नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएकोमा मिश्रित प्रतिक्रिया

हिमालय टाइम्स
Read Time = 3 mins

टीका खतिवडा
इलाम । एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको मिश्रित प्रतिक्रिया आएको छ । एमालेले उहाँको उचाइ अझ बढ्ने बताएको छ । नेम्वाङले संविधान निर्माणमा गरेको भूमिकाको योगदानलाई मध्यनजर गर्दै उम्मेदवार बनाइएको एमालेले बताउँदै आएको छ । उहाँलाई उम्मेदवार बनाउनु सामान्य प्रक्रिया भएको नेकपा एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीको भनाइ छ । उहाँले आमनेपाली नागरिकले मन पराएकाले दलले उम्मेदवार बनाएको जिकिर गर्नुहुन्छ । मूलधारका केही दलले साथ दिएको भए जित्न सक्ने भए पनि अन्य दलहरू मिलेर पछि पारेको उहाँको भनाइ छ । पार्टीगत सिष्टमले राष्ट्रपति चुन्ने प्रक्रिया भएकाले नेम्वाङले हार व्यर्होनुपरे पनि आम नागरिकले मतदान गर्ने सिष्टम भए उहाँकै जित हुने उपसचिव सुवेदी बताउनुहुन्छ ।

यता, नेपाल आदावासी पत्रकार महासंघ फोनिजका अध्यक्ष राम योङ्हाङले भने हार्ने निश्चित भएपछि मात्र नेम्वाङलाई राष्ट्रपति बनाएको प्रतिक्रिया दिनुभयो । देवराज घिमिरेलाई सभामुख बनाउँदासम्म अन्य व्यक्तिको नाम नै चर्चामा भए पनि आठ दल मिलिसकेपछि मात्र एमालेले नेम्वाङलाई उम्मेदवार बनाएको उहाँको तर्क छ । जित्ने हुँदा आफू उम्मेदवार हुने र हार्ने निश्चित भएपछि मात्र आदिवासी, जनजाति, दलितलाई एमालेले उम्मेदवार बनाउने गरेको उहाँको आरोप छ ।

देशको सर्वोच्च पदमा नेम्वाङलाई उठाएर एमालेले उहाँको राजनीति समाप्त गरेको योङ्हाङ जिकिर गर्नुहुन्छ । राष्ट्रपतिमा उठिसकेपछि उहाँले प्रधानमन्त्री, मन्त्री लगायतका अन्य पदमा पछि नउठ्ने भएकाले सो पदमा नेम्वाङलाई एमालेले अघि सारेको योङ्हाङ् बताउनुहुन्छ । देशकै सर्वोच्च पदमा उठाइएकाले पछि नेम्वाङको राजनीतिक भविष्य सकिएको उहाँ बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?