तीन जिल्लाका तीन क्षेत्रमा उपनिर्वाचन

सत्तारूढ दल माओवादी केन्द्र उम्मेदवारविहीन, ६९ जना चुनावी मैदानमा

डिबी शर्मा
Read Time = 16 mins

काठमाडौं । आगामी वैशाख १० गते चितवन, तनहुँ र बाराका तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार विभिन्न दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन् । आयोगका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, तनहुँ-१ मा नौ र चितवन-२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार रहेको आयोगले जनाएको छ ।

बारा क्षेत्र नम्बर २ मा जसपा, एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी ३६ जना नेताहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादव लगायतले उम्मेदवारी दर्ता गराएका हुन् । चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ । १२ जनाले दलबाट र १२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार एमालेबाट रामप्रसाद न्यौपाने, कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उम्मेदवारी परेको छ ।

तनहुँ-१ मा नौ जनाको उम्मेदवारी परेको छ । नौ दलबाट नौ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार तनहुँमा स्वतन्त्र उम्मेदवारी भने परेको छैन । तनहुँमा नेपाली कांग्रेसका गोविन्द पोखरेल, नेकपा एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्ले, राप्रपाका शोभा गुरुङले उम्मेदवारी दिनुभएको छ । कांग्रेस उम्मेदवारलाई नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको समेत समर्थन रहेको छ भने अरू दलका उम्मेदवारहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले मनोनयन दर्ता गराउनुभएको छ ।

आज (मंगलबार) बिहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । बुधबार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि अपरान्ह १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपरान्ह ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिन्ह पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । प्रत्येक निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान भएका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरी सुरक्षितरुपमा भण्डारण भएपश्चात् सोही दिन साँझ ७ बजेपछि मतगणना कार्य सुरु हुने आयोगले जनाएको छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा तनहुँ-१ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित तथा चितवन क्षेत्र नं १ बाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेज भएपछि तीन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

पर्यवेक्षक संस्थालाई आहृवान
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले सोमबार सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो ।

माओवादी केन्द्रले उठाएन उम्मेदवार
सरकारको नेतृत्व गरेको संसद्को तेस्रो शक्ति माओवादी केन्द्र उपनिर्वाचनमा उम्मेदवारविहीन भएको छ । चितवन-२, तनहुँ-१, बारा-२ मा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णयसहित माओवादी माओवादी केन्द्र उम्मेदवारविहीन भएको हो । माओवादी नेताहरूले अहिलेको गठबन्धनलाई निरन्तरता दिन आफ्नो पार्टीले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी नदिएको दाबी गरेका छन् । आफ्ना मतले निर्वाचन परिणाम गठबन्धनको पक्षमा पार्ने माओवादी नेताहरूको दाबी छ । उपनिर्वाचनमा माओवादीले चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ भने बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवका लागि छाडेको छ । गठबन्धनका अन्य साझेदार दल कांग्रेस र एकीकृत समाजवादीले पनि बारा-२ मा यादवलाई सघाउने निर्णय गरेका छन् ।

वैशाख १० नयाँ युगको आहृवान गर्ने दिन : वाग्ले
तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले वैशाख १० उपनिर्वाचन नयाँ युगको आहृवान गर्ने दिन भएको बताउनुभएको छ । उम्मेदवारी दर्तापछि उहाँले वैशाख १० नयाँ युगको आहृवान गर्ने दिनको रूपमा लिएको बताउनुभयो । ‘२०८० वैशाख १० नयाँ युगको आहृवान गर्ने दिनको रूपमा लिएका छौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो प्रणालीहरू असाध्यै भत्किएका छन् ।’

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावी पुस्ताको भविष्य सुरक्षित गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । सोमबार मनोनय दर्तापछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले राजनीतिमा शुद्धता ल्याउन र नेपालमै रोजगारी सिर्जना गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । लामिछानेले आफू यसपटक पनि चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेको बताउनुभयो । उपनिर्वाचनले राज्यलाई भार पारेको प्रसंगमा उहाँले आफ्नो भागमा पर्ने भार लिन तयार रहेको बताउनुभयो । सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन-२ बाटै विजयी बन्नुभएको थियो । उहाँ निकटतम प्रतिद्वन्द्वीभन्दा ३४ हजार बढी मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो ।

कहिल्यै नराम्रो गर्ने छैन : न्यौपाने
नेकपा (एमाले)का तर्फबाट चितवन-२ मा उम्मेदवारी दर्ता गराउनुभएका रामप्रसाद न्यौपानेले आफूले कहिल्यै नराम्रो नगर्ने बताउनुभयो । उम्मेदवारी दर्तापछि न्यौपानेले देशको विकास र समृद्धिको अभियानमा जनताको सेवामा आफूलाई समर्पित गर्ने बताउनुभयो । ‘म एउटा वाचा गर्छु । तपाईंहरूको कसम, नेपाली जनताको कसम, म कहिल्यै नराम्रो गर्ने छैन,’ उहाँले भन्नुभयो, ‘यो विकास र समृद्धिको अभियानमा नेपाली दाजुभाइ, दिदीबहिनीको सेवामा आफूलाई समर्पित गर्नेछु ।’

