आयोगको निर्णयले जसपा अध्यक्ष यादव अप्ठ्यारोमा, नागरिक उन्मुक्तिकोे पनि उपराष्ट्रपतिमा दाबी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि खसआर्यबाहेकका समुदाय वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।

राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले अब उपराष्ट्रपतिमा खसआर्यबाहेक समुदायका वा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको आयोगको बैठकले खसआर्य समुदायबाहेक वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनु भयो ।

आयोगको उक्त निर्णयका कारण उपराष्ट्रपतिमा दावी गर्दै आएको जनता समाजवादी पार्टी अप्ठ्यारोमा पर्ने भएको छ । हिजो मात्र जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको थियो । जसपाले बिहीबार उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू यादवको निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्ने अध्यक्ष उपेन्द्र यादवको योजनामा पनि आयोगको निर्देशनका कारण समस्या हुने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने प्रावधान सार्वजनिक गरेको छ ।

महिला उम्मेदवारमा पनि खस आर्य भन्दा बाहिरबाट हुनुपर्ने आयोगले जारी गरेको सूचनाले ९ दलीय गठबन्धनलाई समेत अप्ठ्यारो परेको छ ।

यता सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र पनि महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ ।

‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अध्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्दा राम्रो हुन्छ’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भन्नुभएको छ ।

यस्तै सत्तारुढ अर्को दल नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि गठबन्धनमा दरार आउनसक्ने संभावना देखिएको छ ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आज विहानमात्र उपराष्ट्रपति जसपालाई दिने सहमति भइनसकेको बताउनु भएको थियो । उपराष्ट्रपतिको बारेमा छलफल गर्न आज गठबन्धनको बैठक बस्ने तयारी भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?