दाङ तुलसीपुरका अव्यवस्थित तार हटाउन विद्युत प्राधिकरणको अल्टीमेटम

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । जीर्ण पोल त्यो पनि लच्किएको । त्यसमा झुण्डिएका तारहरू तथा त्यसैमा चराभँगेराका गुँड । तिनै पोलहरूमा अव्यवस्थित तारले बजार कुरूप बनिरहेको छ । विद्युत पोलमा तार व्यवस्थित नुहँदा कहिलेकाहीँ तार सर्ट भइ आगलागी हुँदा त्यही आगलागीले धेरै सेवाहरू बन्द हुने अवस्था पनि त्यत्तिकै छ । तार भूइँमा लत्रिँदा जोखिम उत्तिकै हुन्छ ।

तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले अव्यवस्थित तार नहटाएपछि नेपाल विद्युत प्राधिकरण तुलसीपुरले ध्यानाकर्षण गराएको छ । बजारमा हाल पुराना केवल लाइन छन् । कुनै घरमा ‘इन्टरनेट’ हटाइए पनि त्यहीँ छोडिन्छ । बजारका पोलहरूमा त्यस्ता तार अस्तव्यस्त रूपमा झुण्डिएकाले बजार कुरूप हुने भएकाले त्यस्ता तार आफै हटाउन भनी कम्पनीसँग सहमति भएको थियो । नेपाल टेलिकमसहित ११ सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

तार नहटाउँदा बजार कुरूप बनेको जनाउँदै त्यसलाई हटाउन १५ दिने सूचना पनि जारी गरेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले बताउनुभयो । ‘सूचना जारी गरेको १५ दिन हुनै लागेको छ, हामीले चिठी पनि पठाएका थियौँ’, उहाँले भन्नुभयो, ‘प्रत्येक कार्यालयमा आफूहरू पुगेर जानकारी गराउने काम भएको छ ।’

चैत १७ गते सूचनाको म्याद सकिँदैछ । कार्यालयमा पुग्दा कसैले त्यो पत्रसमेत नखोलेको अवस्था फेला पारेको प्रमुख फर्सालले बताउनुभयो । काम गर्ने भनी कार्यालयले चिठी पठाएको भए पनि सोहीअनुरूप काम नभएको पाइएको उहाँले वताउनुभयो । कार्यालयमा पुगेर ध्यानाकर्षण गराएपश्चात केवल नेट हटाउने प्रतिबद्धतासमेत व्यक्त गरेको भन्दै केही दिनमा हटिसक्ने प्रमुख फर्सालको भनाइ छ ।

तुलसीपुर क्षेत्रमा नेपाल टेलिकम, एनसेललगायत ११ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग समन्वय गरेर काम लाग्नेलाई एकठाउँमा बाँध्ने र लामो समयदेखि काम नलाग्ने अवस्थामा रहेका तारलाई निकाल्ने भनी सहमति भएको थियो । उहाँले यो कार्य गर्न केही कठिनाइ भए पनि निर्देशनअनुसार काम भनेअनुसार उनीहरूले सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले अब १५ दिनभित्र प्रक्रिया सुरु नगरे नियमानुसार कारबाही अगाडि बढ्ने समेत बताउनुभयो ।

‘यो काम अलि जटिल पनि छ, भन्ने बित्तिकै समस्या समाधान हुन्न, त्यो हामीले बुझेका छौँ तर प्रकृया त थालनी गर्नुप¥यो नि । यदि त्यो भएन भने हामीले पहिले अफिसको लाइन काट्ने छौँ’, उहाँले भन्नुभयो । पश्चिममा हापुरे, पूर्वमा ग्वारखोला, दक्षिणमा दमारगाउँ र उत्तरमा राम्रीको क्षेत्रभित्रका पोलहरूमा विस्तार गरिएका तारलाई व्यवस्थित गर्न प्राधिकरणले आग्रह गर्दै आइरहेको छ ।

प्राधिकरणले तोकेको क्षेत्रभित्र नेपाल टेलिकम, स्वर्गद्वारी, भायोनेट, सुवेसु, टेकमाइण्ड, ओपन स्काई, टिपी–लिङ्क, नियोलिक, वल्र्ड लिङ्क, डिस मिडिया नेटवर्क, एनसेल र एभरेष्ट वायरलेस कम्पनीले इन्टरनेटका तारहरू विस्तार गरेका छन् । प्राधिकरणले अस्तव्यस्त रूपमा रहेका इन्टरनेट र केबुलका तारहरूलाई व्यवस्थित गर्न फागुन ८ र चैत्र २ गते सार्वजनिक सूचना जारी गरिसकेको छ । विद्युत कार्यालय तुलसीपुरले सल्यान रोडलगायत बजारका विभिन्न स्थानमा विद्युतको नाङ्गो तारको सट्टा कभर कन्डेक्टर तारलाई ढाकेर तारको विस्तार सुरु गरेको छ । सल्यान रोडको रक्षाचौर, दमारगाउँ, रानीजरुवा, शान्ति दीप बोर्डिङ स्कूल साइडमा तार विस्तार गरेका प्रमुख फर्सालले जानकारी दिनुभयो । रूखका हाँगाले नाङ्गो तार छुने तथा हावाहुरीको समयमा पनि तार जोडिने समस्या भने अब नआउने बताउनुभयो । ‘यो अलि महँगो पर्छ, कभर कन्डेक्टरलाई तर यो राम्रो पनि हुन्छ, लाइन डिष्टर्व हुँदैन’, उहाँले भन्नुभयोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?