गुल्मीमा १३ प्रजातीका नयाँ चरा भेटिए

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा १३ प्रजातिका नयाँ चराहरु भेटिएका छन् । चरा सर्वेक्षणको क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा सो संख्यामा नयाँ प्रजातिका चराहरु भेटिएका नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।

१९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चराहरु भेटिएका छन् । जसमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुँगा प्रजातिका चराहरु रहेका छन् । १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा आठ प्रजातिका नयाँ चराहरु भेटिएका छन् । जसमा हिमाली मलेवा, खरलाहाँचे, लामोठुँडे चाँचर, लघु बगेडी, कण्ठे सुँगा, खोले टिकटिके, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चराहरु भेटिएका हुन् ।

यहाँ वर्षेनी चराहरुको संख्या बढिरहेको छ । हालको सर्वेक्षणसम्म रेसुङ्गा वन संरक्षण क्षेत्रमा २५८ प्रजातिका चरा छन् । यता, मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा छन् । दुवै क्षेत्रमा २१८ प्रजातिका चराहरु छन् । अहिलेसम्म यस जिल्लामा ३१२ प्रजातिका चरा छन् । रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यस अघिको सर्वेक्षणमा ३०५ प्रजातिका चराहरु रहेका थिए । हालसम्म नेपालमा पाइएका ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चराहरु यहाँ फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ ।

गुल्मी जिल्लामा विश्वकै दुर्लभ छ प्रजातिका चराहरु पाइन्छ । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील छन् । यहाँ रहेका दुर्लभ चराहरुको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला-बेलामा हुने वन डढेलो, बासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याहरु चरा संक्षरणका लागि चुनौती बनेको उल्लेख गर्नुभयो ।

नेपाल पंक्षी संरक्षण संघ गुल्मीले रेसुंगा र मदाने वन संरक्षण क्षेत्रमा चराहरुको अनुसन्धान र गणना गर्दै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । चराचुरुङ्गीको संरक्षणका लागि परियोजनाका माध्यमबाट विभिन्न संरक्षण पोखरी निर्माण, स्थानीयको जनचेतना अभिवृद्धि गर्ने तथा वनमा आश्रित जनताहरुलाई विभिन्न खालका जीविको पार्जनसंग सम्बन्धित कार्यक्रमहरुलाई जोड दिएकोे उहाँले उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?