योजना आयोगलाई निर्माण व्यवसायीको बजेट सुझाव

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र अवरुद्ध भएको स्वीकार गर्नुभएको छ । निर्माण व्यवसायीको रकम भुक्तान गर्ने विषयमा सरकार सकारात्मक रहेकोसमेत उहाँले बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपाध्यक्ष श्रेष्ठले निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

जग्गा प्राप्ति, बजेट तथा निर्माण सामग्री अभाव, समुदायको अवरोधलगायतका समस्याबाट निर्माण व्यवसायी आक्रान्त रहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महासंघजस्तो छाता संगठनले निर्माण व्यवसायीलाई बढी जिम्मेवार बनाउन सक्ने भएकाले महासंघको भूमिका अझ बढी प्रभावकारी हुनुपर्छ ।’

अध्यक्ष सिंहले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे उपाध्यक्ष श्रेष्ठलाई अवगत गराउँदै सरकारी कार्यशैलीकै कारण निर्माण उद्योग व्यावसायिक हुन नसकेको बताउनुभयो । बजेट व्यवस्थापन नगरी टेण्डर आहृवान गर्ने परिपाटी गलत रहेको उहाँको भनाइ थियो । अध्यक्ष सिंहले निर्माण व्यवसायीले आफ्ने मुलुकको स्रोत साधन उपभोग गर्न नपाउने परिपाटी अन्त्य हुनुपर्ने, सार्वजनिक खरिद ऐनअनुसार व्यवसायीले २० प्रतिशत मोबिलाइजेसन पेस्की पाउनुपर्ने माग गर्नुभएको छ । योजना आयोगजस्तो संस्थाले कसैको दबाबमा नपरी निर्भिक भएर काम गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । निर्माण उद्योगको विकासका लागि आगामी बजेटमा समेटिनुपर्ने विषयबारे पनि महासंघले उपाध्यक्ष श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?