थापित गर्दै नेपालको उच्चशिक्षामा देखिएका विकृतिका विरुद्ध संघर्षशील रहनु विद्यार्थी युनियनको जिम्मेवारी हो । खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भन्ने मान्यता अनुरूप विद्यार्थीका समस्या विद्यार्थीलाई नै थाहा हुन्छ र त्यसको समाधानका उपाय पनि विद्यार्थीहरूबाटै निस्कन सक्दछ भन्ने मान्यता अनुरूप स्वतन्त्र विद्यार्थी युनियनहरू स्थापना गरिएका हुन् ।

चैत ५ गतेका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचनको मिति तय गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी संगठनहरूले आ-आफ्ना संघ र संगठनहरू क्याम्पसहरूमा गठन गरिएका निर्वाचन समितिमा दर्ता गराउने कार्य सम्पन्न गरिसकेका छन् । बाँकी कार्यक्रम प्रक्रिया बमोजिम अघि बढिरहेका छन् । क्याम्पसहरूको पर्यवेक्षण गर्दा विद्यार्थीहरूमा मात्र नभई उच्चशिक्षा प्रदानार्थ स्थापित निकायहरूमा संलग्न सबैमा उत्साह छाएको देखिन्छ ।

पञ्चायतकालभरि स्ववियुहरू तानाशाही राज्यव्यवस्था पञ्चायतका विरुद्ध संघर्षशील रहे । देशभरका विद्यार्थीहरूमा स्वतन्त्रताको चेतना भर्ने काम स्ववियुहरूले गरे । प्रजातन्त्रको बिगुल राजनीतिक दलहरूले फुकेको भए तापनि प्रजातन्त्रका लागि आहृवान गरिएको संघर्षको मैदानमा अग्रणी मोर्चामा विद्यार्थीहरू नै रहे । निश्चय नै विद्यार्थीहरू निरंकुशताका विरोधी हुन्छन्, स्वतन्त्रताका पक्षधर हुन्छन् र लोकतन्त्रका हिमायती हुन्छन् । विद्यार्थीहरूकै कारण विसं २०४६ मा प्रजातन्त्रको प्राप्ति भयो भने विसं २०६३ मा नेपालमा गणतन्त्र आयो । त्यसपछि सत्तामा रहेका राजनीतिक दलहरूले स्ववियुको भूमिका समाप्त भएको अनुभव गर्नाले यो छायाँमा पर्दै गएको थियो तर निर्वाचनको घोषणासँगै देशैभर उत्साहको नयाँ लहर छाएको पाइन्छ ।

स्ववियु निर्वाचन ओझेलमा पारिनुलाई किमार्थ उचित मान्न सकिँदैन । विद्यार्थीहरूलाई संगठित हुन दिए सत्तामा रहेकालाई, विश्वविद्यालयका पदाधिकारीहरूलाई र क्याम्पसका प्रमुखहरूलाई अप्ठ्यारो पार्दछन् भन्ने मात्रै सोचाइ राखियो तर स्ववियु हुँदाका बखत भए गरेको रचनात्मक कार्यहरूलाई गौण गरियो ।

स्ववियु निर्वाचन यसरी ओझेलमा पारिनुलाई किमार्थ उचित मान्न सकिँदैन । विद्यार्थीहरूलाई संगठित हुन दिए सत्तामा रहेकालाई, विश्वविद्यालयका पदाधिकारीहरूलाई र क्याम्पसका प्रमुखहरूलाई अप्ठ्यारो पार्दछन् भन्ने मात्रै सोचाइ राखियो तर स्ववियु हुँदाका बखत भए गरेको रचनात्मक कार्यहरूलाई गौण गरियो । क्याम्पसमा विभिन्न कार्यक्रममा संलग्न भई सक्रिय हुने विद्यार्थी र निष्क्रिय विद्यार्थीहरूका बीचमा भएको विभिन्न क्षमताको अन्तरलाई केलाउने प्रयास गरिएन । त्यसैले स्ववियुको सान्दर्भिकता हराउँदै गएको ठानियो तर अहिले आएर बल्ल त्यसलाई सच्याउने प्रयास गरिएको छ ।

स्ववियु निर्वाचन विगतमा प्रत्येक दुई वर्षमा एक पटक हुने गर्दथ्यो । यो विश्वविद्यालयको नियमित कार्यक्रमअन्तर्गत नै पर्दथ्यो । त्यसैले विगतमा स्ववियु निर्वाचन आउँदा विद्यार्थी वर्गमा मात्रै केही रापताप देखिने गरेको भए तापनि विसं २०६५ पछि हुन नसकेको निर्वाचन यस पटक हुने तयारी भएकाले सर्वत्र चासो बढेको पाइन्छ । पञ्चायतकालमा समेत नियमितता पाएको निर्वाचन गणतन्त्रकालमा भने ओझेलमा परेको थियो तर यी दुई विश्वविद्यालयले निर्वाचन घोषणा गरेसँगै तरंग आएको छ ।

