पोल्ट्रीजन्य तस्करी रोक्न माग

Read Time = 3 mins

काठमाडौं । पोल्ट्री व्यवसायीले कुखुराको मासु र अण्डाको अवैध कारोबार रोक्न माग गरेको छ । भारतबाट कुखुराको मासु र अण्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेपाल हृयाचरी उद्योग संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् । दाना संघका अध्यक्ष रविन पुरी र हृयाचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताउनुभयो ।

पाँच लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको संघको गुनासो छ । भारतीय सीमा नाकाहरूबाट अवैधरूपमा पोल्ट्रीजन्य वस्तु चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहँु भित्रिँदा पोल्ट्री क्षेत्रमा ठूलो जोखिम रहेको संघको ज्ञापनपत्रमा उल्लेख छ ।

भारतमा समय-समयमा देखापर्ने बर्डफ्लु संक्रमणले रोग भित्रिने सन्त्रास र अवैध आयात हुँदा देशको राजस्व चुहावटसमेत हुने गरेको छ । भारतबाट प्रज्ञापनपत्र लिएका मालबाहक कन्टेनरमा स्वीट कर्न, फ्रेन्च फ्राइमात्र उल्लेख भई भन्सार पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै संघले नाकामा कडाइ गर्न माग गरेको छ । सीमा नाका नेपालगञ्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगञ्ज, बारा, पर्सा, रौतहट, मलंगवा, जलेश्वर, विराटनगर नाकाबाट अवैधरूपमा पोल्ट्रीजन्य वस्तु भित्रिने गरेको संघले जनाएको छ ।

दुवै संघले भारतीय सीमा नाकाबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाको नियन्त्रणका लागि सुरक्षा निकायलाई आवश्यक निर्देशन दिन माग गरेका थिए । गृहमन्त्री श्रेष्ठले सरकार हृयाचरीमात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिने गरी अघि बढेको बताउनुभएको थियो । आत्मनिर्भर बनिसकेको दाना र हृयाचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सहृय नहुने र यसमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?