प्रधानमन्त्रीलाई गगनको आग्रह : निर्देशन र घोषणाले मात्र शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस्

मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ ?

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई निर्देशन र घोषणाले शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभयो । त्यस्तै सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि मलमल भइरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास नदेखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री सबैभन्दा शक्तिशाली पनि हो । सबैभन्दा जिम्मेवार पनि हो । सरकार भनेको एकप्रकारले प्रधानमन्त्री हो । अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा शुरु भयो । मेरो लक्ष्य प्रष्ट छ । यो लक्ष्यसम्म पु¥याउने जिम्मेवारी मेरो हो । जस भएपनि मेरो हो । अपजस भएपनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीज्युको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु । केही कार्यक्रममा मलाई अतिथिको रुपमा बोलाइयो । मैले भने म भ्याउँदिन । आयोजकहरुले भन्नुभयो प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमिलाई फुर्सद नहुने ? अफ्ठ्यारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु । उद्घाटनमा जान भ्याइएको छ । सम्मेलनमा जान भ्याइएको छ । प्रधानमन्त्रीले कार्यक्रममा बोल्नुभएको कुरालाई हामीले एक ठाउँ राखेर हे¥यौँ । वैदेशिक रोजगारीमा जाँदा दुःख नदिने, एकल अंकमा ब्याजदर झार्ने, राजस्व चुहावटमा भएका कुराहरुलाई कडाइका साथ नियन्त्रण गर्ने, प्रधानमन्त्रीले दिनुभएका निर्देशनहरु हुन् । हामीले अर्कोतिर घोषणाहरु हे¥यौँ भने दलितहरुले सयौँ वर्षसम्म सम्झने खालको कार्यक्रम म लिएर आउँछु । गोरखकाली रबर उद्योग म चलाउँछु । शिक्षा क्षेत्रमा प्याकेज ल्याएर सुदृढ बनाउँछु । यो प्रधानमन्त्रीका घोषणाहरु हुन् । निर्देशन र घोषणा यो दुईवटा कुराले शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री पहिला त्यहाँबाट मुक्त हुनुपर्छ । निर्देशन नदिएको हुनाले गर्दा शासकिय परिणामहरु नआएका होइनन् । सुधारहरु नभएका होइनन् । समस्याको चुरोमा पुगिएन भने निर्देशनहरु अलपत्र हुन्छन् र कुनैबेला गएर फेरि मैले दिएका निर्देशनहरु मलाई सम्झाउनुस् भनेर निर्देशन सम्झाउनुपर्ने अवस्था आउँछ ।’

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाउनु भयो । उहाँले न्युनतम कार्यक्रम संसदभित्रै प्रश्तुत हुनुपर्ने बताउनु भयो । संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु संसदभित्रै प्रश्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘केही कुराहरु उठेका छन् । सदन चलिरहेका बेलामा सदनमै प्रस्तुत हुनुपथ्र्यो भनेर । म पनि त्यही भन्दछु । यद्यपी यो भनिरहँदा के पनि ख्याल गर्नुपर्छ भने केही समय पहिला पुष २५ गते सदन चलिरहेकै बेलामा बाहिर प्रस्तुत भयो । त्यो बेलामा प्रतिपक्ष दलको तर्फबाट हाम्रा केही साथीहरुले गलत भयो भन्नुभयो आज हामी सत्तापक्षमा छौँ यसलाई सही नभनौँ । हिजो सत्तापक्षमा हुँदै गर्दा बाहिरकोलाई सही भनेको कुरालाई त्यो गलत थियो भनेर मनन गरौँ । र यस्तो सदन चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु सदनमै प्रस्तुत हुने कुरालाई कम्तिमा एउटा परम्परा बनाऔँ भन्ने लाग्छ ।’

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताउनु भयो । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुलाई थन्क्याउन लगिएको जस्तो भान हुने उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?