केही अघिसम्म फागुन ५ गते कर्मचारी संघको चुनाव, फागुन १० गते प्राध्यापक संघको निर्वाचन र फागुन १४ गते स्ववियु निर्वाचन भनी तोकिएकै थियो । विधानमा स्ववियुको कार्यकाल एक वर्षको भनिएको भए तापनि व्यावहारिक कठिनाइका कारण दुई-दुई वर्षमा गराइन्थ्यो । प्राध्यापक संघहरूमा बेथिति भित्रिएर चुनाव कहिले हुन्छ कुनै निश्चय नै हुन छाडेको धेरै भइसक्यो भने स्ववियुको पनि १४ वर्षमा एकपटक चुनाव हुन थालेको छ । आवधिक निर्वाचन नै लोकतन्त्रको सर्वोत्तम गहना हो तर गणतन्त्रकालमा यही कुरा नै हराएर गएको छ ।
स्ववियुहरूले क्याम्पसहरूमा वादविवाद एवं वक्तृत्वकला प्रतियोगिताहरूको आयोजना गर्दथे । यस्ता प्रतियोगिताहरूले विद्यार्थीको वाक्कलाको विकास हुने गर्दथ्यो । समय समयमा विभिन्न खेलहरूको आयोजना विद्यार्थी युनियनहरूले गर्दथे जसले विद्यार्थीहरूको शारीरिक क्षमतामा विकास गर्न सहयोग गर्दथे । हाजिरी जवाफ, हिज्जे प्रतियोगिता जस्ता कार्यक्रमले विद्यार्थीमा पढ्ने बानीको विकास गराउँथे । क्याम्पसहरूका जन्म दिवसमा स्ववियुहरूले नै विविध कार्यक्रमको आयोजना गरी क्याम्पसलाई सहयोग पुर्‍याउँथे ।

जब स्ववियुको निर्वाचन रोकियो तबदेखि क्याम्पसहरूमा यस्ता कार्यक्रमहरू नै हुन छाडेका छन् । क्याम्पसहरूमा राजनीतिक दलहरू पिच्छेका विद्यार्थी संगठनहरू सक्रिय हुन थालेका छन् । एक संगठनले अर्को संगठनको अस्तित्वलाई कम महत्व दिने भएकाले ती संगठनहरूसँग समन्वय गरेर कार्य गर्न क्याम्पस प्रशासनहरूलाई समेत हम्मे-हम्मे पर्न थालेको छ । विद्यार्थीहरूको आवाज उठाउने संगठन स्ववियुको निर्वाचन पर धकेल्दै एकीकृत आवाजलाई मत्थर बनाउने प्रयास त गरियो तर त्यसले झन् प्रत्युत्पादक काम गरिरहेको थियो । यसैलाई महसुस गरेर पनि हुन सक्दछ ढिलै भए पनि स्ववियु निर्वाचनको घोषणा गरिएको छ ।

आम सर्वसाधारणमा स्ववियु राजनीति गर्ने संस्था भन्ने परेको पनि हुन सक्दछ । जतिबेला पढाइभन्दा स्वतन्त्रता ठूलो थियो त्यतिबेला स्ववियु त्यतातिर केन्द्रित भएका पनि हुन सक्दछन् तर अब समय बदलिएको छ । गणतन्त्रमा अब राजनीतिक संघर्षको जिम्मेवारी विद्यार्थीका काँधमा नरहनै पर्दछ । विद्यार्थीहरूको भूमिका क्याम्पसलाई कसरी पढ्ने र पढाउने कार्यमा केन्द्रित गराउने, विश्वविद्यालयलाई अध्ययन अध्यापनको गुणस्तर अभिवृद्धिमा बाध्य गराउने र राज्यलाई उच्चशिक्षाका कमी कमजोरी हटाउँदै विश्वव्यापी मैदानमा प्रतिस्पर्धी उत्पादन गर्न सक्षम बनाउनका लागि घच्घच्याउनेतर्फ डोर्‍याउने समय आएको छ र अबका स्ववियुहरू त्यतैतर्फ तल्लीन हुने विश्वास पनि गरिएको छ ।

विगतका केही क्याम्पसका स्ववियुहरूले रचनात्मक कामहरूलाई पञ्छाएर विकृतिपूर्ण कार्यहरूमा आफूलाई संलग्न नगराएका पनि होइनन् । क्याम्पस प्रमुख पिट्नेदेखि लिएर भौतिक पूर्वाधारहरूको विनाशमा स्ववियुकै पदाधिकारीहरू नलागेका पनि होइनन् । सम्पूर्ण विद्यार्थीहरूका लागि विनियोजित बजेट स्ववियुले निकाशा गरेर केही सीमित विद्यार्थी नेताहरूले बाँडेर नखाएका पनि होइनन् । त्यसैका कारण आमजनमानसमा विद्यार्थी संगठनहरूप्रति नकारात्मक धारणा रहेको छैन भन्न पनि सकिँदैन । त्यस्ता एकादुई स्ववियुहरूलाई हेरेर समस्त स्ववियुलाई एउटै डालोमा हाल्नु हुँदैन भन्नेतर्फ सबैले सोच्न जरुरी छ । स्ववियु राम्रो उद्देश्य राखेर स्थापित भएको संस्था भएका कारण कुनै बेला खराब नेता आए पनि समय आएपछि असल पनि आउँछन् भन्ने ठान्नुपर्दछ ।

