मन्त्री छनोटलाई लिएर कांग्रेसभित्र तीव्र विवाद

केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

अनिल क्षेत्री
Read Time = 8 mins

काठमाडौं । नेपाली कांग्रेसभित्र पुनः आन्तरिक विवाद चुलिएको छ । पछिल्ला केही दिन मत्थरजस्तो देखिएको आन्तरिक संघर्ष मन्त्री छनोटको विषयले पुनः बल्झिएको हो । मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न असफल हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज (आइतबार) बिहान १० बजे बोलाइएको बैठकमा पार्टीले पाएका थप चार मन्त्रालयमा को-कसलाई पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । यस्तै, वैशाख १० मा हुने उपनिर्वाचन र सरकार सञ्चालनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिनुभयो । यसअघि गत बिहीबारमात्रै पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुने बैठकले बारा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ । यसअघि यही चैत १६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यस्तो छ विवादको कारण
कांग्रेससहितको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभयो । तर, कांग्रेसले मन्त्रीको नाम दिन नसकेका कारण अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गठबन्धनमा कांग्रेसको भागमा आठ मन्त्रालय परे पनि शुक्रबार चारजनाले मात्रै जिम्मेवारी सम्हालेका छन् । कांग्रेसबाट उपप्रधानमन्त्रीसहित पूर्णबहादुर खड्काले रक्षा मन्त्रालय, डा. प्रकाशरण महतले अर्थ मन्त्रालय, रमेश रिजालले उद्योग मन्त्रालय र सीता गुरुङले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । कांग्रेसको भागमा परेका अन्य मन्त्रालयहरू परराष्ट्र, कानुन मन्त्रालय, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय अझै खाली छन् । पार्टीभित्र मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा र गुटगतरूपमा नेता शेखर कोइराला पक्षले सम्मानजनक ठाउँ नदिएको भन्दै नाम नदिएपछि सभापति देउवाले आफूनिकट चार नेतालाई मात्रै मन्त्री बनाउनुभएको थियो ।

सभापति देउवाले कांग्रेसले पाएका आठमध्ये ६ मन्त्रालयमा आफूनिकटलाई पठाउने र दुईवटा मन्त्रालयमात्रै कोइराला समूहलाई दिने तयारी गर्नुभएको थियो । तर, कोइराला समूहले तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने भनेपछि मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो । त्यसो त मन्त्री छनोटलाई लिएर सभापति देउवा समूहमै रडाको मच्चिएको छ । बिहीबार आठ मन्त्रालयको जिम्मेवारी पाउने नेताको अन्तिम टुंगो लागेको सार्वजनिक भएको थियो । ती नाममा संस्थापन समूहका नेताहरू मोहनबहादुर बस्नेतलाई स्वास्थ्य र एनपी साउदलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर, देउवा समूहकै कतिपय प्रभावशाली नेताहरूको तीव्र विरोध तथा दबाबका कारण बस्नेत र साउदले शपथ लिन नपाएको स्रोतको भनाइ छ ।

कांग्रेसले सरकारमा आठ मन्त्रालय पाउँदा पार्टीभित्र डा. शेखर कोइराला पक्ष दुईवटा मन्त्रालय लिन सहमतजस्तै थियो । कोइराला समूहबाट उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बू मन्त्री बन्ने निश्चित थियो । तर, शेखर पक्षले आफूनिकटका पदाधिकारी र सिनियर नेतासँग छलफल गरेरै तीनवटा मन्त्री नपाए नाम नपठाउने निर्णय लियो । आफैंले प्रस्ताव गरेकालाई मन्त्री बनाउन देउवा तयार भए पनि शेखर पक्षले दुईको सट्टा तीनजनाको अडान लिनुमा भने अर्कै कारण रहेको कांग्रेस-वृत्तमा चर्चा छ ।

कांग्रेसले पाउने भागबण्डामा देउवाले शेखर पक्ष, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला पक्षलाई समेट्ने बुझाइ थियो । तर, शेखरलाई दुईवटा मन्त्रालय दिएर ६ वटामा आफूनिकटकै नेतालाई मात्र मन्त्री बनाउने निर्णय गर्नुभयो । प्रकाशमान सिंहबाट मन्त्रीको दाबी गर्ने राजन केसी र शशांकका तर्फबाट दाबी गर्ने दीपक गिरी वा दीपक खड्का पनि मन्त्री नबन्ने पक्का भयो । सिटौला पक्षका नेता पनि मन्त्री नबन्ने निश्चित भएपछि शेखर पक्षले ६ जना नै देउवा पक्षका मन्त्री हुनबाट रोक्न तीन मन्त्रालय पाउनुपर्ने अडान लिएको हो । देउवाले पटक-पटक आग्रह गरे पनि शेखर पक्ष दुईजनाको नाम नपठाउने अडानबाट पछि हटेन ।

उपप्रधानमन्त्री खड्काको स्पष्टीकरणः ‘मैले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिल्यै भनेको थिइनँ’
कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा जानुभएका उपसभापति पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि ‘उपप्रधान वा प्रधानमन्त्री बन्दिनँ’ नभनेको स्पष्टीकरण दिनुभएको छ । शुक्रबार उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका खड्काले शनिबार बिहान बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुग्ने क्रममा भन्नुभयो, ‘अहिले सामाजिक सञ्जालमा मन्त्री बन्दिनँ भनेर पनि बनेको भन्दै टीकाटिप्पणीबारे जानकार छु । मन्त्री नबन्ने घोषणा गरेको सात वर्षको अन्तरालमा जुन अहिलेको घटनाक्रम आयो, त्यसपछि फेरि मलाई त्यही कुरा सोधियो, मैले त्यही बन्दिनँ भनेँ । अहिले सामाजिक सञ्जालमा आइरहेको छ-मन्त्री खान्नँ भन्नुहुन्थ्यो, मन्त्री बन्दिनँ भन्नुभयो फेरि मन्त्री बन्नुभयो । मैले उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भन्या हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?