म सानो कलाकार हो, ठूलो बन्ने रहर छैनः केदार घिमिरे

Read Time = 3 mins

काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गर्नुभएको छ ।
बुधवार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो ।

अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर रहेको बताउनु भयो । उहाँले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरुको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले कोरोनाको संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढीरहेपनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मैले वर्ष अभिनेता भनेर अवार्ड पाएको छु, त्यसका लागि अत्यन्त खुशी लागेको छ । दर्शकहरुमा यो म समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशिर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ । म सानै कलाकार हो, र म सधैँ सानै भएर बाच्न चाहन्छु, तपाईहरुको माया सधैँ रहीरहोस् । म मा घमण्ड कहिल्यै पनि नपलाओस् । कोरोना आउन लागेको छ, त्यसलाई हामी जित्नेछौँ । आर्थिक मन्दी आउँदैछ भन्छन्, त्यसलाई पनि हामी जित्नेछौँ । त्यसका लागि हामीले आत्मबल बलियो बनाउनु पर्छ ।’

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष २०७९ सुखद् रहेको बताउनु भयो । उहाँले २०७९ मा १० वटा चलचित्रहरुले मुनाफा कमाउनु खुशीको कुरा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७९ सालमा हाम्रा चलचित्रहरुको समीक्षा गर्दा वास्तवमा यो वर्ष नेपाली चलचित्रहरुको लागि सुखद् वर्ष हो, किनभने करिव १० वटा चलचित्रले मुनाफा कमाएका छन् । प्रतिशतको हिसावमा पनि २० प्रतिशत जति ठूला पर्दाका चलचित्रले लगानी उठाएका छन् । आउने २०८० साल पनि यस भन्दा सफल हुनेछ ।चलचित्रकर्मीहरुको भविष्य पनि उज्वल बन्नेछ । आगामी दिनमा शतप्रतिशत नै नेपाली चलचित्र चल्नुपर्छ ।’

अध्यक्ष खड्काले वर्ष २०७९ मा २० प्रतिशत ठूला पर्दाका चलचित्रले लगानी उठाएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?