सिक्टा सिँचाइको पूर्वी नहर सञ्चालन, नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा
नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरमार्फत पानी सञ्चालन गरेको छ ।

लामो समयको प्रयासपछि पूर्वी नहरमार्फत सफलतापूर्वक पानी सञ्चालन गरेको हो । २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुचारु गरिएको थियो ।

अहिले पूर्ण क्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटरसम्म छ । अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । नरैनापुरको गंगापुर, मटहयौ र वडा नम्बर १, २, ३ र ४ मा अर्काे चरणमा काम सुरुवात हुने सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।

‘पुरानो राजकुलो आठ सय हेक्टर, फत्तेपुर एक हजार हेक्टर र नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरिनै सिँचाइ सुविधा पुग्ने सुनिश्चितता भएको छ,’ उहाँले बताउनुभयो, ‘बाँकी मुल नहरसहित शाखा नहरको भर्से र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का व्यवस्थापन कार्य अगाडि बढाइछ ।’ असार २८ गते ७ घनमिटर प्रति सेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो ।

परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर रणधीर झाले बताउनुभयो । पूर्वी नहरको संरचना भने ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी विशाल यादवले बताउनुभयो ।

नरैनापुर नगरपालिकाका यहाँका ९० प्रतिशत परिवार कृषिमा निर्भर छन् । सिँचाइ नहुँदा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्रसमेत घोषणा गरिएको थियो । पूर्वी नहरबाट पानी सुचार भएपछि सुख्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयको अपेक्षा छ । सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता हटेको यहाँका किसानको भनाइ छ ।

गत वर्ष जस्तो यस वर्ष खेत बाँझै राख्नुपर्ने अवस्था नहुने उहाँले बताउनुभयो । पूर्वी नहर निर्माणका लागि कालीका–कुमार जेभीसँग तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?