प्रजातन्त्र सेनानी खेटराज पोख्रेलको निधन

हिमालय टाइम्स
Read Time = 4 mins

बर्दिया । बर्दियामा विगत सात दशकदेखि स्थायी वसोवास गर्दै आउनु भएका नेपालको लोकतान्त्रिक आन्दोलनका अनवरत अभियन्ता खेटराज पोख्रेलको शनिबार राति निधन भएको छ । कलेजो सम्बन्धी समस्याका कारण उहाँलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो । अघिल्लो दिन मात्रै परिवारका सदस्यहरू जम्मा भएर उहाँको ८७ औं जन्मोत्सव मनाइएको थियो ।

खेटराज पोख्रेल सिन्धुलीको खुर्कोटमा जन्मेर बर्दिया रोजगारीका सन्दर्भमा सात दशक पहिले पुग्नु भएको थियो । त्यही नै उहाँले भद्रकाली शर्मा, सुरेशराज शर्मा, शिवप्रसाद शर्माहरूको सान्निध्यमा लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको थियो ।

०४८ मा उहाँ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र र त्यसपछि पनि केही वर्ष उहाँ स्थानीय तहम सक्रिय रहनु भयो । उहाँले प्रसिद्ध वगलामुखी मन्दिरको निर्माण र जिर्णोद्धारमा निरन्तर अध्यक्ष भएर योगदान गर्नुभएको थियो । पोख्रेलले विपन्न, अनेक सुकुम्वासी परिवारलाई निरन्तर सहयोग गर्नुभएर लोकप्रियता हासिल गर्नुभएको थियो । उहाँले अन्य अनेक सामाजिक कार्यहरू समेतमा योगदान गर्नुभएको थियो ।

दिवंगत पोख्रेलका तीन छोराहरूमा सिटिजन्स् बैंकका कार्यकारी प्रमुख गणेशराज पोख्रेलसहित पुराना पत्रकार सुनिलराज पोख्रेल र मानव अधिकारकर्मी प्रमोदराज पोख्रेल हुनुहन्छ भने पुत्रवधुहरू रमा जोशी, चेतना ज्ञवाली र तेजिता आचार्य रहनुभएको छ ।

पोख्रेलकी धर्मपत्नी समाजसेवी दुर्गादेवीको दुई वर्ष पहिले निधन भएको थियो । उहाँका दुई छोरी सुधा पराजुली र शान्ता दाहाल हुनुहुन्छ । नेपालको सन्दर्भमा कलेजो दान गर्ने पहिलो महिला शान्ता दाहाल खेटराज पोख्रेलकी कान्छी छोरी हुनुहुन्छ । हिमालय टाइम्सका प्रधानसम्पादक प्रा. पुरुषोत्तम दाहालका कर्मपिता समेत हुनुहुुन्छ खेटराज पोख्रेल ।

आइतबार नै बर्दियास्थित गुलरियाको प्रसिद्ध भादह (सरयु) घाटमा स्व.पोख्रेलको पार्थिव शरीरको अन्तिम दाहसंस्कार गरिएको छ । ठूलो संख्यामा घाटमा उपस्थित गुलरिया निवासीले आफ्नो पुरानो अभिभावक, समाजसेवी, सहयोगी, धार्मिक सामाजिक र लोकतान्त्रिक व्यक्तित्वको अश्रूपूर्ण नेत्रले अन्तिम विदाई गरे । नेपालगञ्जबाट समेत अनेक राजनीतिकर्मी, समाजसेवीहरू स्व. पोख्रेललाई अन्तिम श्रद्धाञ्जलि दिन भादह घाटमा उपस्थित भएका थिए । दिवंगत पोख्रेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका तर्फबाट पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो ।

सिटिजन्स् बैंकका कार्यकारी प्रमुख गणेशराज पोख्रेलसहित शोक सन्तप्त परिवारजनमा हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा इम्प्रेसन प्रालि परिवार समवेदना प्रकट गर्दछ र दिवंगत पोख्रेलको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?