खानेपानीको मूल विवादमा दुई जिल्ला

हिमालय टाइम्स
Read Time = 9 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौरमा खानेपानीको अभाव भएको छ । बागलुङ नगरपालिका-५, स्थित कमेरेको मूल प्रयोगको विषयमा विवाद हुँदा बागलुङ नगरपालिकाले मुहानको संरचना भत्काइदिएपछि रत्नेचौरमा खानेपानी अभाव भएको हो । वि.सं २०२३ सालदेखि खनाराम थापा र उहाँका परिवारका सदस्यको लिखित अनुमति, वि.सं २०५३ सालमा जग्गाधनीलाई नगद १२ हजार बुझाएर रत्नचौरवासीले वर्षौँदेखि यहाँको पानी उपभोग गर्दै आइरहेका थिए ।

उक्त मूलको पानी बागलुङ नगरपालिकाले वडा नम्बर ४ उपल्लाचौरको बजारमा लैजान खानेपानी मुहान बागलुङ नगरपालिकाको अगुवाईमा केही समूहले भत्काएपछि विवाद चर्किएको हो । वि.सं २०२३ सालदेखि खनाराम थापा र उहाँका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गर्दै आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिनै वडाका जनप्रतिनिधिको नेतृत्वमा ट्यांकी र मुख्य पाइपलाइनमा क्षति पु¥याएपछि रत्नचौरमा करिब एक सातादेखि खानेपानीको आपूर्ति बन्द भएको छ ।

बागलुङ नगरपालिका-४, उपल्लाचौरमा खानेपानी लैजाने योजना अगाडि बढाएर रत्नेचौर लैजाने खानेपानीको मुहानमा अवरुद्ध गरिएको स्थानीय तिलकबहादुर महतले बताउनुभयो । ‘२०२३ सालदेखि नै जग्गाधनीसँगको लिखित सहमतिमा हामीले कमेरेस्थित मुहानको पानी उपभोग गर्दै आइरहेका छौँ । हामीसँग लिखित प्रमाण छ’, महतले भन्नुभयो, ‘रत्नेचौरवासीका लागि खानेपानीको वैकल्पिक स्रोत नै छैन । अहिलेको अवस्थामा सो मुहानबाट बागलुङ नगरपालिका-४ लाई पानी उपलब्ध गराउन सक्ने अवस्था छैन ।’ २०२३ सालमा कुलो निर्माणमा कमेरे खानेपानीलाई देखाएर संरचना बनाइएको र कुलोबाट लगेको पानी उपभोग तथा पशुचौपाया र सिँचाइमा प्रयोग गर्ने गरिएको छ । वि.सं २०३६ सालमा खानेपानीको पाइपको व्यवस्था गरिएको थियो भने वि.स २०५३ सालमा १२ हजार रत्नेचौरवासीले जग्गाधनी खनाराम थापालाई दिइएको अभिलेख देखिन्छ ।

पटक–पटक खानेपानीको उपभोगका विषयमा विवाद भएपछि तत्कालीन खानेपानी तथा ढल निकासमार्फत बागलुङबाट विनियोजन भएको योजनासमेत स्थायी रूपमा उपभोग गर्दै आइरहेको रत्नेचौरवासीलाई समस्या पर्ने भन्दै योजना नै रद्द भएको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । ‘खानेपानीको संरचना नै भत्काएर सहमतिको वातावरण बिथोल्ने प्रयास भयो । उहाँहरू (बागलुङ नगरपालिका-४, उपल्लाचौरवासी)लाई आसपासका क्षेत्रमा भएको अन्य मूल प्रयोग गर्न अनुरोध गरेका छौँ’, वडाध्यक्ष थापाले भन्नुभयो ।

विगतका कानुनी नजिर तथा सरकारी निर्णयमा समेत बागलुङमा खानेपानीको आवश्यकता परेमा रत्नेचौरलाई प्रतिकूल असर नगर्ने गरी वैकल्पिक स्रोतको खोजी गर्ने सहमति भएको थियो । खानेपानीको मुहानमा यस अगाडि २०६२ सालमा समेत विवाद भएको थियो । उक्त विवादमा समेत विगतका सहमतिलाई नै आधार मानेर अगाडि बढ्ने निर्णय भएको थियो ।

