राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाईं महासचिवमा दीपक शर्मा

Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा संगीतकार राजेन्द्र बजगाईं निर्वाचित हुनुभएको छ । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारणसभाबाट बजगाईं निर्विरोध निर्वाचित हुनुभएको हो । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्षसहित सम्पूर्ण पदाधिकारी निर्विरोध भएका थिए । जसअन्तर्गत उपाध्यक्षमा मोडल उषा उप्रेती, महासचिवमा संगीतकार दीपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायणबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा भद्रबहादुर वली, महेन्द्र चन्द (माइकल), भुवनबहादुर नेपाली, पुस्कर सुनुवार, रीता केसी, उत्तमप्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेती, सविन सुवेदी, बेनिस पौडेल र प्रतीक्षा काफ्ले निर्विरोध निर्वाचित हुनुभएको हो ।

खानेपानी मन्त्री माननीय अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थालाई सहयो पुर्‍याउने बिभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । प्रेस सल्लाहकार समेत रहनुभएका तथा संस्थाको नामकरण गर्ने पत्रकार विष्णुप्रसाद सुवेदीसहित सञ्चारमाध्यमबाट सहयोग पु¥याएका पत्रकारहरू कृष्ण भुसाल, सानु श्रेष्ठ, कुबेर गिरी, रघुनाथ सापकोटा, बाबुराम सिग्देल, गीता अधिकारी, राज लुइँटेललगायतलाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याएका अन्य श्रष्टा तथा प्रस्तोतालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक वरिष्ठ कला साधक तथा वरिष्ठ चिकित्सक डा.भोला रिजालले संस्थाको उद्देश्य मन परेर आफूले संरक्षकत्व प्रदान गरेको बताउनुभयो । उहाँले संस्थालाई सही मार्गमा हिँड्न सदैव आफ्नो अभिभावकीय भूमिका रहने पनि बताउनुभयो । यस्तै, खानेपानी मन्त्री खानले आफू पहिलेदेखि नै कलाप्रेमी रहेको बताउँदै आफ्नो व्यक्तिगत तथा मन्त्रालय र नेपाल सरकारका तर्फबाट हुनसक्ने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार सुवेदी, वरिष्ठ संगीतकार टीका भण्डारी, संस्थाका कानुनी सल्लाहकार राजेन्द्र शर्मा, अधिवत्ता गीता पोखरेल र संस्थाका सल्लाहकार माधव खरेलले संस्थाको आर्थिक विकासका लागि जनही १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । यस्तै संरक्षक डा.रिजालले २५ हजार सहयोग प्रदान गर्नुभएको थियो ।

संगीतकार संघका अध्यक्ष चेतन सापकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे, वरिष्ठ गायक रामकृष्ण ढकाल, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, वरिष्ठ संगीतकार टीका भण्डारीलगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा महासचिव शर्माले संस्था स्थापनादेखि हालसम्म भएगरेका काम बारे जानकारी गराउनुभएको थियो । यस्तै, अध्यक्ष बजगाईंले संस्था स्थापनको उद्देश्यदेखि आगामी कार्ययोजनाका बारे प्रष्ट पार्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?