क्याम्पसहरूले विभिन्न निर्माणकार्यका लागि आहृवान गर्ने बोलपत्र, टेन्डरहरूमा विद्यार्र्थी युनियनहरूको अनावश्यक चासो र हस्तक्षेपले गर्दा पनि यसप्रतिको चाहना हराउँदै गएको थियो । कतिपय स्ववियुका कारण सम्पूर्ण स्ववियुहरूको मर्यादामै आँच पुगेकाले स्ववियु निर्वाचनको सान्दर्भिकता हराएको जस्तै भएका बेला १४ वर्षपछि चुनाव हुँदैछ । यसअघि ६५ सालमा पनि सबै क्याम्पसमा चुनाव हुनसकेको थिएन । केही थोरै क्याम्पसहरूमा मात्र चुनाव भएको थियो । ढिलो गरेर हुन लागेको निर्वाचन सम्पन्न गराउन प्रयासरत हुनुपर्ने दायित्व क्याम्पसहरूमा संलग्न सबैको छँदैछ तर सबैभन्दा बढी भूमिका विद्यार्थीहरूको नै हुन्छ । विद्यार्थीहरूले वातावरण बिग्रन नदिए विद्यार्थीहरूले ठूलो संघर्ष गरेर पञ्चायतकालमा स्थापना गरेको संस्थाले निरन्तरता पाउने सम्भावना बढेको छ ।

कतिपय स्ववियुका कारण सम्पूर्ण स्ववियुहरूको मर्यादामै आँच पुगेका कारण स्ववियु निर्वाचनको सान्दर्भिकता हराएको जस्तै भएका बेला १४ वर्षपछि चुनाव हुँदैछ । यसअघि ६५ सालमा पनि सबै क्याम्पसमा चुनाव हुन सकेको थिएन । केही थोरै क्याम्पसहरूमा मात्र चुनाव भएको थियो ।

विद्यार्थीहरूमा अरूको भन्दा निश्चय नै बढी जोश हुन्छ । बुढापाकाहरूको भन्दा विद्यार्थीहरूको आवेग बेसी हुने कुरामा कुनै शंका छैन । उत्तेजना बढी हुने उमेर यही विद्यार्थी उमेर नै हो । यस्ता कुराहरूलाई समय अनुसार संयममा राख्न सक्ने विद्यार्थी भविष्यमा गएर नेतृत्वदायी भूमिकामा पुगेको देखिएको छ भने एकछिनको वाहवाहीलाई नै सफलता ठानेर आफूलाई नियन्त्रित गर्न नसक्नेहरू पछि परेकापर्‍यै पनि छन् । त्यसैले होस् पु¥याएर जोशलाई प्रयोग गरी यो निर्वाचन सफल पार्न सके विद्यार्थीहरूको हकहितमा एक उपयुक्त काम हुनसक्ने देखिएको छ ।

पछिल्ला केही दिनका उदाहरण हेर्ने हो भने कतिपय ठाउँमा विद्यार्थी संगठनहरूमा निर्वाचन आचारसंहिता तोड्ने होडबाजी देखिएको छ । जसले जति आचारसंहिता तोड्यो विद्यार्थीको समर्थन उति नै बढी पाइन्छ भन्ने मान्यता राख्ने संगठनहरू पनि देखिएका छन् । असल विद्यार्थीहरूले नियममा रहने विद्यार्थी संगठनलाई रुचाइरहेका हुन्छन् भन्ने ती संगठनहरूले ख्याल गर्न सकेको देखिँदैन । यस्ता कार्य हुँदै गए भने स्ववियु निर्वाचन बिथोलिने वातावरणको सिर्जना हुनपुग्दछ र हात लाग्नै थालेको उपलब्धि गुम्न सक्दछ ।

निर्वाचन समितिमा रहेका एकादुई प्राध्यापक या कर्मचारी राजनीतिक निकटताका कारण पक्षपाती हुँदै हुँदैनन् भन्ने त छैन तर अधिकांश निष्पक्ष नै हुन्छन् । त्यसैले निर्वाचन समितिलाई सहयोग गर्दै आचारसंहिताको पूर्णपालनाका साथ विद्यार्थी संगठनहरू अघि बढ्नु अहिलेको आवश्यकता हो । निर्वाचनमा हार व्यहोर्ने निश्चित प्रायः भएका संगठनहरू निर्वाचन बिथोल्न सक्रिय हुन सक्दछन् । सबैले चनाखो भई घोषित निर्वाचन सम्पन्न गराउनुमा नै विद्यार्थीहरूको हित देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?