चेल्सीका प्रशिक्षक पोटर बर्खास्त

Read Time = 3 mins

लण्डन । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । शनिबार राती घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लासँग दुई-शून्यले पराजित भएसँगै पोटर बर्खास्तीमा पर्नुभएको हो । चेल्सीले सात महिना नपुग्दै उहाँलाई बर्खास्त गरेको हो । सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गर्दै उहाँ मुख्य प्रशिक्षक बन्नुभएको थियो । उहाँको प्रशिक्षकत्वमा चेल्सीले ३२ खेल खेल्दा १२ मा हार बेहारेको थियो । त्यसैले चेल्सी सिजनमा १२औँ स्थानमा छ ।

चेल्सीका मालिक टोड बोहलीले प्रशिक्षक र व्यक्तिका रूपमा ग्राहमका लागि उच्च सम्मान रहेको बताउँदै जहिले पनि व्यावसायिकता र इमान्दारिताका साथ पोटरले काम गर्नुभएको तर खराब नतिजाका कारण आफूहरू निराश रहेको बताउनुभयो । चेल्सीले मंगलबार प्रिमियर लिगमा लिभरपुलसँग र १२ अप्रिलमा च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिडको सामना गर्दैछ ।

यता, म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग २-० हो हार बेहोरेको छ । न्युक्यासलको जितमा जोसेफ विललक र कलुम विल्सनले गोल गर्नुभयो । खेलको ६५औँ मिनेटमा जोसेफ विललकले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाउनुभयो । उहाँले एलन सेन्ट म्याक्सिमिनको पासमा हेडरमार्फत् गोल गर्नुभएको थियो । त्यसपछि ८८औँ मिनेटमा कलुम विल्सनले दोस्रो गोल गर्नुभयो । यस जितसँगै न्युक्यासल २७ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित युनाइटेडको ५० अंक नै भए पनि गोल अन्तरमा चौथो स्थानमा झरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?