मासिदै सिमल, लोप हुँदै गिद्ध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । हिमाली तथा उच्चलेकाली क्षेत्रबाट सिमल प्रजातिको बनस्पति मासिँदै गएको छ । २०६४ सालमा बन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि सिमल मासिँदै गएको हो ।

सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्ध समेत मासिएको जानकारहरु बताउँछन् ।

वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एक दशक बित्न नपाउँदै सिमल सखाप भए- डिभिजनल वन कार्यालय म्याग्दीका डिभिजनल वन कार्यालय म्याग्दीका नि.अधिकृत चन्द्रमणी सापकोटाले भन्नुभयाे ‘अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।’

सिमल वहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा पाइने सिमललाई अंग्रेजीमा सिल्क-कटन ट्री, रेड-कटन ट्री, कटन ट्री भनिन्छ ।

औषधीय गुण भएको यो वनस्पतिको मासिने क्रम तीव्र छ । त्यसमाथि म्याग्दीमा सिमल लोपोन्मुख बनस्पतिका रुपमा रहेको डिभिजनल बन कार्यालय म्याग्दीले जनाएको छ । पछिल्लो समय देशभर नै सिमल मासिँदै छ । सिमल मासिएसँगै गिद्ध, अन्य ठूला चराहरु पनि विस्तारै लोपोन्मुख भएका छन् । सिमलको बोक्राले हात, खुट्टा मर्केको स्थानमा लगाए ठीक हुन्छ, चोट लागेर रगत बगेमा यसको रसले रोक्छ । यसको दानाबाट गम र साबुन बनाइन्छ भने यसको भुवा रगत सफा गर्न समेत प्रयोग गरिन्छ ।

२०४९ सालमा सिमल कटानमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको थियो । तर, सरकारले नै २०६४मा सिमल कटानमा फुकुवा गरेपछि धमाधम सिमलका रुख काटिदा सिमल मासिँदै गएको सापकोटाले बताउनुभयाे । सिमल संरक्षण गर्नुपर्ने वनस्पति हो । वन तथा वातावरण क्षेत्रका अगुवा चन्द्रवहादुर कार्कीकाअनुसार २०७१को दफा ११को उपदफा ७ मा ‘व्यवसायीकरण हुनसक्ने जडीबुटी एवम् गैरकाष्ठ वन पैदावार खेतीको प्रविधि विकास गरी वन क्षेत्र र बाहिर विस्तार गरिने’ उल्लेख छ । त्यहीभित्र सिमल पनि पर्छ तसर्थ सिमलको संरक्षण गर्न जरुरी छ ।

सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो बैज्ञानिक नाम हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरूका अनुसार सिमलका विविध अवयव विभिन्न शारीरिक समस्यामा लाभदायक गुण हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै, टाउको दुख्दा पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२मा प्रकाशित ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने लेख्नुभएको छ ।

सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेख अनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गरिएको छ ।

आर्युवेदिक चिकित्सक डा. जीवन शर्मा आचार्यकाअनुसार महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखहरूमा सिमललाई यौनसम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।

वन तथा वनस्पति विज्ञ नरहरि आचार्य र राजेश तामाङ लिखित इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल (सन् २०१७) शीर्षकको पुस्तक अनुसार चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् ।

सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणहरूले सिमल औषधिजन्य जडीबुटी रहेको देखाउँछन् । तर, वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।

स्वदेशी तथा विदेशी व्यापारीले कम राजश्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महंगो दाममा खरीद गरिरहेका छौं । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजाति हो भन्ने राम्ररी यकिन समेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ ।

हाम्रा जडीबुटी आफैंले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । सिमल नासिएसंगै वातावरणमा समेत असर परेको बताइन्छ ।

वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रूपमा यसलाई लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधि खुवाइएका पशु मरेपछि गिद्धले खाँदा गिद्ध मर्ने भएकाले राज्यले गिद्धको संरक्षणका लागि उक्त औषधि बिक्री वितरणमा २०६३ साल जेठबाट प्रतिबन्ध लगाएको थियो । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एशियामा ९ र नेपालमा मात्रै ८ प्रजातिका पाइन्छ । पछिल्लो समय गिद्ध पनि लोपोन्मुख भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?