शहीदका सपनालाई विपनामा रूपान्तरण गर्ने संकल्प गर्न देउवाको आह्वान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने संकल्पका लागि आह्वान गर्नुभएको छ ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिनुभएको छ ।

विसं १९९७ देखि २०६२/६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनर्स्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?