प्रधानमन्त्रीमाथि ६ मन्त्रालयको भार

‘मधुमास’ सकिँदा पनि मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । केही समय अघिसम्म १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि ६ मन्त्रालयको अतरिक्त भारी छ । उहाँले प्रधानमन्त्रीसँगै परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय आफैँसँग राख्नुभएको छ । मन्त्रिपरिषद् विस्तार हुँदा गठबन्धन दलभित्रको आन्तरिक भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि कांग्रेसको भागमा परेका आधा मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँग छन् । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आठ मन्त्रालय पाएको थियो । तर, कांग्रेसभित्रको कलहका कारण चारजनाले मात्र शपथ लिएका छन् । कोइराला समूहले तीन मन्त्रालयको माग गरेको थियो । तर, सभापति शेरबहादुर देउवाले कांग्रेसको भागमा परेका आठमध्ये दुई मन्त्रालय मात्र दिएपछि शेखर समूहले मन्त्री हुनेको नाम नै नपठाएको हो । तीन मन्त्रालय नपाएसम्म सरकारमै सहभागी नहुने शेखर समूहको अडान छ ।

त्यसो त गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) मा पनि विवाद देखिएको छ । दुई मन्त्रालय पाएको जसपाबाट अशोक राईले मात्र शपथ लिनुभएको छ । गठबन्धनमा सामेल आमजनता पार्टी पनि सरकारमा गएको छैन भने जनमत पार्टीका मन्त्रीले राजीनामा दिएका छन् । गत पुसमा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले सय दिनमै दुईपटक विश्वासको मत र सातपटक मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएको छ । तर, अझै पनि सरकार विस्तारको किचलो सकिएको छैन ।

‘मधुमास’ मानिने सुरुवाती सय दिनमा सरकारले दुईपटक विश्वासको मत र सातपटक मन्त्रिपरिषद् विस्तारबाहेक भन्नलायक केही काम गरेकै छैन । राजनीतिक नेतृत्व सत्ता सहयात्री दल फेरबदलको दाउपेचमा अल्मलिएको छ । सरकारले पुनः विश्वासको मत पाएको दुई साता भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । यसपालि ‘भाषण कम काम धेरै गर्ने प्रतिज्ञा गर्नुभएका प्रधानमन्त्री प्रचण्ड भाषणबाजीमै बढी अल्झिनुभएको छ ।

दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने दाबी गर्नुभएको छ । बुधबार माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अबको दुई दिनभित्र पूर्ण रूपमा सरकार विस्तार हुने दाबी गर्नुभएको हो । अब पनि जनताले महसुस गर्नेगरी काम गर्न नसके प्राप्त उपलब्धि गुम्ने खतरा उत्पन्न हुने उहाँको भनाइ छ । जनताले फरक र गुणात्मक रूपमा महसुस गर्नेगरी काम गर्न आफू लागिपरेको उहाँले बताउनुभयो । जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । अहिले सरकारले करिब-करिब पूर्णता पाएको छ । एक÷दुई दिनमै शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्न भनेको छु ।’ प्रचण्डले समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सरकारले सोचेजस्तो लय समात्न सकेन : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले तीव्र रूपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको जिकिर गर्नुभएको हो । अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने सुविधा नरहेको भन्दै कांग्रेससमेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको बताउनुभयो । ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । हिँडेर अघि बढ्ने सुविधा छैन,’ उहाँले भन्नुभयो, ‘तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बाँधेर बस्छ, कहिले कुर्सी खोज्छ ।’ पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महसुस जनतालाई हुने उहाँको भनाइ थियो । नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु ग¥योे भन्ने महसुस गराउन सक्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौती गरेर अप्ठेरो अवस्थालाई सहज बनाउनुपर्ने बताउनुभयो । थापाले प्रधानमन्त्री र मन्त्रीहरूले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने धारणा राख्नुभयो । ‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरूको समाचार आयो भने नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ । प्रधानमन्त्री र मन्त्रीहरूले त यो बेलामा फोटो खिच्नुपर्दैन,’ उहाँले भन्नुभयो, ‘तीन महिना जति प्रधानमन्त्री र मन्त्रीहरू कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो । नराम्रो अर्थमा होइन ।’

गठबन्धन पाँच वर्ष कायम रहनेमा शंका छैन : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको छ । बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गर्नुभयो । मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर गठबन्धनलाई अगाडि बढाइएको उहाँको भनाइ थियो । ‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । कसैकसैले मिति तोकेर चल्न सक्दैन भन्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर, तपाईंहरू ढुक्क भए हुन्छ यो जुन गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ ।’ अध्यक्ष नेपालले गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताउनुभयो ।

कोशी नामकरणमा पहिचानकै पक्षमा उभिने माओवादी केन्द्रको निर्णय
नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।
पार्टी निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणका बेला पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो । उहाँले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसै आन्दोलनका क्रममा निधन भएकालाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उहाँले बताउनुभयो ।

गत फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश जुराउँदा प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा चार मत परेको थियो । ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा दुईतिहाइका लागि ६२ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एकीकृत समाजवादीका चार सदस्यले मतदान गरेका थिए । तर, पहिचान पक्षधरहरूले किरातसहितका नाम अघि सारेर आन्दोलन चर्काइरहेका बेला माओवादी केन्द्रको यस्तो निर्णय आएको हो । कोशीले पहिचान पक्षधहरूको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?