आइलिग क्लब दिल्ली एफसी विराट गोल्डकपमा खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

विराटनगर । शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपिएफसहित विदेशी टिमको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

विराट गोल्डकपका लागि भारतबाट दुईवटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशिस कोइरालाले जानकारी दिनुभयो । भारतमा जारी आइलिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउनेछन् ।

यसैगरी नेपालका तीनवटा विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसका साथै घरेलु टोलीका रूपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउनेछन् । विभागीय क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यस सिजन प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिनुभयो । गत संस्करणको उपाधि विजेता एपिएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उपविजेता हुने टिमले सात लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तीमा २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउनेछन् । यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलहरू रातीको समयमा फ्लर्ड लाइटमा सञ्चालन हुनेछन् । आठ टिमले सहभागिता जनाउने प्रतियोगितामा सात खेलबाट उपाधिको छिनोफानो हुनेछ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?