काम गर्ने सेवकलाई जिताएर संसद् भवन छिराउने विश्वास छ : श्रेष्ठ
नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले उपनिर्वाचन आफ्नै लागि हुन लागेको दाबी गर्नुभएको छ । चितवन–२ मा उम्मेदवारी दिँदै नेता श्रेष्ठले यसपटक आफूले जित्ने दाबी गर्नुभयो । आफू चितवनको जनताको सेवक बन्न चुनावी मैदानमा होमिएको उहाँको भनाइ छ । ‘मैले चाहेको भए व्यापार गर्न सक्थेँ, प्रोफेसर बनेर जागिर खानसक्ने हैसियतको व्यक्ति हुँ,’ उहाँले भन्नुभयो, ‘तर, राजनीतिमार्फत समाजसेवा गर्ने भित्री इच्छाअनुसार दशकौँबाट काम गर्दै आएको छु । यो उपनिर्वाचनबाट जनताले एउटा काम गर्ने सेवकलाई जिताएर संसद् भवन छिराउने विश्वास छ ।’ उहाँले आफू कहिल्यै गठबन्धनविरोधी नभएको समेत दाबी गर्नुभयो ।

जनताको उत्साह देखेँ, म पनि उत्साहित भएँ : यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको उत्साहले आफू पनि उत्साहित बनेको बताउनुभएको छ । सोमबार मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै अध्यक्ष यादवले बारालाई विकसित जिल्ला बनाउने बताउनुभयो । ‘हिजो यो क्षेत्रमा घुमेपछि जनता एकदमै उत्साहित देखेँ । जनताको उत्साह देखेर म पनि उत्साहित छु,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूको साथ दिन र लिन आएको छु । बारालाई विकसित जिल्ला बनाउन आएको छु ।

नेताको गठबन्धन जनताले खारेज गर्छन् : पौडेल
नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले बारा-२ मा एमालेले जित्ने परिस्थिति बनेको दाबी गर्नुभएको छ । एमाले उम्मेदवार पौडेलले विगतमा एमालेले जितेको यो क्षेत्रमा पछिल्लो समय अरू पार्टीले जित्दा विकास निर्माणको काम पछि परेको दाबीसमेत गर्नुभयो । बारा–२ मा गठबन्धनले काम नगर्ने उहाँको भनाइ छ । ‘गठबन्धन नेताहरूबीचको हो । जनताको बीचको होइन,’ उहाँले भन्नुभयो, ‘नेपाली जनता राष्ट्रियताको संरक्षण चाहन्छ, लोकतन्त्रको सुद्धृढीकरण, देशको विकास निर्माणको नेतृत्व चाहन्छ । एमाले यो गरेर देखाइसकेको छ । बारा-२ मा एमालेले जित्छ ।’

मेरो भोट देखेर अचम्म पर्नुहुनेछ : खरेल
राष्ट्रिय स्वतन्त्र पार्टीका बारा-२ का उम्मेदवार रमेश खरेलले आफूले अचम्मित पार्ने खालको मत ल्याउने दाबी गर्नुभएको छ । सोमबार उम्मेदवारी दर्तापछि खरेलले मतगणना सुरु गरेपछि सबै अचम्ममा पर्ने बताउनुभयो । ‘तपाईंहरू अचम्मित पर्नुहुन्छ । जब काउण्ट हुन्छ,’ उहाँले भन्नुभयो । खरेलले आफ्नो उम्मेदवारी राष्ट्रिय आवश्यकता भएको समेत दाबी गर्नुभयो ।

विगतका योगदान हेरेर मतदाताले भोट गर्छन् : खनाल
नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुभएका सर्वेन्द्र खनालले आफ्ना विगतका योगदानलाई हेरेर मतदाताले जिताउने बताउनुभएको छ । सोमबार तनहुँमा उम्मेदवारी दिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मतदाताले आफूलाई सांसद बनाउनेमा विश्वस्त भएको बताउनुभएको हो । ‘आगामी मैले गर्ने विषयमा, विगतलाई पनि हेरेर यसले गर्न सक्छ भनेर आम मतदाताबाट सांसदको रूपमा मलाई जिम्मेवार प्रदान गर्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ,’ उहाँले भन्नुभयो । स्थानीय-राष्ट्रिय समस्याको सम्बोधन गर्ने र कानुन निर्माण लगायतका कामहरू गर्ने उहाँले बताउनुभएको छ । पार्टी राजनीतिमार्फत आम नागरिकको मुहारमा हाँसो ल्याउने खालको काम गर्ने पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?