खानेपानीको संरचना नै भत्काएर सहमतिको वातावरण बिथोल्ने प्रयास भएको रत्नेचौरवासीको भनाइ छ । कमेरे खानेपानी रत्नेचौरका करिब चार सय घरधुरीले प्रयोग गर्दै आइरहेका छन् । रत्नेचौरवासीलाई अर्को कुनै पनि खानेपानीको स्रोत नभएकाले सिमाना नजिकै र वारिपारि जग्गा जमिनसमेत भएकाले उक्त खानेपानी प्रयोग गर्ने गरेका थिए ।

यता, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले बागलुङमा खानेपानीको समस्या अधिक भएकाले पानीको वैकल्पिक स्रोत नभएको र यही मुलको व्यवस्थापन गरेर लैजाने योजना बनाएको बताउनुभयो । रत्नेचौरवासीले प्रयोग गर्ने खानेपानीमा अवरुद्ध भएपछि शनिबार पानीको मुलमा दुवै पक्षका सयौँ उपभोक्ताहरू भेला भएका थिए । दुवैतर्फका जनप्रतिनिधि र प्रहरीको अगुवाईमा झडप टरेको थियो ।

रत्नेचौरवासीले आसपासमा प्रशस्तै मूल भए पनि आफूले प्रयोग गर्दै आइरहेको मूललाई नै कब्जा गर्न खोजिएको बताइरहेका छन् भने बागलुङवासीले ४२ प्रतिशत बागलुङलाई र बाँकी ५८ प्रतिशत पानी रत्नेचौरवासीलाई हुने गरी सहमति गर्न तयार रहेको बताएका छन् ।

खानेपानी जस्तो विषयमा पटक–पटक दुःख दिइएको रत्नेचौरवासीको भनाइ छ । बागलुङ नगरपालिकाले खानोपनीको विवाद टुंगो नलाग्दै खानेपानी व्यवस्थापनका लागि चालु आर्थिक वर्षका लागि ५० लाख विनियोजन गरेर काम अगाडि बढाएको पाइएको छ ।

बागलुङ नगरपालिकाका मुख्य चारवटा वडाहरू पर्ने बजार क्षेत्रलाई सहज आपूर्ति गर्ने छिमेकी बेनी नगरपालिका-१ रत्नेचौरवासीले प्रयोग गर्दै आइरहेको खानेपानी मूललाई पूर्णरूपमा प्रयोग गर्ने प्रयास गरेपछि सुरु भएको विवाद समाधान नभई कुनै पनि योजना अगाडि नबढाउन भएको सहमति उल्लंघन गरिएको छ । खानेपानी समस्या समाधान गर्न भन्दै दुवै जिल्लाका उच्चपदस्थ अधिकारीहरू जिल्ला प्रशासन कार्यालय म्याग्दीमा एकपटक र दुईपटक बागलुङमा बैठक बसे पनि सहमति भएको छैन ।

खानेपानी समस्या समाधान गर्न भन्दै दुवै जिल्लाका उच्चपदस्थ अधिकारीहरू जिल्ला प्रशासन कार्यालय म्याग्दीमा एकपटक र दुईपटक बागलुङमा बैठक बसे पनि सहमति नभएको रत्नेचौरका स्थानीय शिक्षक चिरञ्जीवी बोगटीले बताउनुभयो । पहिलो बैठक फागुन ७ गते संयुक्त टोलीले मुहान निरीक्षण गरिएको थियो भने दोस्रो बैठक फागुन १५ गते जिल्ला प्रशासन कार्यालय म्यादीको सभाहलमा बसेको बैठकले दुवै पक्षका निर्णायक व्यक्तिहरूको उपस्थितिमा सहमति गर्ने भन्दै बैठक सकिएको थियो ।

त्यस्तै, फागुन १७ गते बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकोमा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने भने हिउँदका चार महिना (फागुनदेखि जेष्ठ) सम्म मुहानको कुल पानीको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने बागलुङ पक्षको प्रस्तावलाई म्याग्दीतर्फबाट प्रतिनिधित्व गरेको टोलीले थप छलफल आवश्यक रहेको भन्दै बिना निर्णय बैठक सकिएको थियो ।

रत्नेचौरवासीले प्रयोग गरेको आसपासका क्षेत्रमा अन्य करिब पाँचवटा मुहान रहेकाले उक्त मुहान प्रयोग गर्न अनुरोध गरिएकोमा बागलुङका जनप्रतिनिधि सहितको टोलीले असहमति जनाएका छन् । कुनै पनि खानेपानीको स्थायी मूलहरू भरपर्दा खानेपानीका स्रोत भएकाले वैकल्पिक स्रोतको पहिचान बिना अवरोध गर्न नपाइने रत्नेचौरवासीको अडान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?