झन लोकप्रिय बन्दै जुम्ली मार्सी चामल, अन्तर्राष्ट्रिय बजारसम्म पनि उच्च माग

हिमालय टाइम्स
Read Time = 5 mins

-विजय रावत
जुम्ला । जुम्लामा मात्र उत्पादन हुने विश्कै अति लोकप्रिया मार्सी धानको चामल पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारसम्म माग हुने गरेको छ । हरेक वर्ष असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झै जुम्लामा पनि मनाइँयो । यो दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । जुम्लामा भने यसअघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइ सकिएको छ ।

प्रदेश सरकारले हरेक वर्ष चैत १२ गने यो प्रदेशका नौ जिल्लाबाहेक जुम्लालाई मात्र सार्वजनिक बिदा दिँदै आएको छ । जुम्लामा मार्सी धानको यतिबेला किसानहरुले गोडमेल गरिरहेका छन् । संसारको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्ला पातारासी गाउँपालिकाको छुमचौर ज्यूला, कालीमार्सी धान यदीबेला खेतमा हरीयाली भईसकेको छ ।

ऐतिहासिक विरासत बोकेको कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइसम्म उत्पादन हुँदै आएको छ । धानखेतीका हिसाबले संसारको उच्च भागमा पर्ने जुम्लाको पातारासी गाउँपालिकाको छुम गाउँस्थित छुमचौर ज्यूलोमा फल्ने भएकोले यो विश्वभर चर्चा हुने गरेको छ ।

कृषि विकास लाई जुम्लाको तथ्यांक अनुसार जिल्लाभर दुई हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । त्यसमध्ये एक हजार ५०० हेक्टर जमीनमा काली मार्सी धानबाली खेती गरिएको कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले हिमालय टाइम्सलाई बताउनुभयो । एक हजार ४५० हेक्टर जमीनमा चन्दननाथ १ र ३ जातको धानबाली लगाइएको छ । यो धान प्रतिहेक्टर ३० क्वीन्टलका हिसाबले कूल उत्पादन ४३ हजार ५०० क्विन्टल हुन्छ ।

“कालीमार्सी धान प्रतिहेक्टर २३ क्वीन्टलका दरले एक हजार ५०० हेक्टर क्षेत्रफलमा कूल ३४ हजार ५०० क्विन्टल उत्पादन हुन्छ,” कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “पछिल्लो समयमा कालीमार्सी चामलको बजार माग र मूल्य बढेका कारण किसानहरु यसमा आकर्षित हुँदा विगतभन्दा यस वर्ष कालीमार्सी धान खेतीको क्षेत्रफल बढेको हो ।

देशका पुर्व प्रधानमन्त्री प्रचण्ड र केपि शर्मा ओलीले मेडिकल व्यावसायिक दुर्ग प्रसाईको घरमा जुम्लाको मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि यो धानको चर्चा निकै चुलिएको छ । यसबारे थाहा नपाएका नेपाली नागरिकलाई पनि मार्सीको महत्व र विशेषताबारे अहिले जानकारी बढ्दो छ । अहिले यसको बजार मूल्य जुम्लामा प्रतिकेजी रु १८० हुँदा काठमाडौँ लगायतका देशका विभिन्न सहरहरुमा प्रतिकेजी रु २५० पुगेको चन्दननाथ अर्गानिक पसलका संचालक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।

“चन्दननाथ अर्गानिक पसलले ४० लाखको मार्सी चामल सङ्कलन गरेको छ,” कार्यकारी व्यवस्थापक पाण्डेले भन्नुभयोे, “उक्त चामल नेपालका भैरहवा, बुटवल, चितवन, पोखरा, विराटनगर र धरानसम्म संस्थामार्फत हामीले बेचेका छौँ ।” बजार माग निकै बढेकोले आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।

जुम्लामा प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने अधिकांश पर्यटकहरुले मार्सी चामलाई नै प्रमुखतामा राखेर कासेली लिने गरेको चन्दननाथ अर्गानिक पसलले जनाएको छ । व्यवस्थापक पाण्डेका अनुसार अहिले अमेरिकामा चालीस क्विन्टल मार्सी चामल पठाउन तयारी गरेको बताउनुभयो । मार्सीको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकेजी रु ५०० देखि ७९० रहेको यहाँका अर्गानिक पसलका संचालक बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?