विप्लव र कर्णजित बुढा नेतृत्वको दुई पार्टीबीच एकता

माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकताको घोषणा भएको छ । बुधबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी दुई पार्टीले एकताको घोषणा गरेका हुन् । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नका र जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति गरेको दुई पार्टीले जनाएको छ ।

त्यस्तै, दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसद्को गोलचक्कर र संसद्मा हराउने कम्युनिष्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधीनताको रक्षा गर्न नसक्ने बताउनुभयो

‘क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ?’
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने प्रतिक्रिया दिनुभयो । उहाँले जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटक-पटक दोहोर्‍याउनुभयो ।

जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरूलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो । उहाँले भन्नुभयोे, ‘जसले फाँसीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र । २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ? जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर, त्यो युद्धलाई पनि अपवादको रूपमा अपराधीकरण गर्न खोजिँदै छ यहाँ । त्यो पनि अपवाद हो । जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो । सुकुम्बासी, महिला, मजदुर, श्रमिक जनता, एकदम पिँधमा भन्छन् नि । पीडितले लडेको युद्ध अपवादमा या एउटा युद्ध हो ।’

उहाँले जनयुद्धलाई अपराधीकरण गर्नेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताउनुभयो । ‘हामी यसलाई जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि । उसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नोे अस्तित्वको पनि ख्याल गर्नुपर्छ । सजिलै जाला भन्ने कसैले सोचेको छ भने त्यो असम्भव छ नेपालमा । यो हामीले भनेकै छौँ,’ उहाँले भन्नुभयो । महासचिव विप्लवले दलाल, पुँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरूबीचको एकता प्रक्रियालाई सुरु गरेको बताउनुभयो । नेपाल राष्ट्रलाई स्वाधीन बनाउने मूल उद्देश्यअन्तर्गत आफूहरूले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उहाँले दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?