पाल्पाको सदरमुकाममै छैन व्यवस्थित खेलकुद मैदान

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । तानसेनका अमन श्रेष्ठको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुुहुुन्थ्यो । श्रेष्ठले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेल मैदान थिएन । उमेरले ४० पुग्नुुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेल मैदान नबन्दा निरास हुुनुुहुुन्छ ।

जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने फुटबल खेलमा उहाँ पुुग्नुुहुुन्छ । ‘म पूर्व खेलाडी र फुटबललाई एकदमै माया गर्ने मान्छे, आधा जीवन फुटबलमै गयो, न आफू खेल्दा राम्रो मैदानमा खेल्न पाइयो न त अहिलेका खेलाडीले राम्रो मैदानमा खेल्न पाएका छन्’, श्रेष्ठ भन्नुुहुुन्छ,। सम्बन्धित निकायले व्यवस्थित खेल मैदान निर्माणमा ध्यान नदिएको उहाँको गुनासो छ । ‘जिल्लामा फुटबलप्रति एकदमै आकर्षण छ, तर खेल्ने वातावरण छैन, सम्बन्धित निकाय किन हो कुन्नी कानमा तेल हालेर बसेको छ’, उहाँले प्रश्न गर्नुभयो, ‘व्यवस्थित खेलमैदान बनाउन केले छेकेको रहेछ ?’ खेलाडी अनि खेल मैदानका लागि भन्दा पनि पार्टीगत हिसाबले काम गर्ने प्रवृत्ति रहेको उहाँको आरोप छ । ‘खेलाडीलाई प्रोत्साहन गर्ने परम्परा नै छैन’, उहाँले भन्नुुभयो, ‘त्यसो भएपछि कसरी खेलकुद र खेलाडीको विकास हुन्छ ।’ तानसेनमा व्यवस्थित खुला मैदान नहुँदा जस्तोसुकै खेल मैदानमा पनि खेल खेलाउनुपर्ने बाध्यता छ । तानसेनको टुँडिखेल खुला मैदानमा कयौ वर्ष फुटबल प्रतियोगिता भए । अहिले यो मैदानलाई नगरपालिकाले पार्क बनाउन लागेको छ । यहाँ पर्याप्त खुला मैदान नहुँदा खेलकुदका गतिविधिदेखि मेला महोत्सव हुन सकेका छैनन् भने भए पनि बाहिर गएर गर्नुपर्ने बाध्यता रहेको छ ।

नगरको बजार क्षेत्रमा खुला मैदानको अभाव हुँदा पाल्पा उद्योग वाणिज्य संघले गर्दै आएको व्यापार मेला समेत विगत ४ वर्षदेखि हुन सकेको छैन भने पाल्पा व्यापार संघले २०७६ मा मदनपोखराको दमकडा खेल मैदानमा पहिलो पाल्पा व्यापार महोत्सव गर्नुप¥योे । त्यसपछि मैदान अभावमा संघले कुनै महोत्सव गर्न सकेको छैन् । विगतमा टुँडिखेल मैदानमा हुँदै आएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत यस वर्ष माथागढी गाउँपालिका–३ को सराई खेल मैदानमा गर्नुप¥यो । टुँडिखेल स्तरउन्नतीको काम गरिएपछि पनि मेला, महोत्सव र खेलकुद गतिविधी गर्न मिल्ने अवस्था भने देखिदैन । खेलकुद मैदानको अभावमा जिल्लास्तरीय रुपमा हुने फुटवल तथा क्रिकेट प्रतियोगिता पनि ठप्प रहेको छ । तानसेन नगरपालिकाले बजार क्षेत्र भित्र सार्वजनिक जग्गाको व्यवस्था गर्न नसक्दा खेलकुद तथा मेला महोत्सवका गतिविधी प्रभावित बन्दै गएका हुन् । खेलकुद गतिविधीदेखि मेला महोत्सव, सभा सम्मेलन नहुँदा तानसेनको आर्थिक गतिविधीमा समेत प्रभाव परेको छ । बजार क्षेत्रमा मात्र सञ्चालनमा रहेका दर्जनौं स्तरीय होटलहरु मानिसको चहल पहल नहुँदा सुनसान बन्दै गएका छन् । तानसेन बतासेडाँडाको सार्वजनिक जग्गा समेत स्तरउन्नती नगरी प्रयोग गर्न मिल्दैन ।

तानसेन बजार क्षेत्रमा खुला मैदानको अभावमा पाल्पा उद्योग वाणिज्य संघले आयोजना गर्ने पाल्पा व्यापार महोत्सव २०८० प्रभावित भएको छ । बजार क्षेत्रमा खुला स्थानको अभाव भएपछि संघले तानसेन नगरपालिका–७ को बाँसटारीमा महोत्सव गर्ने तयारी गरेको छ । संघको अघिल्लो कार्यकालका पदाधिकारीले मैदानकै अभावमा तानसेनमा व्यापार मेला गर्न सकेनन् । बजार भन्दा बाहिर गएर गर्दा स्टलहरुको बुकिङ कम आउने, दर्शकहरुको उपस्थिति न्यून हुने भएपछि चार वर्षसम्म तानसेनमा व्यापार मेला हुन सकेन् । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बजारको कोर एरियामा सार्वजनिक जग्गा नभएकाले ठूला स्तरको मैदान निर्माण गर्न नसकिएको बताउनुुभयो । आगामी बैशाखदेखि स्तरउन्नती हुँदै गरेको टुँडिखेलमा सबै किसिमका खेलकुद गतिविधी गर्न सकिने तर मेला महोत्सव भने टुँडिखेल बाहेक अन्य स्थानमा गर्नुपर्ने नगर प्रमुख श्रेष्ठले बताउनुुभयो । मेला महोत्सवका लागि श्रीनगर, बताँसेडाँडा, प्रभास वंश गोपाल क्षेत्र, दमकडा, सेतीपोखरी, बन्दिपोखरा क्षेत्रमा गर्न सकिने नगर प्रमुख श्रेष्ठले बताए । तानसेन बजारमा आर्थिक चलायमानका गतिविधी कम हुँदै गएपनि पछिल्लो समय व्यापार व्यवसायमा कमी आएको छ । व्यवसायीहरु तानसेन छोडेर अन्यत्र स्थानान्तरण भएका छन् ।

तानसेन नगरपालिकाले केही जोखिम उठाएर भएपनि गोर्खेकोट र बतासेडाँडा र निर्माणाधिन अवस्थामा रहेको बनदेवी बसपार्क क्षेत्रमा मेला महोत्सव गर्न सकिने गरी मैदान निर्माण गर्न सकिने अवस्था रहे पनि चासो नदिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुुभयो । तानसेन बजारलाई चलायमान बनाउन विभिन्न किसिमका पूर्वाधारहरुको निर्माणदेखि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता नगरवासीले गरेका छन् ।

तस्वीर : तानसेनको एक मात्र खुला मैदान टुँडिखेललाई पार्क बनाउँदै तानसेन नगरपालिका ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?