मौरीपालनमा कृषक आकर्षित

हिमालय टाइम्स
Read Time = 4 mins

पाल्पा । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक प्रविधिबारे जानकारी दिने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ ।

“स्थलगत प्रविधि सिकाउन थालेपछि मौरीपालनमा कृषकको आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “व्यवसाय गर्न इच्छुकलाई प्रविधि, मौरीपालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री कार्यालयले आवश्यकताका आधारमा सहयोग गरिरहेको छ, व्यावसायिक गर्ने किसान क्रमिकरुपमा बढिरहनुभएको छ ।”

मौरी प्रवर्द्धनका लागि विगत वर्षदेखि कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको र यस वर्ष कृषकको क्षमता वृद्धिका लागि विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ ।

प्रयोगात्मकरुपमा प्रविधिबारे जानकारी पाएपछि मौरीपालनमा धेरै सहज भएको कृषक टीकाराम पाठक बताउनुहुन्छ । उहाँका घरमा हाल १६ वटा आधुनिक मौरीका घार छन् । उहाँले २०६६ देखि नियमितरुपमा मौरीपालन व्यवसाय गरिरहनुभएको छ । एक घारबाट सुरु गर्नुभएका पाठकले घार बढाउँदै जानुभएको छ ।

“मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायतका प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ, मौरीपालनमा मह काढ्ने तरिका, गोला विभाजनलगायतका प्रविधिमा व्यवसायी पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यावसायीकरणमा समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

कृषकको माग र आवश्यकताका आधारमा हरेक वर्षजसो मौरीपालन प्रवर्द्धनका कार्यक्रम कार्यालयबाट भइरहेको र व्यावसायिकरुपमा गर्नेले यसबाट मनग्य कमाइ गरिरहेको कृषि ज्ञानकेन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयाे ।

प्रशस्त चरनको क्षेत्र, बगैँचा, घरका आँगन, बार्दली, बारीका कान्ला, डिलमा घार राखेर मौरीपालन गर्नेको रामपुर क्षेत्रमा आकर्षण बढ्दै गएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।

सानो लगानीबाट व्यवसायीकरण गर्न सकिने, यससँगै अन्य व्यापार, व्यवसाय, पेसामा आबद्ध रहे पनि मौरीबाट आयस्रोत भित्र्याउन सकिने हुँदा यसप्रति धेरैको आकर्षण बढिरहेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?