रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित

पदीय दायित्वप्रति सचेत रहेको प्रतिक्रिया

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रपति पदका अर्का उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहनुभएका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नौ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्नुभयो । जसमध्ये संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार प्राप्त गर्नुभएको छ । संख्याका आधारमा निर्वाचित पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभयो । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले र स्वतन्त्र सांसदले मत दिएका थिए ।

पौडेलका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गर्नुभयो । जसमध्ये संघमा सात हजार ७४२ र प्रदेशमा सात हजार ७७६ मतभार आएको हो । संख्याका आधारमा नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाउनुभएको हो । संघीय संसद् र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७२७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८६४ मतभार ) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार ५९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६२८ थियो । राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

संघीय संसद्का ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका एकजनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुकबाहिर रहेकाले मतदानमा सहभागी हुनुभएन । कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आउनुभएन । प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका तीन र मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव पनि मतदानमा सहभागी हुनुभएन । निर्वाचनमा पाँच मत बदर भएको छ । जसमा संघीय सांसद एकजना र प्रदेशका सांसद चारजना छन् । राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पौडललाई निर्वाचन आयोगले बिहीबार नै निर्वाचित प्रमाणपत्र दिएको छ ।

गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा सचेत छु : पौडेल
राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको प्रतिक्रिया दिनुभएको छ । संविधानको भावनालाई अक्षरशः इमानदारीपूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाउँदै पौडेलले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमानदारीपूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’

राजनीतिमा एउटा ‘कोर्स’ सकियो : प्रचण्ड
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा राजनीतिक कोर्स सकिएको बताउनुभएको छ । नौ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराएपछि प्रचण्डले एउटा राजनीतिक कोर्स सकिएको प्रतिक्रिया दिँदै भन्नुभयो, ‘राजनीतिको एउटा कोर्स कम्प्लिट भयो । सफलतापूर्वक निर्वाचन प्रक्रिया सम्पन्न भयो ।’ अब सरकारलाई पूर्णता दिने र जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ छ ।

संविधानको दायराभित्र बसेर जिम्मेवारी बहन गर्नुपर्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिले संविधानले दिएको दायरामा बसेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ । संवैधानिक दायराभित्र बसेर काम गर्न नयाँ राष्ट्रपतिलाई सुझाव दिँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘राष्ट्रपतिले संविधानले दिएको दायरामा बसेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । विगतमा भएका राम्रा कुरालाई ग्रहण गर्नुपर्छ र कमजोरीलाई त्याग्नुपर्छ । राष्ट्रको अभिभावकको हिसाबले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा प्रतिकूल असर पर्ने कुनै पनि काम गर्नु हुँदैन । देशको स्वाभिमानमा आँच पुग्ने काम गर्नु हुँदैन । देशप्रति आफ्नो जीवन समर्पित गर्नुपर्छ । आजसम्म संघर्ष र बलिदान गरेर प्राप्त उपलब्धिको रक्षा गर्ने, सबै उपलब्धिहरूको रक्षा गर्ने काममा जुट्नुपर्छ ।’

पौडेल सिंगो देशको अभिभावक बन्नुहुने छ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सभापति लामिछानेले लेख्नुभएको छ, ‘मुलुकको रास्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । सिंगो देशको अभिभावक बन्नुहुने छ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु ।’

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बधाई दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत गठबन्धनका शीर्ष नेताहरूले बधाई दिनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बढाइयो सुरक्षा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा सुरक्षा बढाइएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेल केही दिन काठमाडौंको बोहराटारस्थित निजी निवासमै बस्ने भएकाले त्यहीँ सुरक्षा थप गरिएको हो । निर्वाचन आयोगले बिहीबार अपरान्ह पौडेल निर्वाचित भएको घोषणा गरेसँगै पौडेलको सुरक्षाका लागि नेपाली सेनाको टोली निर्वाचनस्थल संसद् भवनमा पुगेको थियो । गृह मन्त्रालयबाट अगुवा र पछुवासहितको टोली पनि खटाइएको छ । तर, पौडेलले सोमबार मात्रै राष्ट्रपतिको शपथग्रहण गर्ने बताइएको छ ।

राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष शपथग्रहण गर्नुपर्छ । तर, अहिले प्रधानन्यायाधीश नभएकाले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराउनुहुने छ । त्यससँगै पौडेललाई औपचारिक सुरक्षासहितको सुविधा उपलब्ध गराइनेछ । शपथग्रहणसँगै पौडेल शीतलनिवास प्रवेश गर्नुहुने छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन शीतलनिवास छाड्ने बताइएको छ ।

मतदान गर्ने क्रममा लडेर सांसद न्यौपाने घाइते
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेश प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते हुनुभएको छ । एकीकृत समाजवादी पार्टीबाट सप्तरी-४ (१) बाट निर्वाचित सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा लड्नुभएको हो । सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर न्यौपाने लड्न पुग्नुभएको बताइएको छ । उहाँको टाउकोमा सामान्य चोट लागेको छ । सुरुमा संसद् भवननजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि लगिए पनि पछि सांसद न्यौपानेलाई राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार गरिएको थियो । घाइते सांसद न्यौपानेलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुग्नुभएको थियो ।

यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय
जनता समाजवादी पार्टी (जसपा) ले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता हुनुहुन्छ । मंसिर ४ गते सम्पन्न चुनावमा यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदै छ ।

कांग्रेससँग सहकार्य नगर्ने कसम खाएको छैन : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आउन सक्ने संकेत गर्नुभएको छ । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन । राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका बहन गर्नुपर्छ ।’

कांग्रेसको जवाफ : ‘तत्काल सहकार्य सम्भव छैन’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको बताउनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले २०८४ सालसम्म त्यो सम्भव नभएको बताउनुभएको हो । संसद् भवन परिसरमै महामन्त्री थापालाई पनि एमाले अध्यक्ष ओलीको अभिव्यक्तिअनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौँ । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं । यसपटक भने त्यो सम्भावना छैन । एमालेले धेरैपटक धेरैलाई झुक्याएको छ । सबैलाई एकपटक झुक्याउन सकिन्छ तर सबैलाई पटक–पटक झुक्याउन सकिँदैन । फेरि झुक्याउन सक्छु भनेर हामीलाई यति धेरै अवमूल्यन नगरिदिन हार्दिक आग्रह छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?