केपी ओलीको आरोप : माओवादी केन्द्रले नै मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको छ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनु भएको छ ।

माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनु भयो । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लडन पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिनु भयो । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन्। हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन । खुट्टा याद राख्नुस भन्न सक्छन् । यो हुँदैन भन्न सकिदैन । त्यसकारण हाम्रो एलाईन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लड्न सक्ने त्यो हुनु पर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन ।’

अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताउनु भयो । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले बुद्ध जन्मेको देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताउनु भयो । अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्विकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन । तर कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दिएनै छ । संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्विकार गर्दैन ।’

अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरुले नै बढि मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?